|

समग्र नेपाली पत्रकारहरूको साझा संस्था मानिएको नेपाल पत्रकार महासंघ अहिले महाधिवेशनको संघारमा छ। महाधिवेशनकै क्रममा जिल्ला तथा अन्य शाखाहरूको चुनाव हुने क्रम जारी छ। यसै क्रममा पछिल्लो पटक देशकै राजधानी काठमाडौँको अधिवेशन भरखरै सम्पन्न भएको छ। सो अधिवेशनका क्रममा म आफैँ प्रत्यक्ष सहभागी भएर देखे/भोगेका यथार्थ यहाँ प्रस्तुत गर्नु उपयुक्त होला भन्ने ठानेको छु।

१) त्यस अधिवेशनमा, विशेषगरी चुनावका क्रममा म फिल्डमा खटिएको र धेरैले के हो? र कस्तो हो? भनेपछि उक्त चुनावबारे छोटो समीक्षा गर्न बाध्य भएँ। 
चुनावमा हार जीत स्वाभाविक हो। तसर्थ, नेपाल पत्रकार महासंघ काठमाडौँमा नवनिर्वाचित प्रेस सेन्टरका तर्फबाट खुला उपाध्यक्ष सूर्य सुवेदीसहित गठबन्धनका पाँच कार्यसमिति सदस्य तथा विपक्षी प्यानलका अध्यक्ष शन्तराम बिडारीसहितको सिंगो नवनिर्वाचित टिमलाई सर्वप्रथम बधाई दिन्छु।

२) यस चुनावमा दुःखको कुरा के हो भने हामीले लोकतान्त्रिक पद्धतिको जति ढर्रा गरे पनि नेपाल पत्रकार महासंघको चुनावमा समेत जनदिशा शाखा र रेडियो मिर्मिरे शाखाबाट सदस्यता हस्तान्तरण गरेका २२ जनाको सदस्यता रोकेर उनीहरूको मताधिकार हनन् गरियो। रोस्टरमा रहेका पाँच जनालाई ललितपुर सारियो र नवीकरण छुटेको भन्दै अन्तिम नामावलीमा छ जनाको नामावली थपियो। त्यसैले यो सम्पूर्ण परिणामको अपजस महासंघका केन्द्रीय अध्यक्ष र महासचिवलाई पनि छ। तर, उहाँहरूलाई बधाई दिनुभन्दा अघि म उहाँहरूमाथि नैतिकताको प्रश्न उठाउँछु। अतः २२ को हस्तान्तरण नरोकिएको भए, पाँच जना (एक जना उम्मेदवार परेकाले अन्तिममा काठमाडौँमा नै कायम गरिएको) लाई निर्वाचन भइसकेको शाखा ललितपुर नसारिएको भए र छ जना (दुई जना युनियन पक्ष भनिएको) को अन्तिम नामावलीमा नाम थप नगरिएको भए अध्यक्षममा १६ मतको अन्तरसहित ‘हार व्यहोरेको’ प्यानलमा एक जनाबाहेक सबैको जीत निश्चित थियो। कसैलाई नमीठो लागे पनि सप्रमाण यो कार्यलाई केन्द्रको संस्थागत धाँधली भन्दा फरक नपर्ने देखिन्छ।

३) मतदान स्थलमा बुँदा नम्बर २ को सदस्यताको विषयमा नै सहमत भएर जाने कि नजाने भन्ने विषयमा छलफल गरिरहेका थियौँ। हाम्रो असहमतिकै बीच छलफलकै बीचमा मतदान सुरु गरियो। हाम्रा प्रतिनिधिले कार्ड बनाएर बुथमा पुग्दा दुई बुथमा गरेर ६० भन्दा बढी भोट खसिसकेको थियो। फर्जी मत देखेकाले म प्रतिनिधि नभए पनि बुथसम्म पुगेँ र फर्जी मत रोक्न लागेँ। बुथबाहिर पनि फर्जी मतविरुद्ध संघर्ष चल्यो। त्यसपछि फर्जी रोकियो तर ६० मध्ये ३७ देखि ४४ फर्जी मत खसिसकेको थियो। 

प्रतिनिधि सुरुमा नपुग्नु हाम्रो पक्षको कमजोरी हो। मात्र ३७ वटा सुरुका फर्जी मत रोकेको भए अध्यक्षमा २३ मतको अन्तर अर्थात बुँदा नम्बर २ को पनि जोड्ने हो भने ३९ मतको अन्तरले हाम्रो सिंगो प्यानलको जीत हुने थियो।

४) ६० मत खसिसकेको अवस्थामा म बुथमा पुगेँ। त्यसपछि पनि फर्जी मत आउने क्रम रोकिएन। ४० को संख्यामा नामावली प्रमाणित नभएका (फर्जी मतदाता) फर्काइयो। फर्जी मतदाता फर्काइएका धेरैको क्रम संख्या नोट गरेर राखेको छु। आधा फर्जी रोकेपछि १७० फर्जी कार्ड बनाएको तर हाल्न रोकिएको खबर अहिले सुन्दै छु। 

५) मतदान स्थल कहाँ भनेर मतदातालाई कुनै जानकारी दिइएन। यतिसम्म कि प्रज्ञा भवनबाट सारेर बानेश्वरको एउटा बैंक्वेटमा मतदान गरियो। त्यसबारे आधिकारिक जानकारी मतदातालाई दिइएन। आफ्नो अनुकूलतामा निर्वाचनको मिति र स्थान बदलियो। यो मतदाताप्रति धोका र महासंघको विश्वसनीयतामाथि प्रश्न हो।

६) बुँदा नम्बर २, ३, ४, ५ का बाबजुद बुँदा नम्बर १ भएको छ। तर, एक पक्ष भोटिङ लाइनमा बस्नुपर्ने थियो भने अर्को पक्ष कार्ड बनाउन लाइन र दौडधुपमा लाग्नुपरेको थियो। मतदान र कार्ड बनाउने र वितरण गर्ने काम एकैचोटि हुने अवस्था बनाइएको थियो। यो बाध्यात्मक भन्दा पनि अनुकूलता र डिजाइनमा आधारित थियो। तर हामीले चुनाव रोकेर कार्ड बनाएपछि मात्र गरौँ भनिएन किनकि धेरै मतदाता मतदानका लागि आइसकेकाले धोका हुने ठान्यौँ।

७) अन्त्यमा, वाम लोकतान्त्रिक समावेशी प्यानलमा एक पदाधिकारी पाँच जना कार्यसमिति सदस्य विजयी भएका छन्। साथै अन्य पदमा पनि उत्साहजनक मतदान नभएको होइन, संस्थागत डिजाइन र अनुकूलतामा मतदातालाई विना जानकारी स्थान फेरियो, कार्ड कब्जा गर्ने नियत राखियो तसर्थ नतिजा अनुकूल रह्यो। हाम्रा पक्षबाट पनि प्राविधिक नीतिगत कमी कमजोरी नभएका होइनन्। हाम्रा कमीकमजोरीप्रति क्षमा याचनासहित तपाईं सम्पूर्ण मतदाता तथा निर्वाचन सफल बनाउन भूमिका खेल्नुहुने सम्पूर्णप्रति व्यक्तिगत रूपमा विशेष धन्यवाद दिन चाहन्छु।

(पत्रकार रोका प्रेस सेन्टरसँग अावद्ध छन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.