|

आफूविरुद्ध युद्ध गरेका कमान्डरले टर्च रिले गरेपछि भारतले शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने निर्णय गरेको छ। चीनमा शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु हुँदै छ।

अन्तिम समयमा भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भएका छन्। भारतीय विदेश मन्त्रालयले बिहीबार उद्घाटन र समापनमा सहभागी नहुने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ओलम्पिक उद्घाटनमा चीनले राजनीति गरेको आरोप लगाएका छन्।

२०२० मा भएको गलवान घाँटीमा भएको संघर्षका क्रममा सहभागी चिनियाँ सैनिक की फाबाओले बुधबार ओलम्पिक टर्चलाइट बोकेपछि भारत क्रुद्ध बनेको हो।

मिडिया रिपोर्टका अनुसार फाबाओ चीनको सेना यानी पीपुल्स लिबरेशन आर्मी (पिएलएमा रेजिमेन्ट कमान्डरका रूपमा रहेका छन्।

१५ जुन २०२० को लद्दाखको गलवानमा भएको संघर्षमा उनी गम्भीर घाइते भएका थिए। उक्त घटनामा भारतका २० सैनिकको मृत्यु भएको थियो भने चीनका चार सैनिकको ज्यान गएको थियो।

चीनले उनको बहादुरीलाई सम्मान गर्दै टर्चलाइट रिलेमा सहभागी गराएको थियो। उनले डिसेम्बरमा एक अन्तर्वार्तामा आफू फेरि युद्धका लागि तयार भएको बताउँदै आफ्नो एक इन्च पनि भूमि मिच्न नदिन अन्तिम साससम्म लड्न अझै तयार रहेको बताएका थिए।

अमेरिकाले यसअघि नै बेइजिङ ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने बताएको थियो। साथमा अस्ट्रेलिया, क्यानडा लगायतका देशले पनि कूटनीतिक बहिष्कार गर्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.