|

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–९ को पशुपतिनगरका कुनाकुनामा राति ८ बजेपछि टर्च बालेर केही महिला हिँडिरहेको भेटिन्छ।

दैनिकजसो राति ८ बजेपछि टर्च बालेर हिँड्ने महिलाहरूको त्यो हूल पुष्पाञ्जलि गस्ती आमा समूहको हो। गएका ३ वर्षयता हरेक दिन पुष्पाञ्जलि आमा समूहका महिला यसैगरि रात परेपछि हातमा टर्च बोकेर गाउँको कुनाकाप्चासम्म पुग्छन्। एउटा हातले लौरो र अर्को हातले टर्च बोकेर राति गस्ती गर्नु यहाँका महिलाको दैनिकी नै बनिसकेको छ।

उनीहरूले गस्ती गर्न थालेदेखि पशुपतिनगर क्षेत्रमा उल्लेख्य सामाजिक सुधार आएको छ। महिला हिंसा, झैझगडा हुनुका साथै लागुपदार्थ ओसारपसारमा युवा सक्रिय हुने गरेको पशुपतिनगरमा पछिल्लो समय त्यस्ता गतिविधि क्रमशः घट्दै गएका छन्। ३ वर्षअघिसम्म आफ्ना लागि आवाज उठाउन नसक्ने त्यहाँका महिला अहिले गाउँ ठाउँमा हुने हिंसा र झैझगडाविरुद्व खडा उत्रिन्छन्।

त्यतिमात्र होइन उनीहरू गाउँमा कुलतमा फसेका युवक युवतीलाई पनि सम्झाएर, बुझाएर वा अन्य अनेक उपाय लगाएर सुधार्ने काम पनि गर्छन्। महिला एकजुट भए समाज परिवर्तनका लागि अरु केही गर्नु पर्दैन भन्ने उदाहरण पुष्पाञ्जलि गस्ती आमा समूहले दिइरहेको छ। विशेषगरि राति गाउँमा विकृतिजन्य गतिविधि हुने भएकाले आमा समूहका महिलाले राति राति गाउँमा सुरक्षा दिन गस्ती गर्ने गरेका छन्।

आमा समूहकी अध्यक्ष कल्पना थापा मगर गाउँमा नकारात्मक गतिविधि बढेकाले हैरान भइरहेका वेला वडा कार्यालयले गरेको सडक नाटक हेरेपछि महिला एकजुट भएर काम गर्ने साहस मिलेको बताउँछिन्। ‘गाउँका महिलामाथि हिंसा हुने, झैझगडा धेरै हुने, युवायुवती कुलतमा फस्ने र पुरुषहरू मादक पदार्थ सेवन गर्ने जस्ता धेरै कुरा देखेर हामी दिक्क भएका थियौँ,’ उनले भनिन्, ‘एकदिन वडा कार्यालयले गरेको सडक नाटक हेरेपछि वडा अध्यक्षज्यूले तपाईंहरूले पनि सुधार गर्न सक्नुहुन्छ गर्नुस् भनेपछि हामीलाई आँट आएको थियो।’

त्यसपछि गाउँका केही सीमित महिला मिलेर राति राति गस्ती शुरु गरेका उनले बताइन्। मादक पदार्थ सेवन गरेर गाउँमा चोरी पनि बढ्न थालेपछि आफूहरूले शुरुवातमा ६/७ महिला मिलेर रात्रि गस्ती गर्न थालेको गरेको उनको भनाइ छ।

‘गाउँमा नयाँ मान्छे आउँदा यताका युवाले बस्न मुस्किल बनाइदिन्थे। राति बाटोमा गुड्ने गाडीमा ढुंगा हान्नेजस्ता अनेक बदमासी गरेर गाउँ नै बदनाम बनेको थियो। तर अहिले रात्रि गस्तीमा महिला हिँड्छन् भनेर यस्तो काम गर्न डराउँछन्’, उनले भनिन्, ‘शुरुमा राति हिँड्दा हामीसँग न लौरो थियो न हातमा टर्च लाइट नै। हामी राति गाउँको सुरक्षामा हिँड्दा कतिले पछाडिबाट ढुंगा हानेर लखटे त कतिले भाटा लिएर लखेटे। तर पनि नडराएर हामी राति गस्ती गर्न निस्कियौँ।’

अहिले यसरी रात्रि गस्ती गर्ने महिलाको समूह ७ बाट बढेर ३६ जनाको भएको छ। घरभित्रै हिंसामा परेका महिला पनि अहिले गाउँमा भएको हिंसा न्यूनीकरण गर्न बाहिर निस्किएका छन्। ‘हाम्रो समूहमा हुनुभएका अधिकांश महिला हिजोको दिनमा आफैँ पीडित हुनुहुन्थ्यो। तर, अहिले उहाँहरू अरुलाई पीडाबाट निकाल्ने यात्रामा निस्कनु भएको छ’, थापाले थपिन्।

उनले रात्रिकालीन गस्ती शुरु गर्दा आफूहरूले निकै कठिनाइ सहनुपरेको सुनाइन्। ‘घरबाट रातिको समयमा निस्किन गाह्रो पर्थ्यो। के पाउँछेस् गएर, कति पैसा पाउँछौ भन्ने प्रश्न जता पनि गुञ्जिन्थ्यो। तर,अहिले भने सबैले राम्रो मान्नु भएको छ’, उनले भनिन्। सभ्य समाज निर्माण लागि महिलाको पहल आवश्यक रहेको उनको बुझाइ छ। २ महिनाअघि मात्र आमा समूहको सदस्य बनेकी भवानी कार्की सदस्य बन्दा गाउँमा छुट्टै सम्मान पाइनेसमेत बताउँछिन्।

‘यसरी महिला मिलेर बनेको आमा समूहबाट गाउँको विकृति हटाउन हिँडेपछि त यो आमा समूहमा छ। यसलाई केही भन्न हुँदैन भनेर मान्छेहरू डराउन पनि थालेका छन्’, उनले भनिन्। कार्कीले त्यो डर नकारात्मक नभइ गलत काम गर्न दुरुत्साहन गर्ने खालको भएको स्पष्ट पारिन्। उनले आमा समूहले गाउँमा हुन लागेको जबरजस्ती करणीका घटना हुनबाट रोकेकोसमेत बताइन्। 

शुरुमा केही महिला मिलेर गस्ती गर्न थालेको भएपनि पछि सहभागिता बढेपछि पुष्पाञ्जलि गस्ती आमा समूहको जन्म भएको अध्यक्ष थापाले बताइन्। उनले आफूहरूसँग टर्चसमेत नभएर अँध्यारैमा गस्ती हिँड्दा बागमती प्रदेशको तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले टर्च दिएर सहयोग गरेको बताइन्। त्यसैगरि वडा कार्यालयबाट पनि सहयोग पाएपछि आफूहरू एक हातमा लौरो र अर्को हातमा बत्ती बोकेर राति हिँड्न सहज भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.