|

झापा : वैदेशिक रोजगारीका लागि साउदी अरब गएका मेचीनगर नगरपालिका–७ आयाबासीका राजु थापा क्षेत्री तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्।

राजु सम्पर्कविहीन हुँदा घरका सदस्य बिचल्लीमा परेका छन्। राजु १० वर्षअघि साउदी अरब गएका थिए। तर, तीन वर्षदेखि सम्पर्कमा नरहेको उनकी श्रीमती मनकुमारीले बताइन्। उनले श्रीमानको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन्।

‘श्रीमान् घर खर्च त के पठाओस्, हाम्रो सम्पर्कमै हुनुहुन्न,’ मनकुमारीले भनिन्, ‘परिवार पाल्नै धौधौ परिसकेको छ। श्रीमानलाई खोज्न धेरै प्रयास गर्‍यौं, अहिलेसम्म उहाँ सम्पर्कमा आउनुभएको छैन।’

२०६८ सालमा श्रीमती, स–साना दुई छोरी र बिरामी भएका बुबा–आमालाई छाडेर राजु साउदी अरब काम गर्न गएका थिए। राजु विदेशमै भएका बेला सडक दुर्घटनामा परेर उनको बुबाको मृत्यु भएको थियो। उनी बुबाको काजक्रियामा पनि नआएको परिवारका सदस्यले बताइएको छ। अहिले ठूली छोरी १४ र कान्छी छोरी ११ वर्ष पुगेका छन्। ठूली छोरीको मानसिक सन्तुलन पनि ठिक छैन।

अहिलेसम्म जसो त्यसो मजदुरी गरी परिवार पाल्दै आएको मनकुमारीले बताइन्। अभिभावक नहुँदा निक्कै कठिनाइ भइरहेको उनको भनाइ छ। उनले पीडा पोखिन्‚ ‘मेरो कमाइले परिवार पाल्नु कि छोरी पढाउनु वा बुढी भएकी सासु र छोरीको औषधि उपचार गर्नु?’

राजुले पाँच वर्षअघि मात्र पहिलाको कम्पनी छाडेर अन्य कम्पनीमा गएको भनी घरमा जानकारी गराएका मनकुमारीले बताइन्। घर चाँडै फर्किन्छु भनेका उनी एकाएक बेपत्ता भएको मनकुमारीले सुनाइन्। 

पाँच धुर अर्काको जग्गामा घर बनाएर थापा परिवार अहिले बसेका छन्। घर व्यवहार चलाउँछु भन्दै ऋण काढेर छोरा विदेश गएको र उतै बेपत्ता भएको उनकी आमा दीपा थापाले बताइन्।

‘अलिकति भएको पैसा पनि छोरालाई खोज्दामै सकियो अब कसरी परिवार पाल्नु ठुलो चिन्ता थपिएको छ‚’ दीपाले भनिन्‚ ‘मर्ने बेलामा एक चोटी मात्रै भए पनि परदेशिएको छोराको मुख हेर्ने ठूलो इच्छा छ।’

छोरा जिउँदो छ कि मर्‍यो त्यो पनि थाहा नभएको उनले बताइन्। ‘छोरा सम्पर्कमा पनि आउँदैन। छोरीहरूले बुबा कहिले आउनुहुन्छ भनी सोधी राखेकी हुन्छिन्‚’ उनले भनिन्‚ ‘अब छोराको खोजीका लागि यो बुढेसकालमा कहाँ जानु र भएको सम्पत्ति पनि छोराको पर्खाइमा सक्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.