|

काठमाडौं : कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सरकारी कार्यालयका सेवा प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रभावित भएको हो।

काठमाडौं जिल्ला प्रशासनका १५ जनामा कोरोना पुष्टि भएपछि आजैबाट अत्यावश्यक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए।

उनले थाहाखबरसँग भनिन्, ‘प्रशासनका ५० प्रतिशत कर्मचारीमा संक्रमण देखिएको छ, १८ जनाभन्दा बढी कर्मचारीमा लक्षण देखिएर परीक्षणकै क्रममा छन्।’

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालसमेत संक्रमित भएर होम आइसोलेसनमा बसेका छन्।

ललितपुर प्रशासन कार्यालयले पनि भोलि बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएको छ।

‘प्रशासनका ४ जना कर्मचारीमा संक्रमण पुष्टि भइसक्यो, अन्य ४-५ जनामा लक्षण देखिएको छ।’ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने
'अन्य सेवा बन्द भए पनि शान्ति सुरक्षा, मुद्दासम्बन्धी र अत्यावश्वक सेवा रोकिँदैन।’

कर्मचारीमा कोरोना संक्रमण पाइएपछि काठमाडौं र ललितपुर प्रशासनको नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा स्थगित भएको छ।

यता, भक्तपुर प्रशासनले भने कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि बुधबार बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ।

‘पाँचजना कर्मचारीमा संक्रमण पुष्टि भएकाले हाम्रोमा पनि निकै व्यस्त हुने नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत फाँटका सेवा प्रभावित बनेको छ।’ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्
‘अन्य कर्मचारीहरूमा पनि लक्षण देखिएको छ। तर, अहिले हामीले सेवा स्थगित गरिसकेका छैनौं।’

संक्रमणको जोखिमलाई मध्यनजर गरी प्रशासनको सेवा प्रवाहलाई कसरी अगाडि बढाउने भन्ने कुरामा केही दिनमै छलफल गरेर सूचित गरिने शर्माले बताइन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.