|

सल्यान : कुमाख गाउँपालिका-३ मर्मका २१ वर्षीय लक्ष्मण बुढा मगरले २३ लाख रुपैयाँ लगानीमा व्यावसायिक कालिज पालन सुरू गरेका हुन्। आइएसी एजी (कृषि विज्ञानमा प्रमाणपत्र तह) अध्ययन सकेका उनले शारदा नगरपालिका-१५ सिमतारामा भाडामा जग्गा लिएर एक वर्षअघि कालिज पालन सुरु गरेका हुन्। उनले कर्णाली इन्टिग्रटेड कृषि फर्म दर्ता गरेका छन्।

बिएसी एजी पढ्न काठमाडौं गएका बेला कोरोना महामारीका कारण शिक्षण संस्था बन्द भएपछि कृषि पेशामा हात हालेको उनले बताए। कृषि विषय नै पढेकाले जोखिम भए पनि कृषि व्यवसायमा लागेको लक्ष्मण बताउँछन्। उनले भने‚ ‘जोखिम त हरेक क्षेत्रमै छ। त्यही जोखिमलाई मोल्न सक्ने हो भने मात्र अघि बढ्न सकिन्छ।’

कालिजको संरक्षण, उपभोक्तालाई कालिजको मासु उपलब्ध र चल्ला उत्पादन गर्ने लक्ष्यका साथ १० रोपनी क्षेत्रफलमा कालिज पालन गरिएको लक्ष्मणले बताए। पोखराबाट प्रतिगोटा ५०० रूपैयाँका दरले ८०० वटा चल्ला ल्याएर पालन सुरू गरेका उनले धेरै कालिज बिक्री गरिसकेको बताए।

व्यवसायलाई बढाउन अहिले ह्याचिङको व्यवस्था गर्न थालेको लक्ष्मणले बताए। आफैं ह्याचिङ राखे प्रतिगोटा २०० रुपैयाँसम् चल्ला बिक्री गर्न सकिने उनको भनाइ छ। ‘हामीलाई पोखराबाट ल्याउँदा एक दिनको चल्ला ५०० रुपैयाँका दरले ल्याएका थियौं‚’ उनले भने‚ ‘आफ्नै ह्याचरी भयो भने निकै सस्तो पर्ने अनुमान गरेको छु।’

दुई सातासम्म कालिजका चल्ला स्याहार्न कुखुराका चल्लाजस्तै सजिलो भए पनि त्यसपछि भने ध्यान दिनु पर्ने लक्ष्मण बताउँछन्। उनका अनुसार कालिजका चल्ला हुर्किंदै गएपछि एकले अर्कालाई ठुँगेर मार्ने, घाइते बनाउने गर्छन्। कालिजलाई कुखुराभन्दा फराकिलो ठाउँ चाहिन्छ। दाना भने कुखुराकै दिए हुने उनको अनुभव छ। कुखुरालाई जस्तै रानी खेत, गबारोलगायतका खोप दिन र क्याल्सियम, भिटामिन समय समयमा खुवाउनु पर्ने लक्ष्मणले बताए।

कालिजको किनबेच किलोमा नभएर गोटाको हिसाबले हुन्छ। ५ देखि ६ महिनाको एउटा कालिज २ हजारदेखि २५ सय रूपैयाँमा सजिलै बिक्री हुने गरेको लक्ष्मणको अनुभव छ। नेपालमा व्यावसायिक कालिज पालन कम भएको र माग उच्च रहेकै कारण आफूले यो पेशा रोजेको उनले बताए। राम्रो हेरचाह गरे कालिजबाट मनग्य आम्दानी हुने उनको अनुभव छ। ‘यो व्यवसायमा राम्रो सम्भावना छ,’ उनले भने‚ ‘यो काम गर्न चाहनेलाई सिकाउन र सघाउन तयार छु।’

लक्ष्मणले वार्षिक ६० हजार रूपैयाँमा एक हेक्टर क्षेत्रफल जग्गा भाडामा लिएर कालिज पालनसँगै विभिन्न जडीबुटीका विरुवा समेत उत्पादन गर्दै आएका छन्। १० रोपनीमा कालिज फर्म र बाँकीमा प्लास्टिक टनेल बनाएर जडीबुटीका बिरुवा र तरकारी खेती गर्दै आइरहेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.