|

शिशिरको कठ्याङ्ग्रिने जाडो सकिनै लाग्दा, सायद, प्रकृतिले फूलहरूलाई खबर पठाइसक्छ। वसन्त आउँदा-आउँदै फूलहरूको चेतना जाग्छ। हाँगा–हाँगामा खबर पुग्छ। कोपिलाहरू देखिन थाल्छन्। वसन्तले च्याप्प अँगालोमा बेर्छ समयलाई। बोटहरू ज्यानभरि रंगिन फूलहरू लिएर उभिन्छन्, उन्मत्त। हरर्र फैलिन्छ बासना हावाभरि, बोकेर सुगन्धको कथा।

ऊ र उनी दुवै यस्तै वसन्तमा जन्मे।

सृष्‍टिका यी फूलहरू वसन्तको पहिलो प्रहरमै लठ्ठ भए।  एक अर्काको सुगन्धमा।

प्रकृतिले हेरिरह्यो, त्यो सुगन्धी नाच। पानी पर्‍यो, भिजेर नाचे। बाढी उर्लियो, छालका उद्दाम लहरको छातीमा टेकेर नाचे। घाम लाग्यो, असिनपसिन भएर नाचे। जीवनको नाच चलिरह्यो, अविराम।

दिन रात, हप्ता, महिना गर्दै वर्षौँ बित्यो।

आज उनीहरूको पहिलो विमान यात्रा।

उसले उनको कानैनेर पुगेर भन्यो, ‘कस्तो लाग्दैछ जेटको यात्रा, पहिलो पटक।’

उनले रिसाएजस्तो गरी कर्के आँखाले हेरिन्, ‘कारण थाहा छ नि?’

‘कारण जेसुकै भए पनि अहिले तिमीलाई अलिअलि रमाइलो, अलिअलि अनौठो लागेको छ कि छैन?’ ऊ हाँस्छ खितिति।

‘क्यै रमाइलो लागेको छैन। धेरै नहास है?’ रिसाएजस्तो आवाज।

‘तिमी चैँ किन यति धेरै भलाद्मी भको?’ ऊ अझै जिस्किन्छ।

सिरियसली, यो मान्छेको ताल! किन बच्चाजस्तो? अलि सिरियस होऊ न प्लिज।’ उनी थप दिक्क भइन्।

‘अब चाहिँ पक्का बोल्दिनँ। पाउरोटीजस्तो भुक्क फुलेर बस्छु।’ उसले दुवै गाला भुक्क फुल्ने गरी मुखभरि हावा भर्‍यो र उनीतिर फर्कियो।

‘ह्याँ! के गरिरा? देख्नेले के भन्छन्।’ उनले वरिपरि हेरिन्।

‘अरूको कुरा छोड, तिमी के भन्छ्यौ?’ ऊ अझै जिस्किँदै थियो।

उनी मुसुक्क हाँसिन् र भनिन्, ‘मान्छे चाहिँ हो के तिमी, नौटङ्की।’

त्यही बेला प्लेन ठूलो आवाज निकालेर उड्यो।

उनी मुसुक्क हाँस्दा, उसको अनुहारभरि खुसी नाच्यो। दुवैले सम्झिए पुरानो समय।

‘तिमीले मलाई प्रमिस गर्‍याथ्यौ हनिमुन लग्छु भनेर।’ बिहेको एक महिनापछि उनले भनिन्।

‘विराटनगरको मान्छेलाई भगाएर काठमाडौं ल्याएपछि हनिमुन भएन त?’

‘हामी काठमाडौंमै बस्ने भएपछि हनिमुन त अन्तै हुन पर्दैन? लैजाऊ न पोखरा, सौराहा, कतै कतै।’

‘पर्ख न, तिम्रो बा–आमा तिमीलाई खोज्दै-खोज्दै यता आउन देऊ अनि फेरि भागौँला। हनिमुन पनि हुन्छ।’

‘अँ, अब काम नपाएर फेरि तिमीसँगै भागौँला नि?’ उनले बनावटी रिसको पारो अलि माथि पुर्‍याइन्।

‘तिमीलाई भाग्न, नयाँ मान्छे चाहियो?’ उसले हि हि गर्दै भन्यो।

‘जे पायो त्यही नबोल।’ उनले प्याट्ट उसको हातमा हानिन्।

संघर्षपूर्ण बितेको थियो उनीहरूको पहिलो वर्ष। दुवैको स–सानो काम। दुवैको घरतिर कसैले बोलाएनन् उनीहरूलाई। उनीहरू पनि आफू खुसी गरेर हिँडेका मान्छे, आफू खुसी  गरिरहे।

प्लेन काठमाडौंको आकाशमा थियो। उसले झ्यालबाट बाहिर हेर्‍यो। आफ्नो घर चिन्ने प्रयास गर्‍यो। हजारौँ घरहरूको समुद्रमा उसको  खुसीको सानो टापु। जति कोसिस गरे पनि पक्का निर्क्यौल गर्न सकेन।

बाहिर पानी पर्न थालेको थियो।

उसले उनको कानैनेर  गएर भन्यो, ‘पानीमा भिज्दै चिया खान गएको सम्झना छ?’

उनले सिट बेल्ट खोलिन्।

ऊसँग लपक्क टाँसिएर झण्डै साउती गरिन्, ‘पहिलो एनिभर्सरीमा कसरी बिर्सनु? मेरो जागिर खुस्केको दिन। म कत्ति रोएकी थिएँ नि?’

दुवैको  आँखाअघि फेरि त्यो दिन आयो।

...

‘अब के गर्ने?’ उनले आँखाभरी आँसु लिएर उसलाई भनिन्।

‘समस्या कसलाई पर्दैन, कत्ति रोइरा’ उसलाई समस्याले छुँदै छोएन।

‘हिँड जाऔँ बाहिर। एकछिन घुम्यो भने अलि फ्रेस हुन्छ।’ फेरि उसैले भन्यो।

‘मन छैन, कता जानु यस्तो पानीमा?’ उनको बोली अझै रुन्चे थियो।

‘मलाई तिम्रो हात समातेर पानीमा भिज्दै हिँड्न मन छ!’

‘नाइँ नजाने। म दिक्क भा’छु। सरी’ उनी एकैछिन रोकिइन् र भनिन्, ‘मलाई नै किन पर्नुपर्ने यस्तो?’ उनी फेरि ठुस्स परिन्।

‘छोड न, पानीमा दौडिँदै त्यो चिया पसलसम्म जाऔँ, अनि तात्तातो चिया खाऔँ।’

‘नाइँ।’ उनले अझै मानिनन्।

ऊ चाहिँ भूइँमा पल्टेर लडीबुडी खेल्दै रुन थाल्यो।

‘ल हिँड नौटङ्की।’ बल्ल हाँसिन् उनी।

सडकमा, पेटीमा जमेका पानीका खाल्टोहरू छप्ल्याङ छुप्लुङ गर्दै हिँड्दा दुवै जना ससाना बालक जस्ता लागे।

तातो चिया सुरूप सुरुप पार्दै उसले भन्यो, ‘ह्याप्पी एनिभर्सरी।’

उनले पनि भनिन्, ‘ह्याप्पी एनिभर्सरी।’

‘जागिर गयो भन्दैमा रुन पर्छ त? तिमीलाई यसै पनि मन परेको थिएन नि!’

‘पैसा त मन परेको थियो, चाहिएको पनि थियो।’

‘तिमीले पैसाको त्यस्तो चिन्ता नगर, आफूलाई मन लागेको काम गर।’

‘भन्दैमा हुन्छ।’ उनी झण्डै रिसाइन्।

‘अनि नभनेर हुन्छ? तिमीलाई साँच्चै के गर्न मन छ? भन त।’

उनले लामो सास तानिन्, सडकपारि सानो बालक ह्वीलचियरमा थियो। उसकी आमा नै हुनुपर्छ, पछिल्तिरबाट धकेल्दै थिइन्।

‘यस्तै जीवन अलि अप्ठेरो भएका बच्चाहरूको हेरविचार गर्न मन छ। उनीहरूसँग हाँस्न, नाच्न मन छ। उनीहरूको आँखाबाट देखिने संसार हेर्न मन छ। उनीहरूले जसरी निश्छल, निसंकोच अरुलाई अँगालो मार्न मन छ। मैले त्यो अस्तिको तालिम लिएपछि सधैँ मनमा यस्तै कुरा खेल्छ।’ चियाको अन्तिम घुट्को लिँदै भनिन्।

हावामा आशीर्वादको मुद्रामा हात उठाएर उसले भन्यो, ‘तथास्तु।

‘हेर, मेरो संगतमा परेर कस्तो राम्रो सोचेको तिमीले।’ जहिले पनि जिस्किन सक्छ ऊ।

‘मजाक नगर न।’ उनी फेरि दिक्क भइन्।

‘तिमी डे केयर सुरू गर न त, त्यस्तै नानीहरूका लागि। तिमीलाई इच्छा पनि छ र तालिम पनि।’

तिम्ले भन्दैमा हुन्छ? बैंकमा एक महिनाको खर्च छैन, कसरी हुन्छ आफ्नो काम।’

‘समस्या मात्रै देखेर हुन्छ? हेर, हामीले बस्ने ठाउँमा एउटा अर्को कोठा भाडामा लिऊँ, अनि सुरु गर।’

‘अनि त्यो कोठामा म एक्लै नाच्ने?’

‘मेरो चिनजानमा एक दुई जना मान्छे छन्, उनीहरूलाई पनि सहयोग चाहिएको छ।’

उनको काम सुरू भयो। बिस्तारै उनको खुसी र काम दुवै बढ्दै गयो। सानो घर बन्यो। आफन्तको आउने जाने क्रम बन्यो। दश वर्ष बितेको पत्तै भएन।

एक दिन ऊ कामबाट फर्किँदा ऐया! भन्यो। सधैँभन्दा फरक। उनीहरू सबैतिर पुगे उसको व्यथा घटेन। अन्ततः उनले भनिन्, ‘तिम्रो जीवनको अगाडि सम्पत्तिको के मोल? हिँड बैंकक जाऔँ त्यहाँ अलि राम्रो उपचार हुन्छ कि?’

.......................

बैंकक स्वर्णभूमि एयरपोर्टबाट समितिभेज अस्पतालसम्म डेढ घण्टाको बाटो, ऊ बोलिरह्यो। अनि कहिले हाँसिन्। कहिले रिसाए जस्तो गरिन्। ट्याक्सी गुडिरह्यो।

ऊमाथि डाक्टर, नर्सहरूले अनेकौ टेष्ट गरे। दिसा, पिसाब, रगत सब जाँचियो। झन्डै हप्ता दिनको दौडधुपपछि निर्णय आयो। अब उसको जीवन चार महिनामात्रै बाँकी छ।

हिँडिरहेको बाटो छोप्ने गरेर धुलो उडाउने हावा जस्ता सुस्केराहरू निस्के।

दुवैको अनुहारमा कालो बादलको छाया पर्‍यो। मनको अँध्यारो आकाश डरलाग्दो अवाज निकालेर गर्जियो। दुवैको शरीर र मुटु थरर्र काप्यो। उनका आँखा असार र साउनजस्ता भए। उसले पनि पुछिदिएन उनको आँसु। सँगै बर्सियो। दुई दिनसम्म उनीहरू एकअर्कालाई हेरिरहे।

ऊ बिस्तारै चल्मलायो, उनको छेउमा टुक्रुक्क बसेर भन्यो, ‘मलाई एकदम भोक लाग्यो।’

‘के खान्छौ?’

थाहा छैन, हिँड् बाहिर जाऔँ। एकदमै नयाँ कुरा खान मन छ।’

‘जाँगर छैन।’ मन नलागी नलागी बोलिन् उनी।

‘धेरै पिर नगर, हिँड बाहिर जाऔँ।’

उनले केही प्रतिक्रिया जनाइनन्।

उसले फेरि भन्यो, ‘म अहिलेसम्म एकदम खुसी भएर बाँचेँ। अब पनि त्यसरी नै बाँच्न मन छ।’

उनको आँखाको सागर फेरि छचल्कियो

उसले उनको आँखामा हेर्‍यो र भन्यो, ‘नरोऊ, योभन्दा बढी आँसु झेल्ने हैसियत मसँग छैन। घर फर्किन दुई दिन बाँकी छ। हिँड, बैंकक हेरौँ।’

‘सक्छौ त?’ उनले बिस्तारै भनिन्।

‘पेन किलर छ नि?’

मन नलागी नलागी उनी बाहिर निस्किन्।

उसले सडक किनारमा उभिएर नाम पनि भन्न नजानेको खानेकुरा स्वाद लिएर खायो। थपीथपी खायो। उनी नजिकै उभिएर हेरिरहन्‚ उसको बेफिक्री।

अलि अघाएजस्तो भएपछि उसले खाना बेच्ने केटीलाई थ्याङ्क यु भन्यो र उनीतिर फर्कियो।

‘मलाई त्यो होटलमा जान मन छैन।’

‘किन?’

‘त्यहाँ तिमी साह्रै रोयौ, फेरि त्यहाँ गयो भने एकदम मुड अफ हुन्छ।’

‘कहाँ जाने?’ मन नलागी नलागी उनले भनिन्।

‘बिच’

केही थाहा थिएन उनीहरूलाई नजिकको बिच कहाँ छ। सोध्दै, खोज्दै साँझतिर बल्ल उनीहरू ‘ह्वाहिन’का लागि रेल चढे। ह्वाहिनको समुद्र किनारमा रहेको हिल्टन होटलको सातौँ तल्लामा पुग्दा रातिको १० बजेको थियो।

भोलिपल्ट झिसमिसेमा उसले नै उनलाई झकझकाउँदै भन्यो, ‘हिँड जाऔँ सूर्योदय हेर्न।’ 

उनीहरू त्यो अपरिचित समुद्रको किनारमा गएर बसे। त्यहाँ धेरै गतिविधि थिएन, यस्तो लाग्थ्यो सारा सृष्‍टि सुस्ताएको छ। बिहान हिँड्नेहरू आए। घोडा चढ्नेहरू आए। बिस्तारै भीड बढ्दै गयो। यस्तैमा पूरै पृथ्वी तताउँछु भनेजस्तो गरी रातो फलामको डल्लोजस्तो जोसिलो सूर्य पानीको गर्भबाट आकाशमा हाम फाल्यो। त्यो सेतो बालुवाको समुद्री किनारमा जीवन जुरुक्क जुरमुराउँदै  उठ्यो।

उसले दिनभरि पटक पटक बालुवामा आफ्नो नाम लेख्यो।

उनीहरू दिनभरि यताउती हिँडे, संसारभरिका मान्छेहरू हेरे। साँझमा थकित सूर्य पश्चिम आकाशको गहिराइमा चुर्लुम्म डुब्यो।

त्यो सन्ध्यामा उसले उनको हात समातेर भन्यो, ‘प्यारी, मैले आज कैयौँ पटक मेरो नाम यो बालुवामा लेखेँ तर हरेक पटक कठोर लहरले त्यसलाई मेटाइरहे। जीवन यस्तै समयको लहरहरू बिचको भोगाइ रै’छ। मैले सन्तुष्ट हुनेगरी भोगेँ। केही गुनासो बाँकी छैन।’

उनी अवाक् हेरिरहिन् उसलाई र भनिन्, ‘तिमीलाई अरू केही गर्न मन छ कि?’ उनी यसै पनि घस्रिरहेकी थिइन्, उसको इच्छाको पछि पछि।

‘छैन, अब फर्कौँ।’

त्यो रात होटलको बिछ्यौनामा उसको छातीमा टाउको अड्याएर उनले भनिन्, ‘प्यारा, तिमीलाई डर लाग्दैन?’

‘पहिलो दुई दिन लाग्यो। अहिले छैन। मैले मेरो सत्य मैले स्वीकार गरिसकेँ। अब डर छैन। सबैको आफ्नो जीवन हुँदो रै’छ। आजको दिनको पनि जीवन थियो। त्यो सूर्य आफ्नै गतिमा आयो र गयो। अब भोलि अर्कै सूर्य निस्किन्छ, नयाँ पृथ्वीमा।’

एकछिन रोकिएर उसले फेरि भन्यो, ‘अब सुतौँ।’

एकछिनपछि फेरि ऊ चल्मलायो र भन्यो, ‘एउटा गीत गाइदेऊ न।’

‘कुन?’

‘त्यो मेरी आमाले गाउने गीत।’

उनले उसको टाउको मुसारिन्। उनको काखमा टाउको अड्याएर उसले उनलाई हेर्‍यो। दुवैले आँखा बन्द गरे।

रुद्ध गलालाई चिर्दै मसिनो आवाज निस्क्यो ‘तारा बाजी लै लै, मामा आए घोडा।’

ऊ दिनभरि थाकेको बालकजस्तो उनको अँगालोमा फुस्स निदायो।

उनले उसको अनुहारमा हेरिरहिन्। मन भरियो र पोखियो आँखाबाट। दुई थोपा आँसु उनको आँखाबाट निस्के। नाकको किनारै किनार गुडेर ओंठसम्म पुगे। उनले दुवै ओठ दाँतले च्यापिन्। आँसुका थोपाहरू एकछिन अलमलिए र फेरि उनको च्युँड़ोबाट चुहेर तप्पतप्प उसको गालामा परे।

ऊ फेरि चलमलायो।

उनले उसको निधारमा लामो चुम्बन गरिन् र भनिन्, ‘बिदा, मेरो प्रेम।’

ऊ फेरि चल्यो। उनी अर्कोतिर फर्किन् र सिरानी भिजाइरहिन्।

भोलिपल्ट फर्किने दिन थियो।

बाँकीको चार महिना ऊ ऐया, ऐया भन्दाभन्दै पनि बीचबीचमा हाँसिरह्यो, जिस्किरह्यो।

समयले कोल्टो फेर्‍यो।

चिसो कठ्याङ्ग्रिने जाडो सुरू हुने बेलातिर सृष्‍टिको नयाँ खबर बोकेर हावाले फूलका बोटहरूलाई थप्थपायो। फूलहरू ओइलाए। बोटहरूले बिस्तारै पातहरूमा पहेँलो रङ पोते र बिदा भने। सम्पूर्ण सृष्‍टिको विशालता ससाना बिउहरूमा समेटियो। यस्तै‚ कुनै बिहान उसले जीवनको अन्तिम सास फेर्‍यो।

सुन्दर फूलको एक लहर सुगन्ध जसरी उठेको थियो, त्यसरी नै सकियो।

मान्छेहरू आए। आवश्यक पर्ने जति मात्रै रोए। अड्कलेर दुःख मनाउ गरे र आफ्नो जीवनमा लागे।

समयको अगाडि दुःखको पनि केही जोड चलेन। एउटा अन्तरालपछि उनको पीडा अलि कम भयो। उनलाई उसले लेखेका प्रेमपत्रहरू फेरि हेर्ने इच्छा भयो। भर्खर खाटा बसेको घाउबाट पाप्रा उक्काए जसरी डराउँदै उनले मोटो फाइल खोलिन्। फाइलको सुरुमै एउटा बन्द खाम थियो। खामबाहिर यस्तो लेखिएको थियो।

‘मलाई थाहा थियो कुनै दिन तिमीले यो फाइल अवश्य खोल्नेछौँ। जसरी यो बन्द खामभित्र के छ तिमीलाई थाहा छैन, जीवनले पनि नसोचेका, योजना नबनाएका कुरा लुकाएर राख्दो रै’छ। त्यसैले आजलाई अघाउन्जेल भोग गर। म त तिम्रो हिजो भइसकेँ।’

उनले  हतार–हतार चिठी खोलिन्।

भित्र उसको हस्ताक्षरमा यस्तो लेखेको थियो।

‘हेर न, जीवन सकिँदा पनि तिमीसँगको कुरा सकिएन। मेरो जीवन मैले चाहे जसरी बाँचेँ। अरुले गर्नुहुन्न भनेका काम पनि गरेँ। आफ्नै बाटो हिँडे। मन लागे जसरी हिँडेँ। छोटो भयो तर मीठो भयो। ‘क्विन अफ दी नाइट्स’ फूलजस्तो, त्यो फूल वर्षभरिमा एक रातको लागि मात्र फुल्छ।

सृष्‍टिका सबै फूलहरू फरक-फरक रङमा फुल्छन्। तिमी पनि फुलिरहे आफ्नै रङमा, आफ्नै सुगन्धमा।

बैंककको समितिभेज अस्पतालबाट बाहिर निस्केर सडकको दुवै दिशामा हुइँकिरहेका मान्छेहरू हेर्दा लाग्यो यिनीहरूको र मेरो जीवनमा केही फरक छैन। मलाई मेरो अन्त्य थाहा भएको मात्रै हो। यीमध्ये कति त मभन्दा पहिल्यै संसार छोड्लान्। जीवनको खुसी यसको लम्बाइमा मात्र कहाँ नापिँदो रै’छ र? तिमीलाई भेट्दाको खुसी। पहिलो प्रेम। पहिलो स्पर्शको रोमाञ्च। बेस्सरी थाकुञ्जेल सँगै काम गर्दाको मजा। सबै भोगाइहरू छोटा जस्ता भए पनि, अन्तरसम्म छोए। म जीवनसँग त्यसै त्यसै जस्किरहेँ, खेलिरहेँ यो खेल। म तिमी सँगको, त्योभन्दा पनि बढी जीवनको भोगबाट बढी आनन्दित भएँ, तरङ्गित भएँ।’

‘मलाई थाहा छ, मान्छेका मनभरि पर्खालहरू छन्। हरेक मोडमा तिमीलाई पर्खालभित्र राख्न खोज्ने छन्। जीवनको सर्वोपरि खुसी उन्मुक्त भएर बाच्नुमा रै’छ। आफूलाई मन लाग्ने सबै कुरा गर्नू। अरूका मनभित्र कोरिएका सीमारेखाहरू तिम्रो झ्यालखाना नबनून्। आफूले नस्वीकारेसम्म कुनै पर्खालले कसैलाई छेक्न सक्दैनन्। मुक्ति अरूको सीमाबाट मात्र होइन, आफ्नै सीमाबाट पनि खोज्नु। कहिलेकाहीँ गर्नुहुन्छ कि हुन्न जस्तो लाग्ने कुराहरू पनि गरि हेर्नू। के थाहा त्यसभित्रको संसार कति रोमाञ्चकारी छ। बाँकी तिम्रो इच्छा।

तिमी मलाई सबैभन्दा मनपरेको मान्छे। तिम्रो र मेरो खुसी, तिम्रो र मेरो आँसु, नङ र मासु। मैले, तिम्रो लागि सबैभन्दा महत्वपूर्ण मान्छेको फोटो चिठीसँगै पठाएको छु। यो मान्छेलाई  सधैँ खुसी राखे।’

उनले फेरि खामभित्र हेरिन्। त्यहाँ उनकै तस्बिर मुस्कुराइरहेको थियो। टिलपिल आँखासँगै उनको मुखबाट  फुत्त निस्कियो ‘नौटङ्की।’

चिठी सकियो। उनी उठिन् र झ्याल खोलिन्। एक झोक्का हावा वसन्तको खबर बोकेर दौडिँदै उनको स्पर्श गर्न आइपुग्यो।

आज विमोचन हुने कथा संग्रह ‘अर्को भोर’बाट

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.