|

बाँके : व्यवसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहियाका बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दंग भएका छन्।

‘गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ‚’ ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आएका उनले भने, ‘अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ।’

नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादवसहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ। कृषक पेन्सन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको ६ महिनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागु हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो। कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ।

कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्‍याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

‘गाउँपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ’, उनले भने, ‘परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो।’

गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन्। वडा नम्बर ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नम्बर २ का रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी वडा नम्बर १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेका छन्।

यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरा पालन गर्दै आएका वडा नम्बर ६ का अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पाल्दै आएका वडा नम्बर ५ का वलियासार यादव र वडा नम्बर २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन्।

वडा नम्बर ५ का हरिशङ्कर मुराउ, वडा नम्बर ४ का छोटेलाल राढ र वडा नम्बर ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन्। व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाई व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.