|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ।

झापा, धनकुटा, पाल्पा, पर्वत, दाङ, मोरङ र रूपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आइतबार साँझ झापा, अर्जुनधारा नगरपालिका-९ स्थित भित्री सडकमा को९प १७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय राजेन्द्र थापाको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

धनकुटा, पाख्रिवास नगरपालिका-६ फलाटेस्थित भित्री सडकमा को२त ७११ नम्बरको ट्याक्टर ब्रेक फेल भई पल्टिएर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय बमबहादुर राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालक फरार रहेको र प्रहरीले खोजी गरिरहेको बताएको छ।

त्यस्तै, पाल्पाको रम्भा गाउँपालिका-१ फडीयार खोलास्थित सडकमा लु७प ५०४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-१ असर्दी बस्ने १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

पर्वत, कुश्मा नगरपालिका-८ परादीस्थित सडकमा बा१०च ४३७२ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा कारमा सवार पुगलीबजार नगरपालिका-१ बस्ने ४ वर्षीय आरम्भ कोइरालाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कारका चालकसमेत ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ पठाइएको प्रहरीको भनाइ छ। त्यस्तै, दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासस्थित सडकमा बा३ख ८६४३ नम्बरको हाईस र हाल नम्बर नखुलेको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरूषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र हाईसमा सवार २ गरी ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। हाईस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलको ट्याङ्की अचानक पड्किएर आगलागी समेत हुँदा दुवै सवारीसाधन पूर्णरूपमा जलेर क्षति भएको छ। प्रहरीले दमकल तथा स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ।

यसैगरी दाङ, तुलसीपुर उमहानगरपालिका-१८ डाँडागाउँस्थित सडकमा लु१च ६२८९ नम्बरको पिकअप र रा५ प ९०६६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगपालिका-१७ फोर्टीनाइन चोक बस्ने २५ वर्षीय ताराबहादुर केसीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका(६ ओमशान्तिहल नजिक रा५प ४४९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-६ हात्तिखौवा बस्ने ३० वर्षीय मोहन सुनारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

मोरङ, विराटनगर महानगरपालिका-३ स्थित सडकमा को१४प ९४५८ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा आइतबार राति ठक्कर खाँदा स्कुटर चालक बिराटनगर महानगरपालिका-३ डेरा गरी बस्ने सप्तरी घर भएका ३६ वर्षीय हरि भुजेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१३ स्थित भित्री सडकमा लु४५ प ९९६४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ टिकुलिगड बस्ने ४६ वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।     

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.