काठमाडौं : स्व.गोपाल गिरीको स्मृतिमा स्थापित क्रियाशील पत्रकारिता पुरस्कार यो वर्ष थाहाखबरका पर्सा संवाददाता तुलसी भण्डारीलाई प्रदान गरिने भएको छ।
नेपाल पत्रकार महासंघका पूर्व-अध्यक्ष तथा तत्कालीन नगरप्रमुख स्व.गिरीको नाममा स्थापित क्रियाशील पत्रकारिता पुरस्कारबाट यो वर्ष (२०७८) थाहाखबरकर्मी भण्डारीलाई प्रदान गरिने निर्णय भएको हो।
महासंघ पर्सा शाखाको सोमबार बसेको बैठकले २०७७ को पुरस्कार भने स्थानीय प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठलाई प्रदान गर्ने पनि निर्णय गरेको छ। पत्रकारद्वय भण्डारी र श्रेष्ठलाई जनही २५ हजार नगदसहित सम्मान गरिने नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले बताए।
सक्रिय र अनुभवी पत्रकार छनोट : अध्यक्ष तिवारी
पर्सामा दुई दशक लामो समयदेखि रेडियो, टिभी, छापा हुँदै अहिले अनलाइनमा समेत समाचार उत्पादन गर्दै आएका भण्डारी र रेडियो, छापा र अनलाइनमा नै आबद्ध श्रेष्ठ दुवै सक्रिय र अनुभवी पत्रकारहरुलाई महासंघले सम्मान गर्न लागेको अध्यक्ष तिवारीको भनाइ छ।
भण्डारी काठमाडौंबाट प्रकाशित हुने नयाँ किरण साप्ताहिक, साप्ताहिक जनसत्ता, एनबीएक्स माउन्टेन टिभी हुँदै विगत १२ वर्षदेखि काठमाडौंबाट प्रकाशित हुने राजधानी दैनिकमा पनि आबद्ध छन्।
त्यसैगरी, श्रेष्ठ पनि स्थानीय आवाज एफएमको समाचार प्रमुख पनि हुन्। उनीहरू दुवै जनालाई आगामी माघ १ गते स्व. गिरीको पुण्य तिथिको दिन पारेर सम्मान गरिने नेपाल पत्रकार महासंघले जनाएको छ।
बजार क्षेत्रभित्रै भएको थियो हत्या
स्व. गिरीलाई २०६० साल माघ १ गते अत्यधिक बाक्लो हुस्सु लागेको समयमा वीरगन्ज १४ साबिकको वीरगन्ज १७ बहुअरीमा बोलाई तत्कालीन माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका थिए।
हत्या गर्नुको चित्तबुझ्दो कारण अहिलेसम्म पनि पीडित परिवारले थाहा पाउन सकेको छैन। बाहिरी हल्ला भने चन्दा नदिएको भन्ने खुलेको छ। हरेक व्यक्तिसँग तुरुन्त घुलमिल हुन सक्ने मिजासिला स्व.गिरी सो समयमा वीरगन्ज महानगरपालिकाको नगरप्रमुख थिए।
महासंघका पूर्व-अध्यक्ष
उनी विकास प्रेमी नगरप्रमुख मात्र नभई राम्रा पत्रकारसमेत हुनु र नेपाल पत्रकार महासंघ पर्सा शाखाको पूर्व-अध्यक्षसमेत रहिसकेको कारण महासंघ पर्सा शाखाले उनको स्मृतिमा पुरस्कारको स्थापना गरेको हो। उनै पर्सा अध्यक्ष रहेको बेला नेपाल पत्रकार महासंघको वीरगन्जमा भएको भेलाले पहिलोपटक पत्रकारहरुको आचारसंहिता बनाएको अग्रज पत्रकार शंकर खतिवडाले अनुभव सुनाए। ‘त्यो २०५० सालमा हुनुपर्छ’ उनले भने।
विगत १० वर्ष अगाडिबाट स्व. गिरीको स्मृतिमा स्थापित पुरस्कारबाट पर्साका पत्रकारहरूमध्ये शत्रुघ्न नेपाल, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, महेशचन्द्र गौतम र राससका तत्कालीन नारायणी प्रतिनीधि शीतल महतो लगायतका पत्रकारहरु सम्मानित भइसकेका छन्।
स्व. गिरीका जेष्ठ सुपुत्र गिरिस गिरी पनि नेपालकै राम्रा पत्रकारहरूमध्ये गनिन्छन्। आफ्ना बुबा स्व. गोपाल गिरीको हत्या गरिएको समयमा उनी कान्तिपुर दैनिकमा कार्यरत थिए। स्व. गिरीको हत्यापछि गिरी परिवार अहिले वीरगन्ज बस्न छोडेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।