|

रुकुम (पूर्व) : पाँच वर्षदेखि सञ्चालनमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ।

२०७४ मा अभिभावक नभएका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो। बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो।

एक महिना अघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्थानत्रण गरेको थियो। उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ।

बालगृह सञ्चालक सुनिता चनाराका छोरा २२ वर्षीय कुश्माकर चनाराले १३ वर्षीया बालिकामाथि बलात्कार गरेर गर्भ समेत रहेको सार्वजनिक भएपछि उक्त बालगृहका बालबालिकालाई अन्यत्रै सारिएको हो।

नगरपालिकाको न्यायिक समितिमा पीडित बालिकाले बलात्कार भएको बताएकी थिइन्। स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा गर्भ रहेको पुष्टि भएको थियो।

त्यसलगत्तै नगरपालिकाले प्रहरी र प्रशासनलाई चिठी लेखेर कारबाही गर्न पत्राचार गरेको थियो। घटनालगत्तै फरार रहेका चनारालाई अझै पक्राउ भने गरिएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले चनाराको खोजी भइरहेको बताए।  उनका अनुसार घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ। बाल गृहमा १४ बालबालिका थिए।

जसमध्ये पीडित बालिका र उनका भाइले घटना लगत्तै बालगृह छाडिसकेका थिए। बाँकीलाई पनि पठनपाठनको व्यवस्थासहित काठमाडौं पठाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.