|
फाइल तस्वीर

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको छ।

सिसिएमसिसीको आज (शुक्रबार) बसेको बैठकले यसअघि कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै उपत्यकामा लगाएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको आलोचना भएपछि हटाउन सिफारिस गरेको हो।

बैठकले ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

उनका अनुसार सिसिएमसिसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।

सरकारले गत शुक्रबार काठमाडौं उपत्यकामा चल्ने सबै सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको छ।

यस्तै सरकारले भोलि माघ १५ गतेसम्म बन्द गरेको डान्सबार, सिनेमाघर, दोहोरीसाँझजस्ता मानिसको भीडभाड हुने व्यवसाय माघ मसान्तसम्म बन्द गर्न पनि सिसिएमसीसीले सरकारलाई सिफारिश गरेको छ।

विद्यालयहरू पनि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय भएको प्रवक्ता नेपालले थाहाखबरलाई जानकारी उनले दिइन्।

विश्वविद्यालयका परीक्षा भने भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सिसिएमसिसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.