|

हेटौंडा : बागमती प्रदेशका ६२ सय बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको पाइएको छ।

स्वतन्त्रता अभियान नेपालले गरेको एक अध्ययनअनुसार प्रदेशभर ६ हजार दुईसय बालबालिका जोखिमपूर्ण श्रममा रहेको पाइएको हो। नेपालभरि ११ लाख बालबालिका श्रममा रहेकोमा २ लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरिरहेको स्वतन्त्रता अभियान नेपालले जनाएको छ।

जसको ३ दशमलव १ प्रतिशत अर्थात् ६ हजार दुई सयजना बागमती प्रदेशका बालबालिका रहेका छन्।

अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा १० वर्ष मुनिका १३ दशमलव १ प्रतिशत, १० देखि १४ वर्षका १५ दशमलव ६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७ दशमलव २ प्रतिशत बालबालिकाले विभिन्न कारणले श्रम गरिरहेको प्रतिवेदनले देखाएको छ। जसमा ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको कुरा पनि उल्लेख गरिएको छ।

कानुनले अवैद्य भनेको बालश्रम गरिरहेका बालबालिकाहरुले ठूलो भारी उठाउनुपर्ने, काम गरेको पूरा पारिश्रमिक नपाउने, राति काम गर्नुपर्ने र रोजगारदाताबाट अभद्र व्यवहार सहनुपर्ने जस्तो बाध्यतामा रहेको समेत प्रतिवेदनले जनाएको छ।

बालमैत्री गाउँकै बालबालिका जोखिमपूर्ण श्रममा

नेपालको पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गरेको मनहरि गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाकै सयौं बालबालिका जोखिमपूर्ण श्रम गरिरहेको पाइएको छ। सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरले गरेको अध्ययनमा नेपालको पहिलो बालमैत्री गाउँपालिका मनहरिमा नै कानुनले अवैद्य भनेको बालश्रम भइरहेको पाइएको हो।

मनहरि गाउँपालिकाको २,४,६ र ८ नम्बर वडामा ७ हजार १४ जना बालबालिकामा गरिएको अध्ययनबाट तीन सय ५१ जना बालबालिका बालश्रममा रहेको देखिएको सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरले जनाएको छ।

त्यस्तैगरी, नेपालकै दोस्रो बालमैत्री गाउँपालिका घोषित भएको बकैया गाउँपालिकामा पनि एकसय ४७ जना बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य भएको अध्ययनले देखाएको छ।

ग्रामीण महिला स्वाबलम्बनले बकैया गाउँपालिकाको सबै वडामा गरेको अध्ययनमा सबै वडामा गरी एकसय ४७ बालबालिकाले श्रम गरिरहेको पाइएको जनाएको छ। बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ वटा सूचकहरु पूरा भएको हुनुपर्छ।

मापदण्डमा १७ ओटा सूचक १०० प्रतिशत हाँसिल गर्नुपर्छ। जसमा २२ वटा सूचक न्यूनतम ८० प्रतिशत हाँसिल हुनुपर्ने हुन्छ। त्यो सबै मापदण्ड पूरा गरेको भन्दै नेपालकै पहिलो र दोस्रो बालमैत्री गाउँपालिका घोषणा गरेका यी २ गाउँपालिकाको ४ सय ९८ बालबालिकाहरू जोखिमपूर्ण श्रम गर्न विभिन्न कारणले बाध्य भएको अध्ययनले देखाएको छ।

बाल हेल्पलाइनले तयार पारेको प्रतिवेदनअनुसार मनहरि गाउँपालिकामा दुईसय ८६ जना आर्थिक कारणले, २१ जना घरेलु हिंसाको कारणले, आर्थिक सहयोगका लागि परिवारबाट दिएको दबाबले ८ जना, रोजगारदाताद्वारा प्रभावित पारेर १९ जना, पढाइमा रुचि नभएर १७ जना गरी तीनसय ५१ जना बालबालिकाहरु श्रम गर्न बाध्य भएको जनाइएको छ।

बालश्रमिकहरू मध्ये विवाहित ११ जना र अविवाहित तीनसय ४० जना बालबालिका छन्। बालश्रममा लागेका बालक दुई सय ३९ जना र बालिका एक सय १२ जना छन्। मनहरी गाउँपालिकाभित्र एकसय ४४ जना र मनहरी गाउँपालिका बाहिर दुईसय सात जना बालबालिका श्रम गरिरहेको तथ्यांकमा उल्लेख छ।

सिविन नेपालले मनहरीका ४ वडाका ७ हजार बालबालिकामाथि सर्वेक्षण गरेको थियो। मनहरिको २ र ४ नम्बर वडाका बढी बालबालिका गलैँचा कारखानामा काम गरिहेको सर्वेक्षणले देखाएको सिविनका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए। ६ नम्बर वडाका घरेलु बालश्रम र गलैंचा कारखाना र यातायात श्रेत्रमा बढी बालबालिका कार्यरत रहेको ज्ञवालीले बताए।

८ नम्बर वडाका बालबालिका घरेलु श्रम र यातायात श्रेत्रमा बढी बालबालिका कार्यरत छन्। घरेलु श्रममा रहेकामध्ये अधिकांश बालबालिका आफ्नै घरमा ३४ जना, आफन्तको घरमा १४ जना र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिहेका छन्। ती बालबालिकाहरू विद्यालय जान नपाएको अध्ययनले देखाएको सिविनले जनाएको छ।

अध्ययन गरिएका बालबालिकाहरुमध्ये उमेर समूहअन्तर्गत ६ देखि १० वर्षका ११ जना, ११ देखि १५ वर्ष उमेर समूहका एकसय ३५ जना, १६ देखि १८ वर्ष उमेर समूहका दुईसय ५ जना गरी तीन सय ५१ जना रहेका छन्।

सिविनले अध्ययनपश्चात् प्रस्तुत गरेको प्रतिवेदनमा जनाइएअनुसार वर्तमान अवस्थामा काम छोड्ने बालबालिका दुईसय ३७ जना र तत्काल काम नछोड्ने योजना बनाएका बालबालिका एकसय १४ रहेको सिविन मकवानपुरका प्रमुख ज्ञवालीले जानकारी दिए।

नेपालकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको बकैया गाउँपालिकाले माघ २९ गते बालमैत्री स्थानीय शासन अवलम्बन गरेको पहिलो वार्षिकोत्सव मनाएको छ। बालबालिकाको सम्पूर्ण हक अधिकारको संरक्षण गरी गाउँपालिका बालमैत्री घोषणा भएको वार्षिकोत्सव मनाइरहँदा अझै पनि त्यहाँका एकसय ४७ बालबालिका जोखिम बहन गरेर श्रम गर्न बाध्य रहेको पाइएको छ।

ग्रामीण महिला स्वाबलम्बनले गरेको अध्ययन अनुसार बकैया गाउँपालिकाको ८० जना बालबालिका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङलगायत जिल्लामा गलैँचा कारखाना र इँटा भट्टामा श्रमिकको रुपमा कार्यरत रहेका छन्। त्यस्तै, होटल, सहचालक, ग्यारेजलगायत क्षेत्रमा ६७ जना बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.