|

काठमाडौं :  कोरोना भाइरसको  नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै  अनलाइन श्रम स्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार  कार्यालयले जनाएको छ। 

वैदेशिक रोजगारीमा जानेलाई सहज बनाउन सरकारले २ माघदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिन शुरु गरेको थियो।

कोरोना संक्रमण फैलिए पनि श्रम स्वीकृति लिनेको संख्या नघटेको कार्यालयले दाबी गरेको छ।

दैनिक १ हजारको हाराहारीमा अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले बताए।

यसअघि १ हजारभन्दा बढीले भौतिक रुपमै उपस्थित भएर श्रम स्वीकृति लिने गरेका थिए।

हाल कोरोना फैलिएसँगै भौतिक उपस्थित हुनेको संख्या घटेको हो। कोरोना महामारीमा अनलाइनबाटै पुनः श्रम सेवा दिने प्रमुख अर्यालको भनाइ छ।

वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति लिन सास्ती पाएको भन्दै अनलाइन सेवा सुरु गरिएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम स्वीकृति  छिटो, छरितो र  पारदर्शी र गुनासोरहित बनाउन निर्देशन दिएका थिए।  

पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत बुझाउनुपर्ने हुन्छ।

म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषका लागि १ हजार ५ सय रूपैयाँ शुल्क लाग्छ। 

जीवन बीमा र कल्याणकारी कोषसमेत गरी ३५ वर्षसम्मका लागि ५ हजार २ सय ८ रूपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि ५ हजार ४ सय ३१ रूपैयाँ र ५१ वर्षदेखि माथिका लागि १० हजार ९ सय ६३ रूपैयाँमात्र शुल्क तिर्नुपर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.