|

विराटनगर : अन्जु पन्तको स्वरमा रहेको आधुनिक गीतमध्ये श्रोताले रुचाएको लोकप्रिय गीत हो।

‘जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन,

फक्रिने र ओइलाउने टुङ्गो हुँदैन…।’

जुन गीत हरेक उमेर समूहले सुन्छ र गुनगुनाउँछन् पनि। आम जीवनले भोगेको भोगाइलाई चित्रण गर्दै शब्द भरेका खोटाङका राजन राईको यो गीतले गायिकालाई उचाइमा पुर्‍याएको छ तर गीतकार भने गुमनाम छन्।

संगीतका पारखीले खुबै गुनगुनाउने यो गीत राईले राजनीतिक संघर्षरत यात्राको दौडानमा रचेका थिए। जुन शब्दलाई तत्कालीन समयमा कोरेर सांगीतिक लयमा आकार दिन त्यति सहज थिएन।

‘कुनै पनि शब्द रचना गर्न सोचेझैँ सहज त हुँदैन। त्यसका लागि त्यहीअनुसारको समय, भोगाइ र भाव मिल्नुपर्ने रहेछ‚ शब्द यत्तिकै कहाँ फुर्छ र?'‚ उनले कुराकानीका क्रममा पोयो फुकाउँदै भने, 'मैले हरेक यात्रामा एकएक शब्द, एकएक हरफ फुराएको थिएँ। शब्दलाई गीतको पूर्ण आकार दिन भने लामो समय लाग्यो।'

उनी संगीतलाई यात्राको सारथिका रूपमा चित्रण गर्छन्

 ‘म जब लेख्न बस्छु‚ हरेक शब्दसँग रमाउँछु, विविध उल्झनलाई थाँती राखेर विश्राम लिन्छु’, राई भन्छन्, ‘म यसमा पनि प्रष्ट छु कि मेरा शब्दले उचाइ नापे पनि मलाई चिनेन भनेर दुखेसो पनि छैन। गीतकारको विशेषता नै पर्दा पछाडिको हिरो हो।'

स्कुल पढ्दाताका सुरु भएको राईको साहित्य लेखन आज पनि अनवरत रूपमा जारी छ। बाल्यकालदेखि राजनीतिक क्षेत्रमा रस भिजेको बताउने राई राजनीतिसँगै गीत, संगीतलाई एउटै लयमा लिएर यात्रा गरिरहेका छन्।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य समेत रहेका उनलाई कला साहित्यले नै राजनीतिसँग जोडेको सुनाउँछन्।

रोक्दा रोक्दै आँसु कतै पोखिन्छ

हिँड्दाहिँड्दै जिन्दगानी कतै  ठोकिन्छ .......।’ 

गफकै क्रममा गीतको दोस्रो अंश गुनगुनाउँदै उनले भने, ‘यो हरफ भने पार्टीको संगठन विस्तारको क्रममा हिँड्दै जाँदा खुट्टामा ठेस लागेपछि फुरेको हो।’

लेखकको शब्दले उनको जीवन भोगाइबारे प्रतिनिधित्व गर्छ भन्ने भनाइ रहे पनि गीतको शब्द जसरी कोरिएको छ‚ उनको जीवनमा भने दुःखद र वियोगान्त किस्सा नभएको उनी सुनाउँछन्।

गाउँमा जन्मिए उनी। तैपनि दुखको सामना गर्न परेन। आफ्नो भोगाइभन्दा पनि यात्रामा भेटिएका मानिसको भोगाइलाई अक्सर गीतको शब्दमा कोर्ने रुचाउँछन्‚ उनी। उनको बुवा ब्रिटिस आर्मीको गल्लावाल भएकाले अभाव र दुखको सामना गर्नुपरेको थिएन।

सात कक्षासम्म खोटाङमा अध्ययन गरेको उनी पढाइलाई थप निरन्तरता दिन काठमाडौँ धकेलिएका थिए।

स्कुले जीवनबाट नै साहित्य र संगीतमा रुचि रहेको उनलाई काठमाडौँको माटो र त्यहाँको परिवेशले थप निखार ल्याएको थियो।

राजनीति क्षेत्रमा स्वर्णिम सपना सजाएका उनलाई बुवा जस्तै ब्रिटिस आर्मी बन्न मनले दिएन। कलाकार बनेर कलाको गहिराइमा डुब्न पनि सधैँ रहर जागेन। उनी पूर्णकालीन राजनीतिक यात्रामा लागे।

उनी हुर्किरहेको समय देशमा राजनीतिक परिस्थिति कठिन थियो। उनले सुनेर र देखेका कतिपय विषयले नै उनलाई आफ्नो भविष्यबारे सोच्न  बाध्य बनाउँथ्यो।

राजनीति र सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएका राईले रचेका गीतहरूले श्रोता र दर्शकले मन पराए।

ब्रिटिस आर्मीविरुद्धको त्यो सांगीतिक विरोध  

बुबा ब्रिटिस आर्मीमा थिए। यसकारण उनलाई पनि आर्मी बन्नुपर्ने दबाब थियो। ब्रिटिसले नेपालीलाई धेरै सास्ती दिएका विविध कथनले पनि उनलाई ब्रिटिस आर्मीमा जाने इच्छा नलागेको उनी बताउँछन्।

उनको बुवा, दाजुभाइ लाहुरे भएकाले पनि उनलाई परिवारबाट ब्रिटिस लाहुरे नै बनोस् भन्ने थियो तर विदेशी भूमिमा  ब्रिटिस सरकारले गरेको विभेद  खेप्दै पसिना बगाउनुभन्दा आफ्नै देशको माटोमा केही गरौँ भन्ने भावले उनी ब्रिटिस आर्मीविरुद्ध सांगीतिक विरोधमा नै लागेका थिए।

‘जान्न मत गोर्खा भर्ती मलाया छाउनीमा पापी मरो कुइरेको देशैमा, यो गीतमा नाचेर ब्रिटिसविरुद्ध एक खालको आन्दोलन नै गरियो। यसले पनि मलाई भर्ती जान हुँदैन भनेर प्रेरित गर्‍यो',  गीत गुनगुनाउँदै उनले भने।

चर्चाको भोकले साँघुरिएको सांगीतिक क्षेत्र

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र जति फराकिलो बनेको छ चर्चा कमाउने भोकले त्यति नै साँघुरिदै गएको उनी बताउँछन्। विगतमा गीतको मिठास नै बेग्लै रहेको बताउने उनी पछिल्लो समय गीतमा मिठास हराउँदै गएको बताउँछन्।

सांगीतिक क्षेत्रमा थोरै व्यक्तिको सफलता र चर्चाले मात्रै पनि त्यस क्षेत्र फराकिलो नहुने उनको तर्क छ।

‘कतिपय अवस्थामा पछिल्लो समय भाइरल हुने लोभले शब्दलाई नै बिगारेर प्रस्तुत गरेको पाइन्छ’, उनी भन्छन्, ‘यसले सांगीतिक क्षेत्रलाई कुरूप बनाउँछ।'

जसले गीतमा समाज जोड्न कोसिस गरेका छन्, जसले गीतको मर्म बुझेका छन् उनीहरूले सृजनालाई सम्पत्ति ठान्ने उनले सुनाए। सांगीतिक क्षेत्रमा आएका विविध विकृति नसुध्रिए संगीतको क्षेत्र झन् साँघुरो बन्दै जाने उनले सुनाए।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.