|

अमेरिकाको न्युयोर्क सहरमा बस्दै आएको एउटा जोडी ज्याक र सेलियाका लागि सन् १९२२ को क्रिसमस तीन दिन पछाडि मात्रै आयो। न्युयोर्क सहरले मात्र होइन विश्वभरी रहेका इसाई धर्मालम्वीले २५ डिसेम्बरमा क्रिसमस मनाइरहँदा उनीहरूले नयाँ कपडा र क्रिसमस ट्रिमा हुने खर्च भविष्यको सन्तानको लागि खर्चिने भनेर बचाए। जो सेलियाको पेटमा हुर्किरहेको थियो। 

क्रिसमसको तीन दिन पछि डिसेम्बर २८ मा सेलिया र ज्याकको क्रिसमस लिएर स्टेनली मार्टिन लेइबर यो संसारमा आए। सेलिया र ज्याकले आफ्नो पहिलो सन्तानको धुमधामसँग स्वागत गरे, आफ्नो गक्ष अनुसार।

सन् १९२२ डिसेम्बर २८ मा सामान्य परिवारमा जन्मेका स्टेन लीको जीवन पछि विश्व भरका करोडौँ मानिसले उत्सव जसरी मनाइरहे। जसको उदाहरणको रुपमा मार्वल कमिक्समा आधारित फिल्म रिलिज पछि विश्वभर आउने तरंगलाई लिन सकिन्छ।

सुपरहिरोहरूका पीता भनेर चिनिने लीको सुरुवाती जीवन भने त्यति सजिलो थिएन। ९ वर्षको हुँदा भाइ लेरीको जन्म भएपछि बिस्तारै उनले परिवारको दुःख देख्न, महशुस गर्न थाले। सानै उमेरमा उनलाई जेठो सन्तानको जिम्मेवारी बोध हुन थाल्यो। 

उनी के गरेर आमा बुवालाई सघाउन सकिन्छ भनेर सोचिरहन्थे। त्यसपछि पढाइसँगै उनले काम पनि गर्न थाले। उनले डेलीभरी ब्वाइको रुपमा काम गरे। पत्रिका बाँड्ने, बुवालाई कपडा काट्ने सिलाउने काममा सघाउने, आमालाई घरकाे काममा सघाउने गर्न थाले। 

आफूले गर्दा घरमा अलिकति भए पनि सजिलो भएको छ भन्ने कुराले लीलाई खुसी दिन्थ्यो। लीलाई खुसी दिने अरु दुई कुरा थिए किताब र फिल्म। उनलाई कथाका काल्पनिक संसारमा भुल्न, फिल्मका दृश्य भित्र पसेर डुल्न खुब मनपर्थ्यो। तर त्यतिवबेला उनीसँग मन लागेको किताब किन्न, हेर्न मन लागेका सबै फिल्म हेर्न पुग्ने पैसा हुँदैनथ्यो। 

कहिलेकाहीँ साथीका किताब मागेर पढ्थे, कहिलेकाहीँ फिल्म हेर्ने मौका पनि जुर्थ्यो। तर अधिकांश समय उनी आफ्नै काल्पनिक संसारमा रमाउँथे। जहाँ उनका आफ्नै कथाहरू थिए, आफ्नै फिल्म थियो, फिल्ममा आफैले जन्माएका पात्र। त्यतिबेला स्टेन लीका पाठक, दर्शक स्वयं ली मात्रै थिए।

लीको जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण घुम्ती सन् १९३९ मा आयो जब उनले मार्टिन गुडम्यानको कमिक म्यागजिन टाइमली कमिक्समा काम गर्न थाले। तर, सुरुमा उनको काम भने कार्यालय सहायकको थियो।

१७ वर्षका लीलाई उनका एकजना आफन्तले त्यहाँ काम लगाइदिएका थिए। जहाँ उनको काम हुन्थ्यो अरु कर्मचारीको लागि खाना, खाजा, चिया, कफीको व्यवस्था गरिदिने, लेख्ने कलममा मसी भरिदिने, फाइलहरू मिलाउने, यताउता सार्ने। 

त्यहाँको माहोलले गर्दा लीलाई त्यो काम आफूले पनि गर्न सक्छु जस्तो लाग्यो। कहिलेकाहीँ सोच्थे, 'जुन काम म बच्चा बेलादेखि गर्दै आएको छु। जुन काम मलाई सबैभन्दा मनपर्ने, गर्न मन लाग्ने काम हो। अनि त्यही काम गर्न भनेर तलब लिएर बसेका मान्छेले सकिरहेका छैनन। यस्तो किन भइरहेछ?' 

त्यसपछि उनले एउटा पात्रलाई जन्म दिए जसको नाम 'डिस्ट्रोएर' राखिदिए। डिस्ट्रोएरलाई नै लीको पहिलो सुपरहिरो मानिन्छ। सन् १९४१ मा 'डिस्ट्रोयर' सार्वजनिक भएपछि १९ वर्षे लीलाई धेरै मान्छेले चिन्न मात्र थालेनन् एउटा उदाउँदो कमिक लेखकको रुपमा मान्न पनि थाले।

लीको कामबाट खुसी भएर मार्टिन गुडम्यानले उनको बढुवा गरिदिए। त्यसपछि उनलाई मनपर्ने काम र गर्ने काम एउटै भयो। परिवारमा पनि राम्रो हुँदै गयो। लीका भाइ लेरीले पनि कमिक लेखनमा रुची देखाए। 

त्यतिबेला दोस्रो विश्व युद्ध उत्कर्समा थियो। जर्मनीले नेतृत्व गरिरहेको देशहरूको समूह एक्सिस पावरले सबैतिर झण्डा गाड्दै थियो। अमेरिकाले आफ्ना सैनिक थप्दै रणनीतिमा पनि केही परिवर्तन गर्न खोजिरहेको थियो। 

त्यसपछि सन् १९४२ ली पनि सिग्न कोर्प्सको सदस्यको रुपमा काम गर्नेगरी अमेरिकन आर्मीमा भर्ती हुनुपर्यो। त्यहाँ उनले टेलिग्राफका पोलहरू मिलाउने, दुई फरक ठाउँमा रहेका आर्मी बटालियन बीच सम्पर्क गराउने जस्ता काम गर्नुपर्थ्यो। 

सन् १९४५ मा दोस्रो विश्व युद्ध सकिएपछि ली फेरि टाइमली कमिक्स मै काम गर्न गए। जसको नाम फेरेर एटलस कमिक्स राखिएको थियो। 

सन् १९५० को दशकमा उनले सक्रिए रुपमा काम गरे। धेरै सुपरहिरोलाई जन्म दिए। त्यतिबेलासम्म उनी उक्त कम्पनीको सम्पादक बनिसकेका थिए। 

दुई दशकभन्दा लामो समयदेखि ठूलो परिमाणमा बिक्दै आएका कमिक किताबहरूको बिक्रीदर बिस्तारै कम हुँदै थियो। नयाँ नयाँ सुपरहिरो त आइरहेका थिए तर उस्तै जस्तो लाग्ने कथाले मान्छेहरूलाई दिक्क बनाइसकेको थियो। पाठक मात्र होइन ली नै पनि उस्तै काम गर्दा-गर्दा दिक्क लागेर यो क्षेत्र नै छोड्ने निष्कर्शमा पुगे। 

यसै पनि ओरालो लागेको कम्पनी लीले छोडेपछि झन खस्कियो। कम्पनी नै बन्द गनुपर्ने अवस्थामा पुगेपछि मार्टिन गुडम्यानले केही नयाँ प्रयोग गरेर फेरि मिलेर काम गर्न लीलाई प्रस्ताव गरे। लीलाई पनि कुरा मनासिव लाग्यो। उनी फेरि फर्किए।

त्यतिबेलासम्म सुपरहिरोका केही पनि कमजोरी देखाइँदैनथ्यो। पाठकहरूले दिक्क मान्नुको एउटा कारण त्यो पनि थियो। त्यसपछि लीले आफ्ना आफ्ना कमजोरी सहितका सुपरहिरो बनाए। जसका आफ्नै दुःख थिए, आफ्नो व्यक्तिगत समस्या थिए, सुपरहिरो भावुक हुन्थ्यो, खुसी पनि हुन्थ्यो। त्यसले सुपरहिरोलाई पनि सामान्य मान्छेसँग जोड्थ्यो।

लीको त्यो प्रयोग सफल रह्यो। त्यसपछि १९६० को दशकमा कम्पनीको नाम फेरेर मार्वल कमिक्स राखियो। त्यतिबेला कमिक किताबको लोकप्रियता झन् बढ्यो। मार्वल कमिक्स पहिलेको भन्दा कयौँ गुणा बढी बिक्री हुन थाल्यो।

मार्वललाई त्यो सफलता दिलाउन १९६० को दशकमै जन्म भएका थोर, आइरन म्यान, स्पाइडर म्यान, डक्टर स्ट्रेन्ज, ब्ल्याक प्यान्थर, एक्स म्यान जस्ता सुपरहिरोको ठूलो हात रह्यो। लीलाई अमर पनि त्यतिबेलै लेखिएका पात्रले बनाए। 

सन् १९६१ मा लीले पहिलो पटक धेरै जना सुपहिरो एकैठाउँमा राखेर 'फेन्टास्टिक फोर' लेखे। जसलाई निकै रुचाइयो। पछि त्यही शुत्रमा बनेका फिल्मलाई पनि दर्शकले निकै मन पराउँदै आएका छन्।

कार्यालय सहायक भएर काम सुरु गरेका ली पछि कम्पनीका प्रेसिडेन्ट बने। आफ्नो जीवनकालमा उनले ६० भन्दा बढी सुपरहिरोसहित र साढे ३ सय भन्दा धेरै पात्रहरूलाई जन्म दिए। 

पछि मार्वल सिनेमाटिक युनिभर्सले उनका पात्रमा फिचर फिल्म बनाउन सुरु गर्यो। लीका पात्रहरूमा आधारित सबै जसो फिल्म विश्व भर नै लोकप्रिय छन्। 

सन् २०१८ नोभेम्बर १२ मा निधन हुनुअघि उनले द विल एइसनर अवार्ड, डिज्नी लेजेन्ड, नेशनल मेडल फर आर्ट, हलिउड वल्क अफ फेम, स्क्रिम अवार्ड जस्ता दर्जनौँ प्रतिष्ठित पुरस्कार तथा सम्मान पाए।

सुपरहिरोका पीता भनेर चिनिने ली भन्ने गर्थे, 'भाग्य एउटा घुम्ने ढोका हो। तपाईंको छिर्ने समय कुन हो भनेर थाहा पाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।'

एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.