एकै महिनामा ७७ हजारले लिए श्रम स्वीकृति

|
फाइल तस्बिर

काठमाडौं : विश्वभर कोरोना भाइरस कोभिड-१९को नयाँ भेरियन्ट फैलिए पनि रोजगारीको खोजीमा देश छोड्नेको संख्या घटेकाे छैन। महामारीको जोखिम कायमै रहँदा पनि राेजगारीकाे खाेजीमा विदेश जाने युवाहरू एकै महिनामा पनि करिब लाख नजिक छन्।

वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ७७ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। सो संख्या कोरोना भाइरस संक्रमण यताकै सबैभन्दा उच्च हो। विभागका अनुसार वैदेशिक रोजगारीका लागि मंसिरमा ७४ हजारले श्रम स्वीकृति लिएका थिए।  

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख रमेश अर्यालका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या पुस महिनामा ७७ हजार पुगेको छ। साेही अवधीमा अघिल्लो वर्षको पुसमा भने १४ हजार ७ सय ५३ जनाले मात्रै श्रम स्वीकृति लिएको विभागले जनाएको छ।  

विभागका अनुसार साउनदेखि पुससम्म तीन लाख सात हजार युवाले श्रम स्वीकृति लिएका छन्। २७ पुससम्मको तथ्यांक हेर्दा दैनिक साढे २८ सयले श्रम स्वीकृति लिएको प्रमुख अर्यालले बताए। कोरोनाविरुद्धको खोप सहज भएपछि नेपालबाट रोजगारीका लागि जान श्रम स्वीकृति लिने युवाको संख्या बढेको हाे।

फेरि कोरोनाको तेस्रो लहर सुरु भएका कारण श्रम स्वीकृति लिनेको संख्या घट्नसक्ने आँकलन गरिएको छ। पछिल्लो समय रोजगारदाता कम्पनीले धमाधम श्रम सम्झौता रद्ध गरिरहेका छन्।​

ताहाचल कार्यालयका अनुसार राजधानीसहित देशभरका सातवटा श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था भएका कारण श्रमिकलाई सेवा लिन सहजसमेत भएको छ।

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ।

श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको कार्यालयले जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.