|

खोटाङ : जिल्लाका तीन युवाले मौरीपालनमा संभावना देखेर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन्। जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ धोद्रे राई टोलका जीवन राई, हर्क बहादुर सुनुवार र रामबहादुर राईले व्यवसायिक रुपमा मौरीपालन सुरु गरेका हुन्।

ऐँसेलुखर्क कृषि समूह मौरी ब्लक नामक कृषि फर्म दर्ता गरेर मौरी पालन सुरु गरेका तीन जनाको समुहसँग अहिले १० घार मौरी रहेका छन्। खरित गरेर ६० घार लगाए पनि सुरुवाती दिनमा प्राविधिक ज्ञानको कमीले ३० घार मौरी उडेर गएको र २० घार मोरी लगातारको वर्षाले मरेको कारण  अहिले १० घार मात्र बाँकी रहेको र्हक बहादुर सुनुवारले बताए।

त्यसपश्चात प्राविधिक कुरा सिकेपछि मौरीलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने ज्ञान उनिहरुले लिएका छन्। सुनुवारले भने, 'सुरुवाती दिनमा हामीलाई प्राविधिक ज्ञानको कमी भयो, त्यसैले केही घाटा लाग्यो, तर अव प्राविधक ज्ञान लिएका छौँ। शतप्रतिशत मौरीलाई सुरक्षित तरिकाले राखेर मह उत्पादन सुरु गर्नेछौँ।'

जम्मा ७ सय ५० घार मौरी पाल्‍ने समूहको योजना छ। केही समय भित्रमै योजनालाई साकार पार्न यतिबेला धमाधम मौरी खरित कार्य भइरहेको सुनुवारले बताए। केही मौरी रामेछाप र केही भोजपुर जिल्लाबाट खरिद गरेर ल्याउने तयारी उनीहरुको छ।

एक नम्बर प्रदेश सरकारको ५० प्रतिशत अनुदानस्वरुप रु २५ लाख र समूहको रु २५ लाख गरी जम्मा ५० लाख लगानीमा मौरीपालन सुरु गरिएको हो। अहिलेसम्म केही मह निकालेर बिक्रीसमेत गरिसकेको उनीहरुको भनाइ छ।

मौरीको मह मंसिरमा र वैशाखमा गरी वर्षमा दुईपटक निकाल्ने गरिन्छ। जसमा एक घारबाट ६ सय एमएलको बोतलमा ५ बोतलसम्म मह उत्पादन हुन्छ भने एक बोतल मह रु १ हजार ५ सयले बिक्री हुने गरेको छ। जसअनुसार ७ सय ५० घार मौरी पाल्न सकेमा एक वर्षमा रु ५० लाख बढी आम्दानी हुने सुनुवारले सुनाए।

मौरीले बिभिन्न फूलको रसबाट मह उत्पादन गर्ने भएको हुँदा घार वरीपरी तोरी लगाइएको छ। सुनुवारले भने, 'पानी परेको समयमा मौरी बाहिर चर्न जान नसक्ने भएकाले लामो समय लगातार वर्षा हुँदा सबै भन्दा धेरै समस्या हुन्छ, तर मह बिक्रीको लागि बजारको समस्या भने छैन।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.