|

काठमाडौं : अभिनेता अनमोल केसीले पटकथा र पारिश्रमिकभन्दा पनि निर्माण टोलीको नियत हेरेर फिल्म साइन गर्ने गरेको बताएका छन्। 

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले फिल्मको चयन गर्दा ध्यान दिने कुराका बारेमा बताएका हुन्। 

उक्त कार्यक्रममा अनमोलले फिल्म बनाउनुका पछाडि निर्माताको नियत के हो भन्ने बुझेर मात्र साइन गर्ने गरेको बताए। 'उहाँहरूले आर्थिक रूपमा मात्रै सोच्नुभएको हो कि साँच्चिकै दर्शकलाई राम्रो फिल्म दिन खोज्नु भएको हो भन्ने हेर्छु'‚ उनले भने, 'स्क्रिप्ट र पारिश्रमिकभन्दा पनि मेरा लागि निर्माता र निर्देशकको चासोले बढी महत्त्व राख्छ।'

साथै म्युजिक भिडियोप्रति आफ्नो सम्मान र माया रहेको जिकिर गर्दै अनमोलले आफूले म्युजिक भिडियोमा काम नगर्नुको कारण पनि बताए। उनले भने, 'यदि मेरा फिल्ममै चारपाँचवटा गीत छन् भने मैले म्युजिक भिडियो गर्नु जरुरी छ जस्तो लाग्दैन। म म्युजिक भिडियोलाई प्रशंसा गर्छु, राम्रो मान्छु तर यतिवेला फिल्ममै लक्षित छु।'

'होस्टेल'बाट अभिनेताको रूपमा नेपाली फिल्ममा उदाएका अनमोल नेपालका महँगा अभिनेतामा गनिन्छन्। उनको पछिल्लो फिल्म 'ए मेरो हजुर ३' हो भने 'ए मेरो हजुर ४' प्रदर्शनको तयारीमा रहेको छ। 

यतिवेला अनमोल 'एक्स ९' को तयारीमा रहेका छन्। उक्त फिल्मका लागि लुक्स तथा शरीरमा काम गरिरहेको पनि उनले जनाए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.