‘निर्वाचनबाट प्रचण्ड-माधवको पार्टी आइसोलेसनमा, देउवाको क्वारेन्टाइनमा पुग्ने देखियो’

|

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूमाथि कटाक्ष गरेका छन्।

प्रेस चौतारी कास्कीद्वारा आयोजित राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आयोजक कमिटी घोषणा तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति व्यङ्ग्य गरेका हुन्। 

नेता बस्नेतले भने, ‘अहिले कमरेड ‘प्रचण्ड’ र कमरेड माधव नेपाल कोरोना संक्रमणले अहिले आइसोलेसनमा हुनुहुन्छ। प्रधानमन्त्रीज्यू क्वारेन्टाइनमा हुनुहुन्छ। यसपालिको कोरोनाले के सन्देश दिएको छ भने आगामी चुनावमा ‘प्रचण्ड’ र माधव आइसोलेसनमै राख्ने र शेरबहादुर देउवाजीको पार्टीलाई क्वारेन्टाइनमा राख्ने देखियो।’

कोरोनाको संकेतअनुसार नेकपा एमाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने भएकाले त्यसको तयारीमा लाग्न युवाहरूलाई निर्देशन दिए। माधव नेपाल र झलनाथ खनालले पार्टी फुटाउन ठूलो प्रयास गरे पनि सानो टुक्रा मात्रै लिएर गएको बताए। 

दक्षिणपन्थी अवसरवादबाट युवा आन्दोलनलाई बाहिर राखेर काम गर्नुपर्ने बताए। पार्टीलाई संकट परेका वेला राष्ट्रिय युवा संघले सशक्त ढंगले काम गरेको उनले स्मरण गरे। 

‘केपी ओलीले राम्रो काम गरेको देख्न नसकेको शक्तिले अन्तरराष्ट्रिय स्तरदेखि न्यायपालिकामा समेत सेटिङ गरेर परमादेशबाट हटायो। ओलीलाई पानी परेको वेला उहाँले गर्नुभएको उपलब्धिको स्वागत गर्दै बालकोटसम्म पुर्‍याएको थियो’‚ उनले भने। 

ओली सरकारले चुच्चे नक्सा सार्वजनिक गर्ने वेला तीव्र जनदबावका कारण कांग्रेसले बाध्य भएर समर्थन गरेको आरोप लगाए। 

उनले भने, ‘गठबन्धन सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्न सकेको छैन। चुच्चे नक्सा जारी गर्ने क्रममा जनदबावका कारणले कांग्रेसले पछिल्लो सेटमा बसेर संविधान संशोधनमा समर्थन गरेको थियो। अहिले आफ्नो भूमि आफ्नो भन्न सकेको छैन। अहिले जनताले सरकार खोजिरहेका छन्।’

कोरोना तीव्र रूपमा फैलिरहेका वेला सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाए।  

‘ओमिक्रोन फैलिरहेका वेला सरकार काम गर्न सकेको छैन। ओली सरकारले ल्याएको खोप लगाएर दोस्रो चरणमा धेरै समस्या परेन। पूर्वतयारी केही छैन। ओली सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक तयारी गरेको थियो’‚ उनले भने। 

बस्नेतले गठबन्धनको देउवा नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन नगर्न खोजेको आरोप लगाए। 

‘ओली सरकारलाई प्रतिगामी सरकार भनियो। संसद् अब काम लाग्दैन प्रचण्ड र माधवले पार्टी फुटालेपछि निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनियो’‚ उनले भने, ‘निर्वाचन आयोगले स्थानीय चुनाव तयारी नथाले नभ्याउने बताइरहेका वेला सरकारले आफ्नो कार्यकर्तालाई प्रमुख बनाएर पठाउनकै लागि चुनाव नगर्ने रणनीतिमा लागेका छ।’

०५९ सालमा पनि देउवाले नै कर्मचारीतन्त्र बनाएको हुनाले फेरि त्यही बाटोमा जान खोजेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.