|

काठमाडाैं : पुस २३ देखि सुनसरीको बर्जुमा आयोजित सांस्कृतिक महोत्सवको मुख्य आकर्षण थिए भोजपुरी गायक तथा मोडल खेसरीलाल यादव। 

महोत्सवको अन्तिम दिन माघ ४ गते दिनैभरि खेसरीलालको प्रस्तुति रहने भन्दै महोत्सवको व्यापक प्रचारप्रसार गरिएको थियो।

खेसरीलाललाई देख्नकै लागि मंगलबार मोरङ, सप्तरी तथा भारत बोर्डर आसपासका क्षेत्रबाट समेत हजारौँको संख्यामा मानिसहरू सुनसरीको बर्जु ताल पुगेका थिए। 

बिहान ११ बजे महोत्सवमा खेसरीलाल आउने आयोजकले बताएको थियो तर दिउँसो २ बजेसम्म पनि उनी नआएपछि उनलाई नै हेर्न पुगेका दर्शक आक्रोशित भए।

त्यसपछि बर्जु तालको खेल मैदान एकाएक रणभूमिमा परिणत भयो। 

सबै कामधन्दा छाडेर तोकिएको टिकट रकमभन्दा पनि बढी तिरेर महोत्सवमा गएका दर्शकले तोडफोड गर्न थाले।

सामान्य होहल्ला र धकेलाधकेलबाट आक्रोश पोखिरहेका दर्शकलाई शान्त बनाउन आयोजकले असफल प्रयास गरे तर, सकेनन्। 

मञ्च र दर्शकबीच बनाइएको बार भत्कियो। कुर्सी, साउण्ड सिस्टमदेखि स्टेजसम्म भत्काउन, भाँच्न, फुटाउन मिल्ने सबै कुरा भत्काइयो, भाँचियो, फुटाइयो, आगो लगाइयो। 

महोत्सवमा पुगेका खेसरीलालका ४ वटा गाडी (स्कोर्पियो) जलाइयो, उक्त टिमका कलाकारमाथि पनि हातपात भयो।

खेसरीलालको मात्रै डेढ करोडको नोक्सानी भएको बताइएको छ भने आयोजकको पनि लाखौँको सामान तोडफोड तथा आगलागी भएको छ।

खेसरीलाल उक्त महोत्सवमा नपुगेकाले यस्तो घटना घटेको हो।

महोत्सवकै लागि सोमबार राति पटनाबाट निस्केका खेसरीलाल मंगलबार बिहान ७ बजे कार्यक्रमस्थल नजिकको होटलमा आइसकेका थिए।

तर, प्रहरी प्रशासनले उनलाई कार्यक्रममा जान भने दिएन।

बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा भएको महोत्सव गर्न बर्जु गाउँपालिकाले अनुमति दिएको थियो।

तर, कोरोना संक्रमण दर बढ्दै गएपछि पुस २७ गते महोत्सव रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आयोजकलाई पत्र पठाएको थियो। 

जिल्ला प्रशासन कार्यालयले कार्यक्रम रोक्न आदेश दिएको कुरा न त्यहाँका जनतालाई बताइयो न खेसरीलाललाई।

अझ खेसरीलाल आउने भन्दै प्रचारप्रसार जारी नै राखियो। टिकट बेच्न रोकिएन। ​खेसरीलालका अनुसार उनलाई यो कुराको जानकारी दिइएको थिएन।

उक्त घटनापश्चात गरिएको पत्रकार सम्मेलनमा बोल्दै आफू निर्दोष रहेको उनले बताएका छन्। 

'दोषी न म हुँ न जनता हो, न यहाँको प्रशासन। यहाँको प्रशासनले कार्यक्रम रद्द गर्न भनिसकेको रहेछ, यो कुराको जानकारी मलाई दिइएन,' उनले भने, 'आयोजकले मलाई र जनतालाई एकसाथ गुमराह गरे। मलाई त यो टिकटवाला कार्यक्रम हो भन्ने पनि थाहा थिएन।'

'त्यहाँ मेरो झण्डै डेढ करोडको नोक्सानी भएको छ। ४ वटा त स्कोर्पियो नै जलाइयो। म जनतालाई त्यसको दोषी मान्दिनँ,' उनले भने। 

उक्त कार्यक्रम अनुमतिविना गर्न लागिएको र त्यहाँ खेसरीलालको सुरक्षाको जिम्मेवारी लिन नसक्ने भन्दै प्रहरीले उनलाई होटलमै रोकेको थियो। 

आफूले पहिले नै कार्यक्रम हुने ठाउँमा कोरोनाको अवस्थाबारे सोधेको र अनुमतिपत्र छ भनेपछि ओके भनेको उनले बताए। 

'म मनोरञ्जन गर्ने मान्छे हुँ, अहिलेसम्म जनतालाई दुःख दिने कुनै काम गरेको छैन। आयोजकले गर्दा मेरो छवि खराब भयो,' उनले भने, 'जनतालाई लाग्यो म आउँदै आइनँ तर म बिहान ८ बजेदेखि यहीँ होटलमा छु।'

आफ्नो मात्र नभएर सबै दर्शकको क्षतिपूर्ति आयोजकले तिर्नुपर्ने उनले बताएका छन्। 

'ठिक है', 'हार गया मेहरुक से', 'लहंगा लखनउवा', 'पागल बनाइवे' लगायत चर्चित भोजपुरी गीत गाएका खेसरीलाल भारतको विहार तथा नेपालका तराई क्षेत्रमा निकै लोकप्रिय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.