|

काठमाडौं : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १ सय ३५ भन्दा बढी युवालाई लोकबाजा बजाउन प्रशिक्षण दिएको छ।

प्रतिष्ठानले उनीहरूलाई २ साताको बाग्मती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण दिएको हो।

पुस १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई साता ७ वटा लोकबाजा प्रशिक्षण राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरी समापन गरिएको हो।

कार्यक्रममा प्रशिक्षार्थीले प्रशिक्षणका दौरान सिकेको कला प्रस्तुत गरेका थिए।

प्रस्तुतिपछि साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न कारणले नेपालको लोक संस्कृतिको दस्तावेज तयार गर्न राज्यपक्ष पछि परेको बताए।

उनले देशजत्तिकै संस्कृति पनि महत्वपूर्ण हुने र संस्कृति खरानी भए नेपाली पनि बाँकी नरहने बताए।

संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले युवा पुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचना प्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोक संस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरता पाउनुपर्ने बताए।

प्रशिक्षार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै राईले वरिष्ठ संगीतविज्ञबाट सांगीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वय गरी कार्यक्रम संचालन गरिएको बताए।

उनले मौलिक लोकबाजालाई मूलधारको व्यावसायिक सङ्गीतसँग जोड्न, लोक सङ्गीतको स्वरलिपी तयार गरी, त्यसका आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादक तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षण सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

साथै माघको दोस्रो साता सर्लाहीको हरिवनमा ढोलक तथा मादलको प्रशिक्षण सञ्चालन हुने जानकारी पनि उनले दिए।

१ सय ३५ जनाभन्दा बढी युवा प्रशिक्षार्थीले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजाबारे प्रशिक्षण लिएका थिए।

च्याब्रुङ बजाउन यासेली योङहाङ, ढोल बजाउन दीपेश राई, धिमे बजाउन नरेश प्रजापति, तुङ्ना र डम्फु बजाउन छेवाङ तेन्जिङ लामा, बाँसुरी बजाउन गोपालनाथ घतानी, सारङ्गी बजाउन भरत नेपाली र तालवादन गर्न भरत बुढाथोकीले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण प्रभावकारी बनाउन लोकबाजासम्बद्ध सामुदायिक संस्थाहरू किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापतिखलसँग आवश्यक परामर्शसहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी, बाजा बन्ने र बनाउने तरिका तथा सुर मिलाउने तरिका, पूर्वीय तथा पश्चिमी संगीतको प्रारम्भिक ज्ञान, मेट्रोनममा वाद्यवादन अभ्यास सुरुवात, बाजाअनुसारको संगीत संयोजन गरि त्यसैअनुसार अभ्यास, सुर ताल र बोल स्वरलिपीमा लेखन अभ्यास, संगीत संयोजनबारे जानकारी, सामूहिक वादन विधि तथा अभ्यास, व्यावसायिक वाद्यवादक बन्न हुनुपर्ने पूर्वाधार ज्ञान, अन्य बाजासँग संमिश्रण गर्ने अभ्यास तथा प्रदर्शन, आधुनिक प्रविधि तथा रेकर्डिङलगायत विविध विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण दिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.