|
फाइल तस्वीर

एकपछि अर्को उपलब्धि हासिल गर्दै अघि बढेका नेपाली खेलाडी सन्दीप लामिछाने युवावस्थामा नै नेपाली राष्ट्रिय टीमको कप्तानको जिम्मेवारी पाउन सफल भए। छोटो समयमै धेरै अन्तरराष्ट्रिय फ्रेन्चाइजको अनुभव सँगालेका उनले राष्ट्रिय टोलीबाट पनि आफूलाई एक सफल खेलाडीको रुपमा उभ्याए तर अब उनीमाथि आएको कप्तानको जिम्मेवारी कसरी सफल बनाउँछन् त्यो भने प्रतीक्षाको विषय रहेको छ। 

नेपाली क्रिकेटमा सर्वाधिक कान्छो कप्तान बनेका सन्दीपले कप्तानी जिम्मेवारी जसरी पाए त्यो भने नेपाली क्रिकेटको एउटा नबिर्सिने पाटोका रुपमा रहने छ। अर्थात तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई क्यानले कारबाही गर्दै सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो।

अब कप्तानका टोपी पहिरिएका सन्दीपलाई कप्तानी चुनौती पूरा गर्ने दायित्वमात्र छैन, नेपाली क्रिकेटसामु आएको एउटा अर्को अवसरमा नेपाली टोलीलाई खरो उतार्नुपर्ने चुनौतीसमेत छ।

नेपालले अब ओमानमा हुने चारदेशीय टी-२० क्रिकेट सिरिज र त्यसपछि हुने विश्वकपको ग्लोबल छनोटका लागि प्रतिस्पर्धा गर्ने छ। यसका लागि नेपाली टोली मंगलबार बेलुकी ८ बजे त्यसतर्फ प्रस्थान गर्दै छ। प्रतियोगितामा खेल्न जानुअघि सन्दीप आत्मविश्वासी देखिएका छन्।

उनले विश्वकप खेल्ने सपना आफ्नो मात्र नभएर सम्पूर्ण नेपालीहरूको भएको र प्रतियोगितामा कुनै एक खेलाडी या व्यक्तिमाथि नेपाली टोलीको खेल निर्भर नभएको घुमाउरो जवाफ दिँदै सिंगो टिमको प्रदर्शनमा विश्वास गर्नुपर्ने बताए।

सन् २०१४ मा टी-२० विश्वकप खेलेपछि पहिलो पटक सोझै ग्लोबल छनोट खेल्ने मौका पाएको नेपाली टिम यो अवसर खेर नफाल्ने प्रयासमा हुने छ। अघिल्लो पटक एशिया छनोटबाटै बाहिरिए पनि यो पटकको प्रतियोगितात्मक संरचना केही सहज छ।

तर छनोटका लागि जित निकाल्नै पर्छ। यो पटक किन पनि सहज मान्न सकिन्छ भने नेपाली टिमले एशिया छनोट नखेल्दै ग्लोबल छनोट खेल्ने मौका पायो।

ओमानी भूमि नेपाली टिमका लागि नौलो भने हुने छैन। किनभने नेपालले पटक-पटक ओमानमा गएर प्रतिस्पर्धा गरेको छ। पछिल्ला ३ वर्षमा ३ वटा सिरिज खेलेको नेपालले एक पटक चारदेशीय टी-२० शृंखला खेलेको छ। जुन सन् २०१९ मा भएको थियो।

त्यसपछि २०२१ मा पपुवा न्युगिनीसँग दुई एकदिवसीयको मैत्रीपूर्ण सिरिज र त्यसपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-टू सिरिज खेलेको थियो। यो पटक नेपालको फरक अनुभव भनेको नयाँ कप्तानका रुपमा सन्दीप लामिछाने र प्रशिक्षकको रुपमा पुबुदु दासानायकेको पुनः आगमन नौलो हुने छ।

अघिल्लो पटक अर्थात सन् २०२१ मा नेपाली टिम ओमानमा रहँदा डेभ ह्वाटमोरले नेपाली टीमको प्रशिक्षक थिए। कप्तानका रुपमा ज्ञानेन्द्र मल्ल मैदानमा थिए।

सन्दीपका लागि कप्तानको जिम्मेवारी यो अर्थमा सहज पनि छ किनकी उनले यसबीच प्रायः विश्वभरिका फ्रेन्चाइज लिगको अनुभव बटुले। साथमा धेरै विश्चचर्चित खेलाडीसँगको संगत र टिमको तयारी नजिकबाट नियाले।

यो अनुभवलाई उनले राष्ट्रिय टिमको तयारीमा उपयोग गर्न सके पक्कै पनि उनी कप्तानको भूमिकामा सफल हुने अपेक्षा गर्न सकिन्छ। आफ्नो कप्तानी भूमिकासँगै सन्दीपले बलिङको पाटो पनि समाल्नुपर्ने चुनौती छ।

यसअघि ओमानमा भएको पिएनजीसँगका २ वटा एकदिवसीय सिरिज र ओमान, अमेरिका सम्मिलित आइसिसी विश्वकप लिग टूअन्तर्गत भएको सिरिजमा गरेर कुल १६ विकेट लिँदै उत्कृष्ट छवि बनाएका सन्दीपले फेरि त्यस्तै प्रभावशाली प्रदर्शन दोहोर्‍याउन सके नेपाली टोली सफल हुने मात्र नभएर आफ्नो कप्तानी पनि सफल बनाउने छन्।

कप्तानी सँगसँगै उनको व्यक्तिगत प्रदर्शनबारे पनि नेपालीमाझ चासो छ, जुन स्वाभाविक पनि हो। किनकी कप्तानीको दबाबका कारण उनको व्यक्तिगत खेलमा असर पर्नसक्ने आँकलन गर्नेहरूको संख्या पनि उत्तिकै छ।

तर सन्दीप त्यस्तो कुरामा आफूलाई विश्वास नभएको बताउँछन्। उनी दुवै जिम्मेवारी आफूले राम्रोसँग बुझेको र सहज रुपमा विश्वकप छनोटमा टिमले प्रतिस्पर्धा गर्ने बताउँछन्।

यद्यपि सन्दीपको पहिलो परीक्षा भने प्रतियोगिताअघि हुने ओमान, आयरल्याण्ड र युएई सँगको सिरिजका क्रममा नै हुने छ। पछिल्लो पटक उत्कृष्ट फर्ममा रहेको युएई र ओमानविरुद्ध नेपालको प्रदर्शन चासोका साथ हेरिएको छ।

केही वर्षअघिसम्म नेपाल यी २ राष्ट्रभन्दा तुलनात्मक रुपमा बलियो मानिन्थ्यो तर अहिले तीनै टिम समान स्तरमा छन्। अझ हेर्ने नै हो भने युएई आफ्नो प्रदर्शन सशक्त बनाउँदै अघि बढेको छ।

आयरल्याण्ड भने पहिलेदेखि नै सशक्त टोली मानिन्छ। नेपालले सन् २०१९ मा ओमान नै टी-२० खेलेयता कुनै प्रतिस्पर्धा गरेको छैन। त्यसैले आयरल्यान्डसँग नेपाली टोलीको अनुभव प्रतियोगिताका लागि लाभदायक हुने छ।

पछिल्लो समय अन्तरराष्ट्रिय प्रतियोगिताको थोरै अनुभव बटुलेको नेपाल प्रतियोगिताअघि यो सिरिजलाई आफ्नो क्षमता र स्तर जाँच्ने मौकाको रुपमा प्रयोग गर्दै छ। त्यसो त नेपाली टिमका धेरै खेलाडीले सीमित अन्तरराष्ट्रिय खेलको अनुभव बटुल्दा केही खेलाडीले भने लामो अन्तरराष्ट्रिय अनुभव सँगालेका छन्। त्यसैले कम अनुभवी र अनुभवी खेलाडीलाई प्रशिक्षक र कप्तानले खेलमा कसरी एकजुट गरि उपयोग गर्छन्, चासोको विषय हुने छ। 

समग्रमा ग्लोबल छनोटमा नेपालले यस पटक गतिलो प्रदर्शन गरि छानिए सन्दीप फेरि एकपटक स्वाभाविक चर्चाका हकदार हुने छन्। तर असफल भए भने क्यानको पछिल्लो विवाद एकपटक फेरि सतहमा आउने सम्भावना रहन्छ। यो सन्दीप, क्यान र प्रशिक्षक सबैका लागि उत्तिकै महत्वपूर्ण रहने छ।

ग्लोबल छनोटमा नेपाल विश्वकपमा छानिन समूहमा शीर्ष स्थान रहनु पर्छ र यसका लागि मुख्य प्रतिद्वन्द्वी ओमान र क्यानडालाई उछिन्नु पर्ने छ। नेपालको अर्को प्रतिद्वन्द्वी भने फिलिपिन्स छ।

नेपालले यो सुनौलो मौकामा आफूलाई प्रमाणित गर्न सके सन्दीपको कप्तानी भूमिका उचाइमा पुग्ने छ। अन्यथा फेरि पनि नेपाली क्रिकेटको असफलतामाथि बहस जारी रहनेछ।

यस्तो छ नेपालको खेल तालिका

चारदेशीय प्रतियोगिताः

२८ माघ : नेपाल विरुद्ध ओमान
२९ माघ : नेपाल विरुद्ध युएइ
२ फागुन : नेपाल विरुद्ध आयरल्यान्ड

विश्वकप छनोटः

६ फागुन : नेपाल विरुद्ध ओमान
७ फागुन : नेपाल विरुद्ध फिलिपिन्स
९ फागुन : नेपाल विरुद्ध क्यानडा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.