|

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ शुभप्रभात टोल बस्ने सन्तोष पाण्डेयको घरका पाँचजनालाई विषालु केक खुवाई बेहोस बनाएर डेरामा बस्ने दुईजना व्यक्तिले लुटेका छन्।

पाण्डेका घरमा तीन दिनदेखि डेरामा बस्दै आएका दुईजना भारतीय जस्ता देखिने व्यक्तिले गरगहना, मोबाइल सेट, ल्यापटप लगायतका सामग्री लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

‘डेरामा बस्दै आएकाहरूले शुक्रबार राति ११ बजे आफ्नो जन्मदिन भएको जनाउँदै घरपरिवारका सदस्यलाई केक र मिठाई खान दिएका रहेछन्’, उनले भने, ‘परिवारका सबैजना बेहोस भएपछि गरगहनालगायत लुटेर फरार भएका छन्।’

शाहका अनुसार नशालु पदार्थसहितको केक खाँदा घरधनी सन्तोष पाण्डेय, श्रीमती कमला पाण्डेय, छोरी सोना पाण्डेय, छोरा सन्दीप र सुदीपलाई बेहोस बनेपछि उनीहरूले लुटपाट गरेका हुन्।

‘नशालु पदार्थ खुवाएर बेहोस भएका पाँचैजनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रगरमा उपचार भइरहेको छ। उनीहरू होसमा आइसकेका छन्।

अवस्था सामान्य रहेको छ’, प्रहरी नायव उपरीक्षक शाहले भने। दुवैजना लुटेराले आफू तरकारीको थोक बिक्रेता भएको भन्दै डेरा मागेका थिए।

सिसिटिभी फुटेजमा हेर्दा दुवैजनाले मास्क लगाएको र भारतीय जस्तो देखिएको प्रहरीको भनाइ रहेको छ। प्रहरीले दुवैजना लुटेराको खोजी भइरहेको जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.