|

सूर्यप्रसाद अधिकारी

चितवन : झण्डै डेढ दशक अगाडि भृकुटीमण्डपमा भएको औद्योगिक प्रदर्शनीको बेला कांग्रेसका नेता तथा पूर्व-प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले उनीहरूकै स्टलमा आई मन पराएर लगाएको अल्लाको टोपीको सम्झना अझै पनि ताजै छ।

त्यही खुसी र ऊर्जाले आज भीम बहादुरको परिवारमा ठूलो परिवर्तन आएको छ। बोरा र जुटको कपडा भनेर घृणा गर्ने ग्राहक अहिले उनकै अल्लोको उत्पादन मनपराएर लगाइदिँदा उनी र श्रीमती चित्रकला पनि फुरुंग छन्।

खेती किसानी गरेर दुईछाक खाना र लगाउन मुस्किल पर्ने यी दम्पती अहिले झण्डै ७० लाखको अल्लोबाट उत्पादित कोठी हिमाल अल्लो कपडा उद्योगको मालिक बनेका छन्।

यी हुन् प्युठान जिल्लाको विकट ठाउँमा जन्मिएका भीमबहादुर बुढामगर र चित्रकला बुढामगर। उनीहरूलाई अहिले अल्लोको कपडा बेच्न भ्याइ-नभ्याई भएको छ।

मेला महोत्सव छुटाउँदैनन्

प्रायः मेला महोत्सवमा आफ्ना उत्पादन बिक्री गर्न नछुटाउने उनीहरूले केही दिनदेखि चितवनमा जारी औद्योगिक प्रदर्शनीमा अल्लोका उत्पादन बेच्न व्यस्त छन्।

‘हाम्रो कपडाहरू अहिले सबैजनाले मन पराइदिनु भएको छ। कहिलेकाहीँ खाना खान जान पनि भ्याइँदैन।’

उनीहरूले आफ्नो खुसी एकैसासमा सुनाए। तर, यहाँसम्म आइपुग्दा भने उनीहरूले धेरै नै हण्डर ठक्कर सहनुपरेको छ। लुम्बिनी प्रदेशको नौबहिनी गाउँपालिका-६ बहानेमा जन्मिएकी चित्रकलाको पुर्ख्यौली दैनिकी नै अल्लोको धागो बनाउने थियो। हुनत मगर समुदायले यही कपडाका उत्पादन लगाउने सांस्कृतिक परम्परा पनि थियो।

‘यही धागो बनाउने, यसैको कपडा बनाउने लगाउने बेच्न भन्दा पनि आफ्नै लागि।’ यस पेशाका आउनुको रहस्यबारे उनले बेलिविस्तार लगाइन्। सीमित समुदायमा मात्र लगाउने अल्लो कपडा त्यति अन्य समुदायले लगाउँदैनथे। तर, वनमा त्यसै उम्रिएर खेर गएको सिस्नु प्रजातिको अल्लो वनस्पतिलाई प्रशोधन गरेर धागो निकालिन्छ र त्यसलाई तानमा बुनेर विभिन्न कपडा, ब्‍याग टोपी बनाइने गरिन्छ।

धागो बनाएर बिक्री गर्दै आएकी चित्रकलालाई यही सिस्नु प्रजातिबाट बनाइएको कपडा बेचेर थप आम्दानी गर्न सकिन्छ भन्ने मनमा नआएको होइन। यसबीचमा लघुउद्यममार्फत उनले धागोबाट अल्लो कपडा बनाउने सीप सिकिसकेकी थिइन।

‘सीप सिकेपछि र यसको महत्व बढ्ने देखेपछि मैले एउटा तान किनेर नै व्यवसाय सुरु गरेकी हुँ।’ झण्डै ३ दशकको अगाडिको कुरा उनले सम्झिइन्। त्यसो त उही गाउँका भीम बहादुरसँग यसअघि नै उनले लगनगाँठो कसिसकेकी थिइन्।

‘मगर समुदायमा जन्मेँ। परम्परा पनि भयो। यसमै मेरो दिल पस्यो यसलाई छाड्न सकिनँ।’ चित्रकलाले आफ्नो बाध्यताको पोयो फुकाइन्। यसपछि यसको उत्पादन र भेराइटी बनाउँदै गएपछि भने विस्तारै यसले बजार लिन थाल्यो। माग बढेसँगै चित्रकलाले हस्तकलाको औजारहरू थप्दै गइन्।

उनका श्रीमान् भीमबहादुर भारतीय सेनामा जागिर अड्याउ नै सकेनन् अनि फर्के आफ्नै मातृभूमि। सुरुवाती क्षणमा श्रीमानले काम त सुरु गरे बिक्री भने खासै नभएपछि किराना पसल पनि थापे, त्यो पनि फापेन। फेरि खाजा पसल राखे। त्यो पनि उधारोको कारण टाट पल्टियो।

‘हामीले यही व्यवसायलाई नै अगाडि बढाउने निर्णय गर्यौं।’ उद्योग सञ्चालन गर्दाका कठिनाइ यात्रा सम्झिए दम्पतीले।

तर, उनीहरूले कत्ति पनि हरेश खाएनन्। उत्पादन गर्दै गए। नजिकैको बजारबाट मेला महोत्सवमा पनि आफ्ना उत्पादनहरू प्रदर्शन गर्दै गए। तर, उनीहरूमा सोचेजस्तो सफलता भने प्राप्त भएको थिएन। ‘सुरुमा मेला महोत्सवमा लैजान सुरु भयो तर कहिले जुटको कपडा हो, बोराको कपडा हो भनेर मुख फाल्थे।’ शुरुवातीका संर्घषका दिन सम्झिन्छन् उनीहरू। तर, उनीहरू कत्तिपनि विचलित भएनन्। ग्राहकहरूलाई हस्तकला र यस कपडाको विशेषताबारे बुझाउँदै गए। सम्झाउँदै गए। त्यसपछि भने उनीहरूको उत्पादन बजारमा रुचाउन थालियो। उनको अहिले ५ वटा तानबाट दैनिक कपडाको उत्पादन हुन्छ।

महोत्सव मेला सबैतिर अल्लोकै चर्चा

अहिले हरेक ठूला मेला महोत्सव, अधिवेशनहरूमा उनीहरूकै अल्लोको कपडाको चर्चा हुन्छ। उनीहरूका उत्पादन देशका उच्च वर्ग, नेता मन्त्री सम्मले लगाईदिदा उनीहरूमा खुशीको सिमाना नै छैन। त्यसपछि भने उनीहरूलाई पछाडि फर्कनु परेको छैन।

 ‘जस्तोसुकै मेला महोत्सवमा दैनिक २५ हजारको त कपडा त सजिैलै बिक्री हुन्छ। अस्तिको एमालेको अधिवेशनमा एकदिनमै डेढलाखको कपडा बिक्री भयो।’ दम्पतीको मुहारमा खुशीका लहर सहजै देख्न सकिन्थ्यो।

अल्लोबाट उनीहरूले कोट, जुहारीकोट, आस्कोट, टोपी, झोला, पर्स लगायतका उत्पादनहरू बिक्री गर्दै आएका छन्। जाडोमा न्यानो गर्मीमा शीतल दिने र प्रेसर सुगर नियन्त्रण र एलर्जी निको पार्ने विशेषता भएकोले पनि यसको बजार राम्रो हुँदै गएको उनीहरूको अनुभव छ।

७० लाख लगानी

‘हातबाट बनेको केही केमिकल नमिसाएको र स्वास्थ्यको लागि राम्रो भएकोले पनि ग्राहकहरूले मन पराइदिनु भएको छ’ चित्रकला भन्छिन्। बजारमा यसको माग बढ्दै गएपछि भने उनीहरूले लगानी र उत्पादन पनि बढाउँदै गएका छन्।

अहिले मैले नौ रोपनीमा अल्लो लगाएको छु र उद्योगमा ७० लाख लगानी भइसकेको छ। उनले थपिन्।

उनको उद्योगमा अहिले १० जना पुरुष र पाँचजना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् भने सयौँ महिलाले धागो निकाल्ने काम पाएका छन्।

‘मेरो गाउँमा कोही पनि दिदीबहिनी बेरोजगारी छैन, सबैले काम पाएका छ।’ उनमा आत्मसन्तोष झल्किन्छ।

स्नातक र एसइई दिएका दुई छोराले अहिले आफ्नै उद्योगमा साथ दिँदै आएका छन्। ‘हामी मेला महोत्सवमा कपडा बिक्री गर्न हिँड्छौँ', चित्रकलाले भनिन्, 'अर्डरअनुसारका ठाउँमा सामान छोराहरूले पठाउँछन्।’

प्रवर्धनमा सरकारको आस

पाँच दशक नाघेका यी दम्पती यसको बजार नेपालमा मात्र नभई प्रवर्द्धनको लागि सरकारले सहयोग गरिदियोस् भन्ने आशा राख्छन्। ‘रोजगारी पनि बढ्थ्यो, सबैलाई फाइदा पनि हुन्थ्यो विदेश पठाउन सरकारले सहज गरिदिए हुन्थ्यो’ उनीहरू अपेक्षा गर्छन्।

भविष्यमा आफूले यस उत्पादनबारे बिक्री र प्रचारप्रसार गरेर थप अन्य ठाउँमा पनि उद्योग खोल्ने योजना रहेको उनीहरूले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.