|

काठमाडौं : सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्स एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेशलिस्ट पदमा काम गर्न काजमा खटाउने निर्णयसमेत गरेको जानकारी दिए।

त्यस्तै निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, सुर्खेतको साविकको लेखफर्सा, काफलकोट र लेखपराजुल गाविसहरूको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय, मेहलकुना, सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ।

प्रवक्ता कार्कीले नेपाली सेनाका प्रधान सेनापति, महारथी प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घर विदामा बस्ने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए।

त्यस्तै टाक्टोर–लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–२ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने र चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको बाँकी रहेको अध्ययन/प्रयोगात्मक अभ्यास/इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय बैठकले गरेको छ।

यस्तै आदिकवि भानु जन्मस्थल विकास समितिको अध्यक्षमा भानु–४ तनहुँका ऋषिराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्ति गर्ने निर्णय गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.