|

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर गरेको छ।

माई नगरपालिका–९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरूद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

थेबेले समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकेदारसँग मिलेर समूहका गोलिया काठ दिन्छु भनी रकम लिएको आरोप अख्तियारले लगाएको छ।

त्यस्तै, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरी पनि अख्तियारमा परेको थियो।

अनुसन्धान गर्दा थेबेले समूहको निर्णय किताब तथा चेकबुक लगायतका कागजातहरू आफूले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखतसमेत किर्ते गरी रकम निकाली खर्च गरेको खुलेको प्रवक्ता रिसालले जानकारी दिए।​

थेबेले कार्यक्रमहरूको खर्च विवरण तथा बिल भरपाइसमेत नदेखाई बदनियतपूर्ण ढंगले १३ लाख ९७ हजार ७७७ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.