|

गुल्मी : सदरमुकाम तम्घासका मुख्य सडकमै भुस्याहा कुकुरको आतंक बढ्दै गएको छ।

तम्घासका मुख्य सडकमा भुस्याहा कुकुर हिँड्दा सवारी चालकलाई समस्या हुने र दुर्घटना हुन सक्ने जोखिम बढ्दै गएको सञ्चालक र सवारीधनीले गुनासो गरेका छन्।

भुस्याहा कुकुरको सडकमा दैनिक आतंक भइरहँदा यसलाई समाधान गर्नेतर्फ रेसुंगा  नगरपालिकाले भने कुनै वास्ता गरेको पाइँदैन।

सडकमा भुस्याहा कुकुरको आतंक हुँदा यसलाई रोकथाम गर्न स्थानीय सरकार र प्रशासनले कुनै चासो नदेखाउनु दुःखद भएको तम्घासका व्यवसायी कृष्ण खनालले बताए।

बिहानका वेला सडकमा कुकुरहरू हिँड्दा डरका कारण विद्यार्थीहरूले विद्यालयमा जान नमान्ने र रातको समयमा कुुकुर भुक्दा आरामसँग सुत्न नपाएको खनालले दुखेसो पोखे।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले भुस्याहा कुकुरको आतंकलाई स्थानीय तहले निराकरण गर्नुपर्ने बताए। उनले भुस्याहा कुकुरको सडक आतंकले दुर्घटना निम्त्याउने भन्दै समयमै सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए।

रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले भुस्याहा कुकुरको व्यवस्थापन गर्न आफू लागेको बताए। कुकुरलाई मार्न कानुनले बन्देज गरेकाले अन्य उपायबारे आफूले योजना बनाएको भुसालको दाबी छ।

कुकुरलाई भ्याक्सिन लगाउने काम अगाडि बढाएको भन्दै ती कुकुरको व्यवस्थापन गर्न जति सक्दो छिटो आफू लाग्ने भुसालले बताए।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.