|

युक्रेन र रूसका बारेमा आफ्नो टिप्पणी अन्तरराष्ट्रियस्तरमा आलोचना भएपछि जर्मनीका नौसेना प्रमुख के-खिम श्योनबाखले शनिबार राति राजीनामा दिएका छन्।

भारतमा शुक्रबार आयोजित एक समारोहमा श्योनबाखले सन् २०१४ मा रूसमा विलय भएको क्रिमिया प्रायद्वीप युक्रेनले पाउन नसक्ने बताएका थिए।

उनले चीनको विरुद्धमा रूसको पक्षमा हुनु महत्त्वपूर्ण रहेको बताएका थिए। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘सम्मान’को हकदार रहेको पनि बताए। उनले युक्रेन संकटको बीचमा राष्ट्रपति पुटिनसँग सम्बन्ध बनाउन अनुरोध गरेका थिए।

उनको यो भनाइले युक्रेनलाई आक्रोशित बनायो। युक्रेनले आफ्नो असन्तुष्टि व्यक्त गर्न जर्मन राजदूतलाई बोलाएको थियो। यसपछि जर्मनीमा पनि श्योनबाखको पनि आलोचना भयो।

उनले शनिबार ढिलो राजीनामा दिँदै भने‚ ‘सोचविचार नगरी भनेको कुराको कारण जर्मनी र हाम्रो सेनालाई थप क्षति हुनबाट बचाउन राजीनामा दिएँ।’

पुटिनको प्रशंसा गरेपछि रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेक्टले कडा प्रतिक्रिया दिँदै श्योनबाखको राजीनामा मागेका थिए। 

जर्मन नौसेनाले विज्ञप्ति जारी गर्दै रक्षामन्त्रीले उनको राजीनामा स्वीकृत गरेको र नौसेनाका उपप्रमुखलाई अन्तरिम प्रमुख बनाएको बताएको छ।

जर्मन सरकारले युक्रेन र रूसी सैन्य विवादमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का सहयोगीहरूसँग एकजुट भएर उभिएको जनाएको छ।

उसले युक्रेनमा कुनै सैन्य कारबाही गरेमा रूसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। यद्यपि जर्मनीले युक्रेनलाई घातक हतियार आपूर्ति नगर्ने बताएको छ। युक्रेनलाई बेलायत र अमेरिका लगायतका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.