|

विराटनगर : प्रदेश १ मा सत्तारुढ दलकै सांसद प्रदेशसभा सदस्य ज्योति सुब्बाले मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीमाथि मनोमानी गरेको आरोप लगाएकी छन्। सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मनोमानी गरेको आरोप लगाएकी हुन्।

उनले नेपाली कांग्रेसका मन्त्री झोले नभएको बताउँदै उनले नेपाली कांग्रेस र मन्त्रीको इज्जत गर्न आग्रहसमेत गरिन्। सरकारको निर्णयमा कांग्रेसका मन्त्रीहरूलाई आफूखुशी गर्ने गरेको गुनासो गर्दै सुब्बाले कांग्रेसलाई बाइपास गर्ने भए गठबन्धनमा नबस्ने चेतावनी दिइन्।

प्रदेशमा गठबन्धनको सरकार भएपनि मुख्यमन्त्री र अर्थमन्त्रीले (आर्थिक मामिला तथा योजनामन्त्री) आफूखुशी काम गर्ने गरेको आरोप लगाउँदै उनले भनिन्, ‘ क्याबिनेट डिसिजनमा हाम्रा मन्त्रीहरूले भाग लिन पाउने कि नपाउने? दुई जनाले मात्रै डिसिजन गर्ने हो भने हामी गठबन्धन सरकारमा बस्न चाहँदैनौँ।’ उनले आक्रोशित हुँदै कांग्रेसलाई यस्तो सरकार नचाहिने बताइन्।

'तत्काल प्रदेशको नाम राखियोस्'

७ प्रदेशमध्ये ६ प्रदेशले नाम पाइसकेको भए पनि प्रदेश १ ले अझै नाम नपाएको भन्दै उनले ४ वर्षसम्म किन नाम नपाएको भन्दै प्रश्न गरिन्। 'प्रदेशको नाम नआउनुको कारण के हो सरकार?,’ सांसद सुब्बाले भनिन्, ‘प्रदेशको नाम राखियोस्।’

प्रदेश सांसद होमकुमारी सावाले तत्काल प्रदेशको नाम राख्नुपर्नेमा जोड दिँदै भनिन्, ‘गाउँमा जनताले सोधिरहेका छन्, हामीले जवाफ दिन पाऊँ, जे भएपनि प्रदेशको नामकरण होस्।’

यस्तै सांसद शान्ता पौडेलले ४ वर्षसम्म प्रदेशले नाम नपाएको बताउँदै तत्काल प्रदेशको नाम राख्न सरकारलाई आग्रह गरिन्। सांसद सन्जाकुमारी दनुवारले पनि प्रदेशको नाम राख्न माग गर्दै भनिन्, ‘साढे ४ वर्ष भयो प्रदेशको नाम राख्न नसकेको, चाँडो नाम राखौं।’ सांसद विनादेवी राई र सांसद सीता थेबेले पनि प्रदेशको नाम राख्न माग गरे।

विकास बजेट नकाट्न र नघटाउन आग्रह

शून्य समयमा सांसद् तुलसीप्रसाद न्यौपानेले विकास बजेट काट्ने र घटाउने काम नगर्न आग्रह गरे। उनले बजेट कटौती गर्नुको औचित्व पुष्टी गर्न माग गरे। प्रादेशिक सडक आयोजना खारेज गरेर प्रदेश सरकारले जनताको गाँस काटेर के गर्न खोजेको हो भन्दै उनले प्रश्न गरे।

सांसद कला घलेले प्रदेश सरकारले विकास निर्माणको काम अलपत्र पारेको गुनासो गरिन् भने विशेष समय लिएर बोल्दै एमाले सांसद अम्बीरबाबु गुरुङले प्रदेश सरकारले आफ्नो क्षेत्रको विकास बजेट रोकेको गुनासो गरे।

यस्तै सांसद पदमकुमारी गुरुङले भोटखोला गाउँपालिकामा खाद्यान्य अभाव भएका कारण सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.