वैदैशिक रोजगारीमा गएकाको समस्या समाधानमा विलम्ब

|

काठमाडौं  : लामो समयदेखि छिमेकी मुलुक चीन सहित २० मुलुक राजदूत विहीन बनेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटेलगत्तै आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूतमा सिफारिस भएका सबैको नाम बदर गर्ने निर्णय गरेको थियो। 

त्यससँगै शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बितिसक्दा पनि राजदूत नियुक्ति गर्न सकेको छैन। नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन्।  जसमध्ये  यतिवेला २० वटा देश राजदूत विहीन बनेका हुन्। 

कार्यविधिअनुसार अब परराष्ट्र मन्त्रालयबाट ७ जना नियुक्त हुने छन् भने बाँकी राजनीतिक नियुक्तिबाट। यसअघि परराष्ट्रका कर्मचारीबाट १० जना विभिन्न देशका लागि राजदूत नियुक्ति भइसकेका छन्। गत ११ कात्तिकमा सिफारिस भएका तीनजनाको राजनीतिक कोटाबाट नियुक्ति प्रक्रिया अगाडि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्र मन्त्रालयबाट वरिष्ठताका आधारमा सहसचिव निर्मलराज काफ्ले दाबेदार हुन्। यसअघि तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा काफ्लेको नाम राजदूतमा सिफारिस भएको थियो। वरिष्ठता र कार्यक्षमताका आधारमा काफ्ले योपटक राजदूत नियुक्तिमा पर्ने सम्भावना छ।

त्यस्तै सहसचिव भरतकुमार रेग्मी र हरिश्चन्द्र घिमिरे पनि राजदूतका लागि बलिया दाबेदार मानिन्छन्। उनीहरू दुवैमा विदेशस्थित नियोगमा काम गरेको अनुभव छ। सहसचिव रेग्मी एक वर्षअघि मात्रै भारतस्थित नेपाली दूतावासबाट फर्केका थिए।

सहसचिवमा डोरनाथ अर्याल, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री, घनश्याम भण्डारी, दुर्गाबहादुर सुवेदी, लोकबहादुर थापा, सुशीलकुमार लम्साल, धनबहादुर ओली, प्रकाश सुवेदी र सुधीर कुमार भट्टराई पनि राजदूतका लागि दाबेदारी गरिरहेका छन्। सरकारको ढिलासुस्तीले राजदूत नियुक्तिमा ढिलाइ भइरहेको छ। 

कुनकुन देशमा छैनन् राजदूत ? 

पछिल्लो समय विभिन्न मुलुकमा राजदूतको सिफारिस हुन सकेको छैन। सन् २०१९ जुलाईदेखि श्रीलंकामा राजदूत खाली भएको थियो। श्रीलंकाका लागि राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएसँगै राजदूत नियुक्ति हुन सकेको छैन। 

नेपालीको वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा सन् २०१९ देखि राजदूत सिफारिस हुन सकेको छैन। रूसमा सन् २०२० डिसेम्बरदेखि राजदूत छैनन्। 

म्यान्मा, मलेसिया, डेनमार्क, इजिप्ट‚ ब्राजिल, साउदी अरेबिया, दक्षिण अफ्रिका, बहराइन, इजरायल, स्पेन, ओमान, अष्ट्रेलिया, कतार‚ चीन, बंगलादेश, जापान र भियना पनि राजदूत विहीन बनेको छ। 

राजदूत नहुँदा कामदारको समस्या समाधान भएन

यसरी नेपालीको श्रम गन्तव्य मुलुकमा राजदूत सिफारिस  हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका श्रमिकको समास्या सम्बोधन हुन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।

पछिल्लो समय नेपालीको श्रम गन्तव्य मुलुक साउदी अरेबिया, मलेसिया, कतार लगायतका मुलुकमा राजदूत सिफारिस नहुँदा वैदेशिक रोजगारीमा रहेका युवाले समास्या भोग्नु गरेको  सरोकारवालाले  बताएका छन्। 

वैदेशिक रोजगारको सिलसिलामा अंगभंग भएका र मृत्यु भएकाको उद्धारमा समस्या हुने गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। लामो समयदेखि राजदूत नहुँदा नेपाली श्रमिकले समस्या भोग्नुपरेको वैदेशिक राेजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.