|

विराटनगर : प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ।

प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीमा कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए।

सिसी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन गरिएको समेत मन्त्री कार्कीले बताए।

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको बताउँदै उनले भने, ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ। प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी हामीले काम गरिरहेका छौँ।’

प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, अशक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानुनी सहायता केन्द्र स्थापना गरिने उनको भनाइ थियो।

सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने बताउदै मन्त्री कार्कीले केही महिनाभित्रै प्रदेशका अदालत तथा बारहरूमा प्रदेश सरकारका ऐन कानुन भेट्न सकिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.