|

काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच ०७४ फागुन ११ गते पार्टी एकता गरेर विवेकशील साझा पार्टी बनेको थियो। नयाँ शक्तिको रुपमा उदाएको विवेकशील ४ वर्ष पूरा हुन नपाउँदै फेरि विभाजित बन्न पुगेको छ। 

विवेकशील साझा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच विवादका कारण विवेकशील विभाजन भएको हो। अध्यक्ष मिश्रले पार्टी संयोजक पाण्डेलाई पार्टीबाट निकालेका छन्। उनले पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टी विभाजित भएको हो। 

यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेले पनि स्पष्टीकरणको जवाफ दिएका थिए। उक्त जवाफ चित्तबुझ्दो नभएकोले कारबाही गरिएको मिश्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा उल्लेख छ, ‘तपाईंले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ। अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।’

अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई हटाएर पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरे प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने जानकारीसमेत गराएका छन्। मिश्रको कारबाही र पाण्डेले अलग्गै केन्द्रीय समिति घोषणा एकैदिन परेको छ।

संयोजक पाण्डेले मंगलबार २ सय १ सदस्यीय समानान्तर केन्द्रीय समिति घोषणा गरेका छन्। पाण्डेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गत २०७७ साल मंसिर २४ गते तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच ऐतिहासिक एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकरण भई ‘विवेकशील साझा पार्टी’ गठन भएको सर्वविदितै छ।

विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा अग्रगामी, गतिशील, मध्य वामपन्थी पार्टीको रूपमा यस पार्टीलाई अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने कार्यभारबाट विमुख भएर पश्चगामी, संविधान विरोधी र व्यवस्था विरोधी विचार अङ्गाल्दै पार्टीको एक जना कार्यकारी नेताले मार्ग परिवर्तन गरेपछि पार्टीमा अन्यौल सिर्जना भएकोमा हामी दुःखी छौँ।’

अध्यक्ष मिश्रसँग संवादमार्फत समाधानको पहल गर्दा राजनीतिक दबाब सिर्जना गरेको आरोप लगाएका छन्। पार्टीमा ‘विधान मानौँ’ भन्ने र ‘संविधानविरुद्ध नलागौँ’ भन्ने नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारी खोस्ने र पार्टीमा व्यवस्था विरोधी, धर्मको नाममा द्वन्द्व फैलाउने नीति लाद्ने प्रयास भइरहेको उल्लेख पाण्डेले गरेका छन्। 

एकीकरणको एक पक्षको नेतृत्व गर्ने पार्टी संयोजक, पार्टीका शीर्ष नेताहरूको तर्फबाट आम सदस्यहरूलाई पार्टीको ‘मूल बाटो’ स्मरण गराउने र निर्वाचन आयोगमा पार्टीमा भइरहेका अवैधानिक क्रियाकलापको जानकारीसहित निर्वाचन आयोगमा गरेको उजुरीको अन्तिम निर्णय आउन बाँकी रहेको उल्लेख गरेका छन्।

‘आयोगबाट न्याय नपाए अदालत जाने तयारीमा हामी छौँ नै। तर, कानुनी प्रक्रिया जारी नै रहेको बेला पार्टीका फरक मत (गणतन्त्र र संविधानका पक्षमा) राख्ने नेताहरूलाई भूमिकाविहीन बनाउने, विभागहरू भङ्ग गर्ने, प्रदेशको नेतृत्व फेर्नेलगायत काम भइरहे। पार्टी एकीकरणको घोषणापत्र र विवेकशील साझा पार्टीको विधान २०७४, (पहिलो संशोधन) अनुसार पार्टीलाई जीवित राख्न र मतदाता, पार्टीका सदस्यहरू तथा वैकल्पिक राजनीतिका शुभेच्छुकहरूको सुझावअनुसार पार्टीलाई सुदृढ बनाउनुपर्ने दायित्व स्मरण गर्दै पार्टीको हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यथावत राख्दै यसमा पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को तपसिल बमोजिमको केन्द्रीय समिति घोषणा गरेका छौँ’ विज्ञप्तिमा उल्लेख छ। 

वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा साङ्गठानिक रूपमा थप सशक्त बनाउने उनको भनाइ छ। यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो। पार्टी एकतापछि अध्यक्ष मिश्रले एकलौटी गरेको भन्दै विवेकशीलका उज्जवल थापा अलग भएका थिए।

०७६ असोजमा भएको राष्ट्रिय सम्मेलनबाट मिलन पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए। विवेकशील अध्यक्षमा पाण्डे आएपछि फेरि पार्टी एकता भएको थियो। पाण्डेले फेरि पार्टी एकताको पहल गर्दा पूर्वअध्यक्ष थापाले असन्तुष्टि व्यक्त गरेका थिए। पाण्डेले  फेरि पार्टी एकता गरेको भएपनि एक वर्ष पूरा हुन नपाउँदै फेरि विभाजित बन्न पुगेको छ।

दाेस्राे पटक पार्टी एकता गर्दा ६ महिनाभित्र पार्टीकाे एकता महाधिवेशन गर्ने सहमति भएपनि अन्तत: विभाजन नै हुन पुग्याे।​​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.