|
राजनीतिक खिचातानीले बन्द भएको हेटौंडा कपडा उद्योगले कामदार र कर्मचारीका छोराछोरी पढाउने विद्यालयको भवन। तस्वीर : श्रीजना नेपाल

हेटौंडा :कुनै वेला ‘हेटौंडा कपडा उद्योग’ यतिसम्म लोकप्रिय थियो कि त्यहाँ काम गर्ने कर्मचारीले पनि समाजमा छुट्टै सम्मान पाउने गर्थे।

हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउन देशभरका मान्छे उत्साहित हुन्थे।

हेटौंडा कपडा उद्योगले उत्पादन गरेको कपडा अझै पनि धेरैले भुल्न सकेका छैनन्।

कपडा उत्पादनको नेपाली औद्योगिक बजारमा कुनै वेला एकछत्र राज गरेको हेटौंडा कपडा उद्योग अहिले अवशेष पनि समाप्त हुने अवस्थामा पुगेको छ।

दुई दशकअघि पूरै बन्द भएको उद्योगको भौतिक संरचना जीर्ण अवस्थामा छ।

चीन सरकारको लगानी र नेपाल सरकारको स्वामित्वमा सञ्चालन भएको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको हो।

चीनको सहयोगमा २०३२ सालबाट निर्माण सुरु भएको उद्योग २०३५ सालबाट सञ्चालनमा आएको थियो।

१७ करोड लागतमा हेटौंडाको औद्योगिक क्षेत्रमा २४३ रोपनी जग्गामा फैलिएर बनेको हेटौंडा कपडा उद्योग अहिले एकादेशको कथा बन्न पुगेको छ।

जसलाई वेला वेला विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरूले राजनीतिक भाषण गर्ने वेला सुनाउने गरेका छन्।

प्रदेशका मुख्यमन्त्रीदेखि केन्द्रका उद्योगमन्त्रीसम्मको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ भन्ने कथन लोकप्रिय भाषण गर्ने विषय बनेको छ।

यथार्थमा भने कसैले पनि सञ्चालनमा ल्याउन सकेको छैन।

उद्योग स्थापना भएर सञ्चालन हुँदा ११ सय जनाले यसबाट रोजगारी पाएका थिए।

उद्योगले ११ सय जनालाई रोजगारी मात्रै दिएको थिएन, उनीहरूलाई घर बनाउने जग्गा, आवश्यक ऋण उपलब्ध गराउनुका साथै उद्योगमा काम गर्ने कर्मचारीका छोराछोरीलाई पढाउन विद्यालय नै सञ्चालन गरेको थियो।

आफ्ना कर्मचारीका छोराछोरी पढाउन विद्यालय सञ्चालन गरेको हेटौंडा कपडा उद्योगले स्कुल बससमेत राखेर त्यति वेलै बालबालिकालाई बसबाट विद्यालय ओसारपसार गर्थ्यो। अहिले ती बस उद्योग परिसरमा जीर्ण अवस्थामा छन्।

उसो त उद्योगमा काम गर्ने कर्मचारीका छोराछोरी पढ्न बनाइएको विद्यालयको अवस्था पनि दुःखदायी छ।

दुई तलाको लामो कोठैकोठाले भरिएको भवनमा यति वेला घाँस, झार र लेउ उम्रिएको मात्रै छैन, जीर्ण भएर पूरै भत्किने अवस्थामा पुगेको छ।

झट्ट हेर्दा त्यो भवन विद्यालय सञ्चालन गर्न होइन भूत्याहा फिल्म बनाउन निर्माण गरिएको जस्तै देखिन्छ।

उद्योगको अवस्था पनि उस्तै छ। दुई दशकदेखि बन्द भएको उद्योग हालसम्म सञ्चालनमा नआउँदा त्यहाँको मेसिनमात्रै होइन भवन नै कमजोर बनिसकेको छ।

वर्षौदेखि नखुलेको उद्योगभित्र करोडौंका मेसिन काम नलाग्ने अवस्थामा पुगेका छन्।

किन भयो उद्योग बन्द ?

सुरुमा एक सिफ्टमा मात्रै सञ्चालन भएको उद्योग विस्तार हुँदै जाने क्रममा २०३८ सालबाट दुई सिफ्ट र २०३९ सालबाट ३ सिफ्टमा सञ्चालन हुन थाल्यो।

३ सिफ्टमा पूर्ण सञ्चालनमा आएको उद्योगले वार्षिक कोरा कपडा १ सय १० लाख मिटर, २ सय ५० मेट्रिक टन सुती कपडा र सोही परिमाणमा बुट्टेदार र सेता कपडा उत्पादन गर्थ्यो। 

उद्योगले उत्पादन गर्ने कपडा राम्रो र गुणस्तरीय हुनुका साथै नेपालमै उत्पादन भएकाले निकै लोकप्रिय थियो।

तर सरकारी स्वामित्वमा रहेको उद्योगमा विस्तारै राजनीतिक हस्तक्षेप बढ्दै जाँदा नेपाललाई कपडा उत्पादनमा पूर्ण आत्मनिर्भर बनाउने लयमा दौडिरहेको उद्योग बन्द नै हुन पुग्यो।

उद्योग दक्ष कर्मचारीभन्दा पनि राजनीतिक दलका कार्यकर्ता भर्ती स्थल बन्दै गएपछि बन्द हुन पुगेको सरोकारवालाहरूको भनाइ छ।

राजनीतिक पहुँचको आधारमा आवश्यकताभन्दा बढी कर्मचारी भर्ती गर्नु, कर्मचारीका रूपमा कार्यकर्ता भर्ती गर्नु र भर्ती भएका कार्यकर्ता काम छोडेर राजनीतिक आन्दोलनमा होमिनुले उद्योग बन्द हुने अवस्थामा पुग्यो।

स्थापनाको १९ वर्षसम्म घाटामा नगएको उद्योगमा २०५४ सालबाट भएको कर्मचारी आन्दोलन, राजनीतिक आस्थाका आधारमा व्यवस्थापक नियुक्ति र हस्तक्षेपले उग्र रूप लिन थालेपछि उद्योगमा आर्थिक समस्या सुरु हुन थाल्यो।

चालु पुँजी जुटाउन बैँकबाट ऋण लिनुपर्ने स्थितिमा पुग्यो, जसले गर्दा उद्योग घाटामा गयो।

३ वर्षसम्म उद्योग घाटामा भए पनि चल्यो तर निरन्तर घाटामा गएर उद्योग चल्नै नसक्ने अवस्था आएपछि २०५७ साल माघ १८ गते नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयले कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिई हेटौंडा कपडा उद्योग बन्दको घोषणा गर्‍यो।

उद्योग बन्द भएपछि सरकारले २०५८ मा निजीकरणको प्रयास सुरु गर्‍यो।

निजीकरणका लागि बोलपत्र आह्वान गरियो तर दुई पटकसम्म निकालिएको सूचनामा बोलपत्र परेन।

उद्योग पूर्ण रूपमा बन्द भएको ८ वर्षपछि २०६५ सालमा बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा उद्योग सञ्चालनका लागि ९ करोड रुपैयाँ बजेटसमेत छुट्याए तर उद्योग सञ्चालन भने गर्न सकेनन्।

त्यसपछि हालसम्म पनि उद्योग सञ्चालनका लागि सरकारले समितिहरू गठन गर्ने र अध्ययन गर्ने काम गरे पनि सञ्चालनमा भने ल्याउन सकेको छैन।

जसले गर्दा सरकारले २०६९ माघ १२ मा उद्योगलाई खारेज गर्दै हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई मूल्यांकन स्वीकृत गर्दै लिलाम गर्ने अधिकार दियो। 

सरकारले लिलाम गर्न दिएको अधिकार सदुपयोग गर्दै कार्यालयले प्लान्टिनरी मेसिनको ८ करोड १४ लाख २७ हजार ६५० रुपैयाँ र भवन तथा भौतिक पूर्वाधारको ८ करोड १२ लाख २५ हजार रुपैयाँमा मूल्यांकन गरेको लिमिटेडका व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए।

उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापनले हेटौंडा कपडा उद्योगको कुल १६ करोड २६ लाख ५१ हजार ८१० रुपैयाँ लिलामी मूल्य मूल्यांकन गरे पनि पछि सरकारले उद्योग पुनः सञ्चालन गर्ने भन्दै लिलामी रोक्यो।

त्यसयता सरकारले कार्यालयलाई उद्योग लिलाम वा बिक्री गर्ने अधिकार दिएको छैन।

विभिन्न कालखण्डमा मन्त्रीहरू आएर उद्योग सञ्चालन गर्ने भन्दै अनुगमन गरेर गए पनि सञ्चालन गर्न नसकेको उनको भनाइ छ।

कँडेलका अनुसार १० वर्षअघि गरेको मूल्यांकनअनुसार अहिले उद्योगले त्यति पनि लिलाम रकम पाउन सक्दैन।

उद्योग भवन र त्यहाँका मेसिनहरू जीर्ण भइसकेकाले उद्योगले लिलाम हुँदा पनि राम्रो पैसा पाउने अवस्था छैन।

कँडेलले अहिलेको अवस्थामा हेटौंडा कपडा उद्योगलाई सञ्चालनमा पनि ल्याउन नसकिने बताए।

उनले भने, 'विगत २१ वर्षदेखि बन्द भएको उद्योगको मेसिनका साथै भवन नै स्तरोन्नति गर्नुपर्ने अवस्था भएको र पुरानो मेसिनले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा त्यसलाई मर्मत गरेर पनि सञ्चालनमा ल्याउन सकिँदैन।'

कँडेलका अनुसार उद्योगमा भएको मेसिनहरू मर्मत गर्न चीनबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता पनि छ।

कँडेलका अनुसार हाल उद्योगको २४३ रोपनीमध्ये ५५ रोपनी जग्गा लिमिटेडले अन्य उद्योग सञ्चालनका लागि भाडामा दिएको छ।

उद्योग सञ्चालनमा पनि नआउने र ठाउँ मात्रै ओगटेर बसिरहने हुँदा नयाँ उद्योग पनि सञ्चालनमा आउन नसकेको उनको भनाइ छ।

हाल उद्योग रहेको १ सय ८८ रोपनी जग्गामा अन्य साना तथा मझौला करिब एक दर्जन उद्योग सञ्चालनमा आउन सक्छन् तर हेटौंडा कपडा उद्योगले ठाउँ खाली नगर्दा नयाँ उद्योग सञ्चालन गर्ने स्थान पाइरहेका छैनन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.