|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यका विकास प्राधिकरणले सबै कामको जिम्मा आफैले मात्रै लिनु उचित नभएको बताएका छन्।

सत्ताइसौँ काठमाडौँ महानगर दिवसको अवसर पारेर आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो। उसको काम भनेको नीति बनाउने हो’, शाक्यले भने, ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यही प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरूको फोरमले त्यसको खारेजीको माग गरेको हो। अहिले पनि त्यो माग यथावत् छ।’ 

त्यसैगरी उनले संघीय र प्रदेश सांसदहरूलाई पनि सकेसम्म एकीकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिए।

‘माननीयहरूको पनि बाध्यता छ। आफूलाई जिताएर पठाएका मतदाताको मागअनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ’, उनले भने, ‘सकेसम्म उहाँहरूले सांसद कोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ। हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ। त्यही काम उहाँहरूले गर्दा खर्च बढ्ने र कामको डुब्लीकेशन हुने भयो।’

उनले चुनावी घोषणापत्रमा उल्लेख भएका केही काम गर्न नसकेको पनि स्वीकार गरे।

‘हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका केही काम गर्न सकेका छैनौँ,’ उनले भने, ‘चक्रपथ विस्तारको काम सम्पन्न नहुँदा हामीले मोनोरेलको काम अघि बढाउन सकेनौँ। त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भयो।’ उनले महानगरपालिका भवन निर्माण सुरु भएको भन्दै केही सम्पदा पुनःनिर्माणमा मुद्दा परेका कारण ढिलाइ भएको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.