|

काठमाडौं : ​गत आइतबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा सदा झैं चहलपहल थियो। हातमा कागजको फाइल बोकेर राम मोक्तान (नाम परिवर्तन) विभाग प्रवेश गरे।

राम्रो रोजगारीको प्रलोभनमा पारी म्यानपावरले ठगी गरेको उजुरी गर्न उनी विभाग पुगेका थिए। विभागका अधिकारी समक्ष मोक्तानले पोर्चुगल जान म्यानपावरलाई ९ लाख रुपैयाँ तिरेको र विदेश नपठाएको बताए।

वैदेशिक रोजगारीको नामम ठगी बढेसँगै विभागमा एक साताअघिदेखि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले मोक्तानमाथि निगरानी राखे। उनले प्रहरीलाई भने, ‘मलाई श्रम मन्त्रालयका कर्मचारीले यहाँ पठाउनुभएको हो। उजुरी छिटो दर्ता गरिदिनु।’

मोक्तानको उजुरीमा म्यानपावरलाई दिइएको रकम उठाइदिन अनुरोध मात्र गरिएको थिएन। उजुरीमा भनिएको थियो, ‘वैदेशिक रोजगारीमा पठाउने भन्दै लिएको पैसा  म्यानपावर व्यवसायीको धरौटी रकमबाट कटाइदिनुहुन अनुरोध छ।’

विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार यसअघि पनि मोक्तानजस्तै व्यहोराको उजुरी लिएर पीडित आएका थिए। अनुसन्धान गर्दा पीडित हुँ भन्दै विभागमा आएकाहरू वास्तविक पीडित नभई म्यानपावर व्यावसायीका आफन्त रहेको पत्ता लागेको पौडेलले बताए। उनले भने‚ ‘शंका लागेर अनुसन्धान गर्दा पीडित बनेर आएका युवा नक्कली पीडित अर्थात् म्यानपावरको पैसा उठाउनका आएका रहेछन्।’

महानिर्देशक पौडेलका अनुसार पीडितले उजुरी गर्दा ठगिएको रकम दावी गर्नुपर्छ तर त्यो रकम कुन स्रोतबाट लिने भन्ने उल्लेख गर्नु पर्दैन। तर‚ पछिल्लो समय रकम फलना स्रोतबाट दिनु भनी तोकेर नै उजुरी दिने गरिएको उनको भनाइ छ। ‘वास्तविक पीडितले ठगिएको रकम मात्र माग गर्छ। म्यानपावरको भाषामा उजुरी गर्दैन‚’ उनले भने‚ ‘यस्ता उजुरीमाथि शंका लागेर अनुसन्धान गर्दा पीडित बनेर आउने व्यक्त नक्कली पीडित रहेको पाइएको छ।

केही दिनअघि विदेश पठाउने भन्दै ११ लाख रुपैयाँ लिएर व्यक्ति फरार भएको उजुरी विभागमा पर्‍यो। विभागले त्यस उजुरीअनुसार अनुसन्धान गर्दा पीडित भनिएका व्यक्ति वैदेशिक रोजगारीका पीडित नभएको पाइएको विभागका अधिकारीहरू बताउँछन्। सँगै काम गर्दै आएका पार्टनरले रकम नदिएपछि वैदेशिक रोजगारीको ठगी भन्ने उजुरी दिएको पाइएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए। उनले भने, ‘सहमतिमा काम गर्ने र बेमेलको अवस्था सिर्जना भए व्यक्तिगत कारोबारलाई वैदेशिक रोजगारीको ठगी भन्दै उजुरी आउन थालेको छ।’

पीडक नै पीडित

म्यानपावर कम्पनी दर्ता गर्दा व्यवसायीले वैदेशिक रोजगार विभागमा धरौटी राख्नु पर्ने प्रावधान छ। वैदेशिक रोजगारीमा कामदार पठाउन नसकी म्यानपावर कम्पनी बन्द भए पनि धरौटी बापतको रकम तीन वर्षसम्म फिर्ता नहुने महानिर्देशक पौडेले बताए।

म्यानपावर कम्पनी बन्द गरेर बसेका व्यवसायीले धरौटी बापतको रकम फिर्ता लिन आफन्तलाई नक्कल पीडित बनाई रकम लिएको पाइएको विभागका अधिकारीहरू बताउँछन्। ती नक्कली पीडितहरुले सामान्य देश जानका लागि पनि २५ लाख रुपैयाँसम्म खर्च लागेको भनी उजुरी दिने गरेका छन्।

पीडित भएको भन्दै नक्कली पीडित उजुरी लिएर आउँदा वास्तविक पीडित मर्कामा परेको महानिर्देशक पौडेलले बताए। उनले भने, ‘पीडितको नाममा पीडकले धन्दा चलाउँदा वास्तविक पीडितका समस्या ओझेलमा परेका छन्।’

यही समस्या समाधान गर्न धेरै रकमको उजुरी आए अदालत पठाउन थालिएको पौडेलले बताए। सूक्ष्म रुपमा अनुसन्धान गरी वास्तविक पीडितलाई न्याय दिलाउन लागिपरेको उनको भनाइ छ।

विभागमा एक सातामा तीन करोड रुपैयाँ बराबरको नक्कली पीडितको उजुरी दर्ता भएको छ। यसरी देखिएका नक्कली पीडित अधिकांश संस्थागततर्फ भेटिएको विभागले जनाएको छ। 

६ वर्षमा ६ अर्ब २९ करोड ठगी

सरकारले दक्षिण कोरिया, जापान, युरोपबाहेकका देशमा वैदेशिक रोजगारीमा जान १० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त व्यवस्था कार्यान्वयनमा नआउँदा ठगी हुँदै आएको छ।

६ वर्षको अवधिमा करिब ९ हजार युवासँग म्यानपावर कम्पनी तथा तिनका एजेन्टले संस्थागत र व्यक्तिगत गरी ६ अर्ब २९ करोड ९४ लाख ४७ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको विभागको मुद्दा शाखाले जनाएको छ। तीमध्ये ४ हजार ३८६ वटा उजुरी फर्स्यौट गरी तीमध्ये करिब ४ अर्ब रुपैयाँ क्षतिपूर्ति भराइएको विभागले जनाएको छ। अहिले पनि पाँच हजारभन्दा मुद्दा विचाराधीन रहेको सूचना अधिकारी भुसालले जानकारी दिए।

चालु आर्थिका वर्षमा २० करोड ठगी

चालु आर्थिक वर्षको सात महिनामा लगभग २० करोड बराबरको व्यक्तिगत ठगीको उजुरी परेको विभागका सूचना अधिकारी भुसालले जानकारी दिए। चालु आर्थिक वर्षको माघसम्म ३३८ उजुरी परेका छन्। ती उजुरीमा १९ करोड ७६ लाख २५ हजार १६० रूपैयाँ ठगिएको दाबी गरिएको छ।

ती उजुरीमध्ये ३८ वटा मुद्दा अदालतमा दायर भएका छन्। जसमा अदालतले पाँच करोड ८० लाख १३ हजार १८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ। उजुरी परेकामध्ये ६३ वटा मिलापत्र हुँदा चार करोड ९२ लाख ८३ हजार ६८५ रुपैयाँ रकम फिर्ता भएको विभागले बतचाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.