|

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो। त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले बिहीबार अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताए।

घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिरहाका अनिल मण्डलले लिम्बुको शव रहेको स्थान बताएपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली त्यहाँ पुगेको थियो। 

मण्डलले आफू बस्ने घरभित्रै लिम्बुको शव गाड्ने प्रयास गरेको पाइएको हो। मण्डलले त्यो एकतले घर भाडामा लिएका थिए। ९ दिनको फरकमा तीन व्यवसायीको हत्या भएको छ।  

मोरङमा शव भेटिएका दुईजनाको भन्दा पहिले नै लिम्बुको हत्या गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ।  मंसिर २८ गते लिम्बुको हत्या गरेपछि पुस ५ गते सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या र पुस ७ गते सप्तरीका शम्भु चौधरीको हत्या गरेको खुलेको हो।  मृतक तीनै जना व्यवसायी हुन्। उनीहरु एउटै समूहमा घरजग्गाको कारोबार गर्थे। कारोबारमा विवाद भएका कारण हत्या भएको आशंका गरिएको छ।

मण्डललाई अपराध महाशाखाले काठमाडौंबाट र अन्य  दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.