पैसा बुझाएको ८ महिना भयो, प्राधिकरणले पठाएन पोल र ट्रान्सफर्मर

|

धनकुटा : धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले पानी लिफ्टिङ गर्न नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफमर र पोल खरिदका लागि शुल्क बुझाएको ८ महिना हुँदासमेत काम भएको छैन।

धनकुटाको चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रूपैयाँ बुझाएको थियो।

यस्तै चौविसे गाउँपालिका–५ को बोधे बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २ सय ५५ रूपैयाँ प्राधिकरणलाई बुझाएको थियो।

गत जेठमा रकम बुझाए पनि अहिलेसम्म प्राधिकरणले ट्रान्सफर्मर र पोल नदिएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष भूमिराज देवानले बताए।

उनले नेपाल विद्युत प्राधिकरण धनकुटाका कुरा गर्दा जहिले पनि 'एक सातामा आउँछ' भनेर टार्ने गरेको जानकारी दिए।

बोधे र मौनाबुधुकमा खानेपानीको हाहाकार भएपछि ४ वर्षअघि दुवै खानेपानी आयोजनाको काम सँगसँगैजस्तो शुरु भएको थियो।

हाल उक्त आयोजनाको काम प्रदेश सरकारअन्तर्ग​त खानेपानी डिभिजन कार्यालय धनकुटाले हेर्दै आएको छ।

खानेपानी डिभिजन कार्यालयबाट सबै काम सकिएको र प्राधिकरणमा रकम बुझाएको ८ महिनामा समेत उपकरण नपाएपछि पीडामाथि पीडा भएको मौनाबुधुक लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष नरहाङ लिम्बुले बताए।

उनले मौनाबुधुक खानेपानी आयोजना सञ्चालन भएपछि करिब ५ सय घरधुरी लाभान्वित हुने बताए। 

विद्युत प्राधिकरणले लापरवाही गर्दा काकाकुल बनेका स्थानीयलाई पीडामाथि पीड थपिएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष देवानले बताए।

उनले बोधे खानेपानी सञ्चालन हुँदा करिब ६ सय घरधुरी लाभान्वित हुने जानकारी दिए।

‘विद्युत प्राधिकरण जिल्ला शाखा धनकुटाको खातामा गएको जेठ महिनामा लाइन विस्तारका लागि आवश्यक रकम बुझाइसकेका छौं,’ उनले भने, ‘प्राधिकरणले काम अगाडि नबढाउँदा लिफ्ट खानेपानी योजनाको सबै काम रोकिएर योजना सञ्चालन गर्न पाइएन।’

तत्काल काम गर्न ज्ञापनपत्रसमेत बुझाए पनि प्राधिकरणले बेवास्ता गरेको देवानको गुनासो छ।  प्राधिकरणले बोधे र मौनाबुधुकको लागि आएको पोल हिले पठाएको गुनासो उनले गरे।

नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलले रकम जम्मा भएको ८ महिना भएपनि प्राधिकरणमा अहिलेसम्म पोल र ट्रान्सफर्मर नआएकाले काम नभएको जिकिर गरे।

उनले पोल र ट्रान्सफर्मर धनकुटामा मात्रै नभइ कतै पनि नभएको बताउँदै धनकुटामा खानेपानी, सडक, टेलिकमका धेरै काम रोकिएको बताए।

पैसा जम्मा भएको तर पोल र ट्रान्सफर्मर अभावले धेरै काम रोकिएको उनले बताए।

‘५०/६० वटा आएको पोल हिलेमा सडक मर्मतमा समस्या आयो भनेर पठाएको हो’, पोख्रेलले भने, ‘अब आउँदैछ त्यो भने बुधुक र बोधेको खानेपानीकै लागि पठाउने हो।’

चौबिसेमा खानेपानीको समस्या छ भन्ने थाहा भएपनि सामानै नभएर काम गर्न नसकेको पोख्रेलले बताए। उनले पुसभित्र काम गर्न पहल गरिरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.