|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सत्तारूढ राजनीतिक दलहरूका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्‍ने कुरा सम्भव नहुने स्पष्ट पारे।

नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनले बताए। उनले भने,  ‘गठबन्धन हाम्रो बीचमा कुराकानी मिलेर बन्यो। हाम्रो बीचमा कुराकानी मिलिरहे गठबन्धन चलिराख्छ। हाम्रो बीचमा कुराकानी मिलेन भने गठबन्धन चल्दैन। कुराकानी पनि नमिल्ने गठबन्धन पनि चलिराख्छ भन्ने कुरा हुँदैन।'

गठबन्धनका दलहरू फरक-फरक भएकाले कुराकानी अनिवार्य मिल्नैपर्ने उनको तर्क छ। उनले स्पष्ट पार्दै भने, 'हामी फरक– फरक राजनीतिक दलहरु हौँ। हाम्रो बीचमा गठबन्धन रहिरहनका लागि न्यूनतम कुराहरुमा कुरा मिल्नुपर्छ।'

एमसिसी पास गर्नुपर्ने मिति फागुन १६ (फेब्रुअरी २८) नजिकिँदै जाँदा यो विषय थप पेचिलो बन्दै गइरहेको छ। गठबन्धनमा रहेका पाँच दलहरू नै पाँचतिर फर्केका छन्।

कांग्रेस कुनै हालतमा एमसिसी पास गर्नुपर्ने पक्षमा दरिएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना संसद्‍मा पेश गर्नै नहुने अडानमा छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चा एमसिसीको विरोधमा उत्रिसकेको छ भने जनता समाजवादी पार्टी (जसपा) ले औपचारिक रूपमा निर्णय गर्न सकेको छैन।

एमसिसीको विषयबारे टुंगो लगाउन पटक-पटक बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिँदै आएको छ। गठबन्धनको अर्को बैठक आइतबारका लागि बोलाइएको छ। यस बैठकमा एमसिसीबारे सहमतिमा निकासको बाटो खोजिने नेताहरूले दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.