|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलमा बनिरहेको वडा कार्यालय भवन निर्माणमा अवरोध गरेको भन्दै शुक्रबार वडावासी आन्दोलित भए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि भवन बनाउन पाउनुपर्ने माग गर्दै वडाका बासिन्दा नगरपालिकाको कार्यालय पुगेका हुन्।

आन्दोलित स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।

नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो। 

वडा नम्बर ६ का अध्यक्ष जगता रानाले वडाको भेला आयोजना गरी वडा कार्यालय निर्माणका लागि जग्गा छनोट गरिएको बताए।

‘जग्गा स्थानीय बासिन्दाले वर्षौंदेखि संरक्षण गरिराखेका हुन्,’ उनले भने, ‘वडा भेलापछि नगर कार्यपालिकाको कार्यपालिका बैठकले भवन निर्माणका लागि नीतिगत रुपमा स्वीकृति दिएको हो।’

 माटो परीक्षण, डिपिआर तयार गरेसँगै वातावरण प्रभाव मूल्याङ्कनलगायत काम पूरा गरेपछि भवन निर्माण शुरु गरिएको उनले बताए।

निकुञ्ज कार्यालयले केही व्यक्तिको उक्साहटमा मध्यवर्ती क्षेत्रमा जग्गा पर्ने भएकाले भवन बनाउन अवरोध गर्दै आएको उनले आरोप लगाए।

नेपाली काँग्रेसका नगर सभापति दानबहादुर ऐरले वडा कार्यालय भवन निर्माण शुरु गरिसकेपछि अवरोध गर्न नहुने बताए।

‘वडा कार्यालय भवन निर्माण भैरहेको क्षेत्र निकुञ्जभित्र पर्दैन,’ उनले भने, ‘निकुञ्जको कुनै हानी नोक्सानी पनि गरिएको छैन। अब अवरोध गरिए निकुञ्जविरुद्ध नै आन्दोलनमा स्थानीय बासिन्दा उत्रिनेछन्।’

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सह-महामन्त्री चिन्तामणि भट्टले अगाडि बढिसकेको कार्यालयको भवन निर्माणमा अवरोध गर्न नहुने बताए।

जनतालाई घरदैलोमै सेवा दिनका लागि सरकारले वडा कार्यालय भवन निर्माण गर्दा अर्को सरकारी कार्यालयले अबरोध गर्नु नहुने उनले बताए।

नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउनेबारे सोधेको प्रश्नको जवाफ पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताए।

निकुञ्ज प्रमुखलाई नगरपालिकामै बोलाएर छलफल गरी निर्माणको अवरोध हटाइने उनले बताए।      

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.