|
तस्वीर : विकास डाँगी

दाङ : २०६५ साल चैत १४ गते घोराही उपमहानगरपालिका-७ सिसहनियामा उत्साहका साथ नमुना थारू ग्राम स्थापना भयो।

थारू समुदाय मात्र रहेको उक्त गाउँमा नमुना ग्राम स्थापना भएपछि थारुमात्र होइन आसपासका स्थानीयसमेत निकै खुशी भए।

लोप हुँदै गएको थारू कला संस्कृति जोगिने तथा प्रचारप्रसार हुने र गाउँमा पर्यटकहरू आउने, गाउँको विकास हुने भन्दै आफूहरू निकै खुशी भएको स्थानीय जनकलाल चौधरीले बताए।

तर, अहिले उक्त ग्रामको अवस्था देखेर उनी दुःखी देखिन्छन्।

जनकलाल भन्छन्, ‘हाम्रो ठाउँमा थारू नमुना ग्राम स्थापना भएपछि अब हामीहरूको कला संस्कृतिको संरक्षण हुने र यहाँको विकास हुन्छ भन्ने लागेको थियो। हामीले पनि निकै जोशजाँगरका साथ काम गरेका थियौँ। तर, जुन उद्देश्यका साथ स्थापना भएको हो। त्यो अहिलेसम्म पूरा नहुँदा दुःख लागेको छ।’

तत्कालीन जिल्ला विकास समिति दाङले करिब सवा ३ लाख रूपैयाँ खर्च गरेर थारू ग्रामको घोषणा गर्दै  ५ वटा नमुना घर बनाइएको थियो।

तर संघीयता लागू भएसँगै जिल्ला विकास समिति खारेज हुनु र ग्रामका लागि बजेट नआउँदा पनि अहिले सबै घरहरू जीर्ण बन्दै गएको जनकलालको ठहर छ।

उनका अनुसार अहिले ती घरहरू थोत्रिएका छन्।  छाना चुहिने, भित्ता मक्किएका र बेवारिस अवस्थामा पुगेका छन्।

अहिले जीर्ण रहेको थारू नमुना ग्रामको संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग छ।

जिविस दाङले स्थापना गरेको नमुना थारू ग्रामले पर्याप्त सहयोग नपाउँदा र सम्झौता कार्यान्वयन नहुँदा बजेट अभावमा जीर्ण भएको उनीहरु बताउँछन्। 

थारूबहुल सिसहनिया गाउँको दक्षिणतिर बबई नदी र छेवैमा सामुदायिक वन छ।

त्यसैको आडमा लस्करै बनाइएका छन्, थारू रहनसहन र परिवेश झल्कने उत्तर-दक्षिण फैलिएका घरहरू।

करिब ५ बिगाहा क्षेत्रफल थारू नमुना ग्रामको नाममा रहेको छ। बनाइएको थारू ग्राम भने करिब १ बिगाहामा फैलिएको छ।

जीर्ण स्वरुपमा उभिएका घरमा मिथिला शैलीसमेत झल्किने गरि बनाइएका विभिन्न कलात्मक जनावर र औजारहरू देख्न पाइन्छ।

तर, कला, सीप र संस्कृति कसरी जोगाउने भन्नेमा स्थानीय चिन्तामा छन् भने अतिक्रमण हुने र सार्वजनिक सम्पत्ति हराउने जोखिम बढेको छ।

शुरुको चरणमा थारू नमुना ग्राम स्थापना गर्ने वेला थारू समुदायको परम्परागत थारूघर, बालविकास केन्द्र, थारू संग्रहालय, उद्यानलगायत बनाउने सम्झौता भएपनि ती केवल सम्झौतामा सीमित हुँदा थारू नमुना ग्राम अलपत्र भएको थारू नमुना ग्रामका सञ्चालक समितिका अध्यक्ष बेझलाल चौधरीले गुनासो गरे। 

उनले थारू संस्कृति झल्काउने विभिन्न थारू नाचका लागि थारू वेषभूषा, मादल, खानेपानी, मोटरबाटो, सिँचाइ, विद्युत, जीवनशैली झल्कने औजार, सामान, पूजा गरिने देवी देवता तथा उठबसका क्रममा प्रयोगमा आउने वस्तु लगायतको व्यवस्था गर्ने सम्झौता भएको भए तापनि अहिलेसम्म यी काम नभएको गुनासो पनि गरे।

 

स्थानीयलाई मात्र नभइ वडाका जनप्रतिनिधिलाई पनि थारू ग्राम आर्थिक अभावका कारण जीर्ण बनिरहेको थाहा छ।

वडा नं ७ ले संरक्षणका लागि वार्षिक १ लाख बजेट छुट्ट्याउँदै आएको भएपनि त्यो रकम अपुग हुँदा संरक्षणमा समस्या भएको कार्यवाहक वडाध्यक्ष सुशीला चौधरीले बताइन्।

उनले शुरुमा गाउँमा थारू ग्राम स्थापना भएपछि ७ देशका विदेशी घुम्न आएको भन्दै वडाले विभिन्न ठाउँमा संरक्षण र विकासका लागि पहल गरेको भएयता पनि कतैबाट सहयोग नआएको बताइन्।

‘हामीले वडाका तर्फबाट सक्दो सहयोग गरेका छौँ,‘ उनले भनिन्, ‘तर वडाको सानो बजेटबाट संरक्षण र विकास गर्न पुग्दैन। हामीले धेरै ठाउँमा पहल गरेका थियौँ। तर, कतैबाट सहयोग पाएनौं।’

त्यस्तै उनले समितिले अग्रसर नहुँदा समस्या भएको पनि बताइन्। समितिका अध्यक्ष वृद्ध हुनुहुन्छ। अरु युवाले वास्ता नगर्दा पनि जीर्ण  बनेको उनको भनाइ छ।

यता घोराही उपमहानगरपालिकाले नमुना थारू ग्रामको विकासका लागि आव ०७७/७८ मा विस्तृत प्रतिवेदन डिपिआर तयार पार्न भन्दै ५ लाख बजेट विनियोजन गरेको थियो।

तर, डिपिआरको काम हुन नसक्दा बजेट फ्रिज भएको थियो। यो वर्ष भने उपमहानगरले बजेट छुट्याएको छैन।

उपमहानगर दिएको बजेट पनि कार्यान्वयन नहुँदा यस वर्ष त्यहाँका लागि बजेट नराखिएको उपमहानगरले जनाएको छ।

तर, त्यस ठाउँको विकासका लागि प्रदेश सरकारसँग पहल भइरहेको उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताए।

उनले नगरस्तरीय पर्यटन समितिको निर्णयअनुसार नै पिकनिक स्थल र होमस्टे सञ्चालन गर्न सिसहनियाँ छनोट गरेको बताए।

उपमहानगरले त्यहाँको संरक्षण र विकासको लागि बजेट छुट्ट्याएको भएयता पनि त्यहाँका स्थानीयले सक्रियता नदेखाएको उनको भनाइ छ। 

उनले अब स्थानीयलाई सक्रिय बनाएर काम अगाडि बढाउने बताए। त्यस्तै गएका दुई वर्षमा कोरोना महामारीले गर्दा पनि काम गर्न समस्या भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.