|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटाले अपराजित यात्रा कायम राख्यो। संकटा आठौं खेलमा पाँचौँ बराबरी खेल्न बाध्य भयो।

जारी सिजन अपराजित रहेको संकटा सातदोबाटोलाई पराजित गर्दै उपाधि होडमा फर्कने लक्ष्यमा थियो। यद्यपि बराबरीले उसलाई केही धक्का लागेको छ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिँदा पहिलो हाफको नतिजा नै दोस्रो हाफमा कायम रह्यो।

पहिलो हाफमा गोलरक्षकले गरेको गल्तीमा सुरुवाती अग्रता बनाएको सातदोबाटोले आफ्नो अग्रता लामो समय टिकाउन सकेन।

सातदोबाटोले २६ औं मिनेटमा संकटाका गोलरक्षक राजाबाबु  थापाले गरेको गम्भीर गल्तीको फाइदा उठाएको थियो।

डिफेन्डर निरज बस्नेतको ब्याकपासलाई सहज क्लियर गर्न नसक्दा थापा लड्न पुगेका थिए। उनले मुस्किलले क्लियर गर्न खोजेको बल सुशील राईको चेस्टमा लाग्दै गोल भएको थियो।

४ मिनेटपछि नै सातदोबाटोले अर्को सुन्दर मौका चुकायो। सुदीप गुरुङको प्रहार बारमा लागेर फर्किदा सातदोबाटोले अग्रता दोब्बर बनाउने अवसरबाट वञ्चित भएको थियो।

त्यसअघि खेलमा दबाब भने संकटाले बनाएको थियो। जसका कारण उसले ३२ औँ मिनेटमा खेल बराबरी गर्‍यो।

दीपेश आले मगरले दिएको पासलाई जय गुरुङले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए। संकटा खेलमा फर्किने क्रममा जय गुरुङले दोस्रो बार च्यापेर गरेको लङ प्रहार सीधै गोलमा परिणत भएको थियो।

दोस्रो हाफमा पनि दुबै टोलीले केही अवसर सिर्जना गरे पनि खतरनाक अवसर भने सिर्जना गर्न सकेनन्। सातदोबाटोले दोस्रो हाफको सुरुवातमै लगातार दुई प्रहार गरे पनि गोलरक्षक राजुबाबुले बचाए।

बराबरीसँगै संकटाले जारी सिजन ८ खेलमा पाँच बराबरी र ३ जित सहित १४ अंकका साथ अपराजित रहँदै तेस्रो स्थानमा कायम छ। सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौँ स्थानमा आफूलाई कायम राख्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.