|

बैतडी : शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ। शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।

शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेको हो।

साथै शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाका बारेमा चर्चा समेत गरिएको छ।

उनले भने, ‘हरेक वर्ष धुमधामका साथ दिवस मनाउँथ्यौँ। यो वर्ष कोरोना भाइरसका कारण सीमित मानिसको उपस्थितिमा स्वास्थ्यका मापदण्ड अपनाएर श्रद्धाञ्जलि सभा आयोजना गरेर मनाएका छौँ।’

शहीद दशरथ चन्दको जन्मघर बैतडीको बस्कोटमा पनि शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले ०५१ सालबाट शहीद दिवस मनाउने गरेको छ।

स्थानीयस्तरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान स्थापना गरिए पनि यसलाई सरकारी प्रतिष्ठान बनाउने प्रयास अझै सफल हुन नसकेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष तेजप्रकाश भट्टले बताए।

उनले भने, ‘सरकारी प्रतिष्ठान बनाउनका लागि आफूहरूले पहल गरे पनि सरकारका तर्फबाट सकेको छैन, एकदिन मात्रै शहीदलाई सम्झेर उनीहरूका सपना पूरा हुँदैनन्। उनीहरूले खोजेको परिवर्तनलाई संस्थागत गर्न सरकारको सहयोग आवश्यक छ।’

यस्तै बैतडीको सदरमुकाम गढी खलंगामा रहेको दशरथ चन्दको शालिकमा पनि स्थानीय संघसंस्था तथा नागरिक समाजका व्यक्तिले माल्यार्पण गरी दिवस मनाएका छन्।

दिवसको अवसरमा शहीद चन्दको जन्मथलो दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.