|

काठमाडौं : सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथिति अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतलाई फिर्ता बोलाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्।

बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए।

यसरी समयअगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगत्‌मा नेपाल कमजोर हुने उनले स्पष्ट पारे।

नेपालको कूटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै रावलले समयानुकूल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि चर्चा गरे।

उनले भने, ‘हामीले कूटनीतिक नियोगमा पठाउने भन्या त राष्ट्रको हितको साधना गर्ने, त्यो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो अनि एउटा मन्त्री फेरियो, राजदूत पनि फेरियो। यो बेथिति बन्द गर्नुपर्छ।’

उनले यसबाट कूटनीतिक क्षेत्रमा प्रतिस्पर्धी विश्वमा देश एकदमै कमजोर हुने चर्चा गर्दै यसको भुक्तभोगी रहेको चर्चा गरे।

उनले नेपालको कूटनीतिक क्षेत्र विगतको भन्दा युगानुकूल काम गर्न नसक्ने अवस्थामा पुगेको आभास भएको भन्दै आलोचना गरे। सम्बन्धित देश र त्यहाँको भाषा, कूटनीतिक विषयको ज्ञान भएको व्यक्तिलाई मात्रै राजदूत बनाउनुपर्ने उनको कथन छ।

सांसद रावलले साना देशका लागि कूटनीतिक क्षमता बढाउनु देशको अस्तित्वसँग गाँसिने तर्क गरे।

त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देश र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए।

नेपालको सिमाना मिचिँदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको भन्दै उनले गुनासो गरे।

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउनुले राम्रो सन्देश नगएको टिप्पणी गरिन्। उनले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने माग गरिन्।

उनले भनिन्, ‘राजदूत नियुक्त गरिसकेपछि सरकार फेरिनेबित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन आयो यसको सन्देश राम्रो गएको छैन। कम्तिमा यति समयअघि फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौँ।’

सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देशबीचको सम्बन्धमा समेत असर पर्ने धारणा राखिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.