‘सधैँ बन्द गरेर हुँदैन, जोखिम कम भएका ठाउँमा खोल्न दिऔँ’

|
फाइल तस्बिर

काठमाडौं : सरकारले नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि संक्रमण नियन्त्रणमा लिन सबै शैक्षिक संस्थाको पठनपाठन माघ १५ सम्म बन्द गरेको छ।

संक्रमण घटेमा माघ १५ पछि विद्यालय खोल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना थियो।

तर, संक्रमण न्यून हुनुभन्दा पनि झन्‌‍झन्‌ उकालो लागेको छ। 

बुधबार ११ हजार ३ सय ५२ जना संक्रमित भेटिए। बिहीबार झनै बढ्यो, देशभर एकैदिन १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भयो।

माघ दोस्रो सातादेखि तेस्रो सातासम्ममा संक्रमितको संख्या दैनिक २० हजार पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ।

यसैगरी संक्रमण बढ्दै गए माघ १५ पछि पनि विद्यालय बन्द हुने निश्चितजस्तै देखिन्छ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले सबै परीक्षा स्थगित गरिसकेका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) की प्रवक्ता सुनिता नेपालले यसैगरी संक्रमण बढ्दै गए माघ १५ पछि पनि विद्यालय बन्द गर्नुपर्ने बताइन्।

‘ज्यानभन्दा पढाइ पक्कै ठूलो होइन, अहिले संक्रमण झन्‌ बढेको बढ्यै छ। त्यसैले संक्रमण कम भएन भने माघ १५ पछि पनि बन्द गर्नैपर्छ। शिक्षा मन्त्रालयले पनि त्यही सिफारिस गर्ला’‚ उनले भनिन्।

उनका अनुसार माघ १५ देखि २० गते ५ दिनका लागि बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेकाले देशभरकै विद्यालय खुल्नेछन् तर पठनपाठन भने हुने छैन।

निजीमा ६० प्रतिशत पढाइ, अझै बन्द भए पाठ्यक्रम सक्न कठिन

कोभिड संक्रमण दर घटेपछि गत कात्तिक–मंसिरबाट देशभरका विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गरेका थिए।

त्यसअघि वैकल्पिक विधिबाट पढाइ भए पनि प्रभावकारी नभएको अभिभावक र विद्यार्थी नै बताउँदै आए छन्। 

​भौतिक उपस्थितिमा भएको अध्यापन ३ महिना बित्न नपाउँदै स्कुल कलेज फेरि बन्द भएका छन्। त्यसैले वैशाखसम्म सबै कोर्स सकिनेमा शंका उब्जिएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीका अनुसार निजी विद्यालयमा करिब ६० प्रतिशत पाठ्यक्रम पढाइ सकिएको छ भने ४० प्रतिशत पढाउन बाँकी छ। 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले ०७८ को चालू शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म कायम गरी ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने योजना बनाएको थियो तर यसैगरी बन्द लम्बिँदै वैशाखसम्म कोर्स सक्न कठिन हुने अध्यक्ष पुरी बताउँछन्। 

‘सधैं स्कुल बन्द गरेर मात्र हुँदैन, स्रोतसाधन भएका स्कुलले अनलाइनबाट पढाउलान्, पढाइरहेका पनि छन् तर साधन नभएकाले सक्दैनन्। यस्ताे भएपछि कोर्स पूरा गर्न समस्या हुन्छ। त्यसैले विस्तारै संक्रमण कम भए कम असर गरेको ठाउँमा सरकारले स्कुल खोल्न दिनुपर्छ’, उनले भने।

पटक-पटक बन्द गर्दा विद्यार्थी पढ्नबाट वञ्चित हुने पनि उनले बताए।

​निजीमा मात्र नभएर सरकारी विद्यालयमा पनि अझै कोर्स सकिएको छैन।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार हालसम्म देशभर करिब ७०/७५ प्रतिशतमात्र कोर्स सकिएको छ।

पर्ख र हेरमा सरकार

वैशाखमा नयाँ शैक्षिक सत्र थाल्ने वा नथाल्नेमा सरकार अझै अन्योलमै छ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक पौडेल भन्छन्, ‘पढाउने समय त अझै बाँकी छ, कोरोना नबढे वैशाखसम्म सबै कोर्स सकिएला कि भन्ने हो, हेरौँ समयले कति साथ दिन्छ।’ 

लामो समयसम्म बन्द नै गर्ने परिस्थिति आए वैकल्पिक माध्यमबाट पढाएर पनि कोर्स सक्ने प्रयास गरिने उनले बताए।

केन्द्रको श्रव्यदृश्य शाखाले कोरोनाको पहिलो चरणमा इन्टरनेटको सुविधा नभएका ठाउँमा देशभरका २ सय १ सामुदायिक रेडियोबाट पठनपाठन सञ्चालन गरेको थियो। यसैगरी सिकाइ जारी राख्ने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.