|
तस्वीर : भविन कार्की

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध भएको छ। हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए।

प्रशासकीय अधिकृत भोटेका अनुसार हिमपातले सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथांका, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्न संकट भएको छ। ४ फिटसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको छ। भोटखोला–१ को किमाथांकामा १ सय १६ घर, वडा नम्बर–२ को थुदामका १६ घर, रिदाकका ७७ घर र छुम्सुरका २२ घरपरिवारका लागि खाद्यान्न संकट भएको उनले बताए। 

खाद्यान्न संकट भएका २ सय ३१ घरपरिवारका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय संखुवासभा र गृह मन्त्रालयमा समेत पत्राचार गरिसकेको भोटेले बताए। हिमपातले जनजीवन कष्टकर भई तत्काल खाद्यान्न ढुवानी गर्न नसकिने भएको उनको भनाइ छ।

गाउँपालिकाले एक महिनाका लागि चामल, पिठो, तेल, दाललगायत खाद्य सामग्री हेलिकप्टरबाट ढुवानीका जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई पत्राचार गरिसकेको उनले बताए। लगातारको हिमपातले सदरमुकाम खाँदबारी आउन र चीनतर्फ जाने दुवै सडक अवरुद्ध भएको छ।

हिमपातले स्थानीयले लगाएको अन्नबालीसमेत पुरिएको स्थानीयले बताए। त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको स्थानीयले बताए। कोरोना संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार २ वर्षदेखि नेपालीका लागि बन्द गरेको छ। किमाथांका सदरमुकाम खाँदबारीबाट ४ दिनको पैदल दुरीमा पर्छ।

खाद्यान्न ढुवानीका लागि पहल भइरहेको छ : प्रजिअ खतिवडा 

भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीका लागि गृह मन्त्रालयमा जानकारी गराइसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए।सडक सञ्जाल नभएका कारण भोटखोलामा खाद्यान्न ढुवानी गर्न समस्या भएको उनले बताए।

प्रजिअ खतिवडाले भने, 'हामीले खाद्यान्न समस्या भएका गाउँको विवरण र घरपरिवार संख्या गाउँपालिकासँग मागेका छौं, त्यही अनुसार नै माथिल्लो निकायसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गरिने छ।' भोटखोलामा गत वर्ष पनि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नु परेको थियो। भौगोलिक रुपमा निकै विकट रहेको भोटखोलामा सञ्चार र यातायातका साधनको पहुँच अझै पनि पुगेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.