|

सुर्खेत : राष्ट्रिय योग दिवसका अवसरमा सुर्खेतका वृद्धवृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको छ। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा रहेका वृद्ध–वृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको हो। 

आश्रममा रहेका २४ जना वृद्ध-वृद्धा र ३ जना सहयोगी कर्मचारी गरी २७ जनालाई ३० थान न्यानो कपडा (कम्बल) र आयुर्वेद औषधि वितरण गरिएको निर्देशनालयकी आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले बताइन्।

उनका अनुसार वृद्ध–वृद्धाहरूका लागि जिउ दुख्‍ने र खोकी लागेमा प्रयोग गरिने औषधि र फलफूल पनि वितरण गरिएको छ।

उक्त सामग्रीहरू स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काले वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। डा. खड्काले सामग्री हस्तान्त्रण गर्दै कोभिड १९ को तेस्रो भेरियण्ट बढ्दै गइरहेकोले सबैले सावधानी अपनाउन सुझाव दिए।

तेस्रो भेरियण्टका कारण योग दिवसका अवसरमा सभा तथा विभिन्न योग सम्बन्धिका क्रियाकलाप गर्न नपाइने भएकाले आश्रममा रहेका वृद्ध–वृद्धाहरूलाई न्यानो कपडा तथा औषधि वितरण कार्यक्रम राखिएको हो।

सोही अवसरमा वृद्धाआश्रमका उपाध्यक्ष शीतलसिंह राठौरले आश्रममा रहेका वृद्ध–वृद्धाहरुले नियमित योगका विभिन्न आसनहरू गर्ने गरेको जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.