|

काठमाडौं : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा प्रदेश नम्बर १ विजयी भएको छ।

समूह ए अन्तर्गत लिग चरणको खेलमा प्रदेश १ ले लुम्बिनीलाई ६७ रनले पराजित गरेको छ। प्रदेश १ समूह चरणका सबै खेल जितेसँगै समूह ए को विजेता बनेको छ।

प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो। प्रदेश १ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाइन्। टिमका लागि काजोल श्रेष्ठले ४० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन्।

दोस्रो विकेटका लागि काजोल र अप्सरीले ६२ रनको साझेदारी गरिन्। लुम्बिनीका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक÷एक विकेट लिइन्। ११५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो।

निर्धारित २० ओभरमा लुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो। लुम्बिनीको पारीमा कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। सरस्वती पुन र नितु भण्डारीले बनाएको ९ रन नै सर्वाधिक बन्यो। तीन खेलाडी शून्यमा आउट भए।

तीन जना रनआउट भए। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिइन्। खेलमा प्रदेश १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.