'जनतालाई भोटको विकल्प आवश्यक छ'

|

सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ। देशमा चुनावी सरगर्मी सुरू भइसकेको छ। स्थानीय चुनावबारे विभिन्न कोणबाट बहस हुन थालेको छ। 

चुनावी सरगर्मी तातिन सुरू भएपछि ‘अटेरी अभियान’मार्फत गनेश पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले उम्मेदवारी घोषणा मात्र गरेका छैनन्‚ यसै अभियानमार्फत देशभरका युवाहरू पंक्तिलाई एकीकृत गरिरहेका छन्।

परिचयको हिसाबले उनी ’पैताला’ उपन्यासका लेखक हुन्। ‘मुसा मानुष’का अनुवादकका रूपमा परिचित छन्। तर, अहिले साहित्यका कारण नभई राजनीतिका कारण चर्चामा छन्। मेयरको उम्मेदवारी दिने घोषणासँगै उनलाई साथ दिने पंक्ति पनि उल्लेख्य रुपमा बढेको छ।  आज हामीले उनको लेखकीय जीवनलाई पर राखेर मेयरको उम्मेदवारीबारे कुराकानी गरेका छौं। प्रस्तुत छ गनेश पौडैलसँगको संवादको अंश :

अटेरी अभियानमार्फत तपाईंको उम्मेदवारी राजनीतिक दललाई सुध्रने मौकाको रुपमा अर्थ्याउँदा गलत हुन्छ कि हुँदैन?

अटेरी अभियानका धेरै माग र मुद्दा छन्। पहिलो कुरा सर्वोच्च अदालतले ‘नो भोट’को अधिकार सम्बोधन गर्नु भन्ने आदेश दिएको छ। लोकतन्त्रमा खराब उम्मेदवार उठाएको खण्डमा कसैलाई पनि भोट दिन्नँ भन्न पाइन्छ। त्यसैले मतपत्रमा ‘नो भोट’को अप्सन हुनुपर्छ भन्ने माग हो। हाम्रो अभियान तबसम्म चल्छ जबसम्म मतपत्रमा ‘नो भोट’को प्रावधान अटाउँदैन।

‘नो भोट’मा बहुमत आए बाँकी उम्मेदवार अयोग्य भइहाले। यो प्रावधानबाट राजनीतिक दललाई इमानदार र क्षमतावान उम्मेदवार उठाउन बाध्य बनाउँछ। हाम्रोमा ‘नो भोट’को प्रावधान छैन। अहिले हामीले सञ्चालन गरेको अटेरी अभियानले ‘नो भोट’को अवधारणालाई स्थापित गर्छ भन्ने मेरो बुझाइ हो। अटेरी अभियानका उम्मेदवारलाई मत आउनु भनेको ‘नो भोट’ को रुपमा बुझ्नुपर्छ। 

पञ्चायत कालमा पनि विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार उठाउँथे। उनीहरूले जितेपछि राष्ट्रिय पञ्चायतमा गएर बहुदलीय व्यवस्थाको माग राख्थे। यस्तै गरी हाम्रो अभियानको मुख्य माग ‘नो भोट’को अवधारणा स्थापित हुनुपर्छ भन्ने हो। 

अटेरी अभियानमार्फत मेयरमा उम्मेदवारी घोषणा गर्नुभएको छ। महानगरबासीले तपाईंलाई किन भोट हाल्ने?

अहिलेसम्म आमा‚ बुबा‚ दिदीबहिनीले जुन अपेक्षाले  भोट हाल्नु भयो। त्यहीअनुसारको अपेक्षा पूरा हुनुपर्थ्यो। समाजको परिवर्तन हुनुपर्थ्यो। तर, विडम्बना हामीले व्यक्ति होइन पार्टी हेरेर भोट हाल्यौँ। ती पार्टीले धोका दिएर हाम्रो माग सम्बोधन गर्ने व्यक्ति उठाएनन्।

पार्टीलाई पैसा उठाउन सक्ने, गुण्डा परिचालन गर्न सक्ने, तेल हाल्न सक्ने, पैसा बाँड्न सक्ने व्यक्ति नै टिकटको पहिलो प्राथमिकतामा परे। हामीले आजसम्म हाम्रो र पोखराको भविष्य निर्माण गर्न भनी यस्ता व्यक्ति चुनेर पठायौं‚ जसको क्षमता शून्य देखियो। क्षमता भएका व्यक्तिमा इमान देखिएन। यसको मुख्य कारण भनेको उसले निर्वाचन जित्न गरेको खर्च हो।

चुनावमा गरेको लगानी उठाउन उसले हाम्रो भविष्यलाई नजरअन्दाज गरिदियो। यस्ता खालका हर्कत वर्षौंदेखि आजसम्म निरन्तर छ। आगामी दिनमा निरन्तरता हुने वाला छ। पार्टी र तिनका नेतालाई सुधार्न मैले र मेरा साथीहरूले अटेर गर्नु परेको हो । इमान्दार र क्षमतावान् व्यक्ति उम्मेदवार उठाएको खण्डमा उनीहरूले चुनाव जित्न सक्छन्। म हार्न सक्छु। तर‚ यसमा पोखराको जित हुन्छ। यदि असक्षम व्यक्ति उठाएको खण्डमा म जित्छु। त्यसमा पनि पोखराको जित हुन्छ। 

गाउँमै काम गर्नेले भन्दा पनि गाउँमा पाइला कहिल्यै नटेकेको राजनीतिक दलका उम्मेदवारले सजिलै चुनाव जित्ने देश हो यो। तपाईँको चुनाव जित्ने आधार के हो?

अब नगर कमिटी, वडा कमिटी खारेज गर्नुपर्छ। समाजको तल्लो तहमा समेत राजनीति घुसाइएको छ। घरैपिच्छे राजनीतिक कार्यकर्ता निर्माण गरेर हामीले के गर्न गर्न खोजेको हो? समाजको तल्लो इकाइमा राजनीति आउनु हुँदैन। तल्लो तहसम्म राजनीति घुसाएपछि देश निर्माण हुन्छ? उनीहरू त देशप्रति होइन पार्टीप्रति बफादार हुन्छन्।  त्यसैले विभिन्न पेशाकर्मी, विद्यार्थीहरूलाई कार्यकर्ताका रुपमा निर्माण गर्नु भएन। स्थानीय तहको चुनावमा स्वतन्त्र नागरिकबाट मात्र प्रतिस्पर्धा गराऔं। नत्र समाजमा राम्रो काम गर्ने व्यक्तिले कहिल्यै अवसर पाउँदैन।

चुनाव जित्ने आधार देशमा लोकतन्त्र हो। लोकतन्त्रमा तपाईं इमान्दार र योग्य हुनुहुन्छ, जनताको स्तर सुधार्ने योजना छन् भने चुनाव जितिन्छ। अब जनता लाटा छैनन्। जनताले चुनाव जितेका व्यक्तिलाई निरीक्षण गरिरहेका छन्।

यसअघि पार्टीले अयोग्य व्यक्ति चुनावमा उठाए। जनताले अवसर नपाएर अयोग्यबाट कम अयोग्य व्यक्तिलाई भोट दिउँ भनेर दिनुपर्ने बाध्यता थियो। जनतासँग विकल्प थिएन। अब विकल्प छ। विकल्पका रुपमा अटेर गर्ने समूहको एउटा उम्मेदवार हुँ म। अब भने जनताले योग्य व्यक्ति छान्ने अवसर पाउनुभएको छ। यदि यो अवसरबाट चुक्ने हो भने राजनीति बिग्रियो, हाम्रा नेता खराब भनेर चोकमा गफ गर्ने छुट जनतालाई हुँदैन। अवसर हुँदाहुँदै पनि भोट नहाल्ने अनि चिया पसलमा बसेर राजनीतिले देश बिगार्‍यो, नेता भ्रष्ट हुन् भन्ने विषय सुन्न नपरोस्। हामीले जनतालाई अवसर दिने काम गरेका हौं।

यसअघिका चुनावमा पनि आफूलाई वैकल्पिक उम्मेदवार भन्दै चुनावमा उठ्नेहरू नभएका होइनन् तर जितेको अवस्था त छैन नि!

वैकल्पिक रुपमा उठेका उम्मेदवार भनेर तपाईंले भने पनि उहाँहरू कुनै राजनीतिक दलबाट नै उठ्नुभएको थियो। एउटा हिउँद वा चुनावले उमेर सकिँदैन। अनेकन हिउँद आउन बाँकी हुन्छन्। उहाँहरूले कति क्षमता देखाउनुभयो। आफ्नो कुरा कति राख्नुभयो। उहाँहरूले जनतालाई कन्भिन्स गराउन सक्नुभयो वा भएन भन्ने कुरा हो। उहाँहरू हार्नुभयो र तर केही मात्रामा भोट त ल्याउनभएको थियो नि।

हाम्रो कुनै पार्टी होइन। मैले अघि पनि भनिसकें‚ हाम्रो मुख्य माग स्थानीय निर्वाचनलाई पार्टीबाट होइन स्वतन्त्र उम्मेदवारहरूको प्रतिस्पर्धा गरौं भन्ने हो। दलीय प्रतिस्पर्धा चाहिँ संघीय संस र प्रदेश संसदको चुनावमा गरौं। धेरै उन्नत तथा लोकतन्त्र भएका देशमा स्थानीय तहको चुनावमा स्वतन्त्र व्यक्ति उठाएर गराइन्छ। हाम्रोमा पनि त्यो प्रणाली ल्याउन सके उपलब्धिमुलक हुन सक्छ भन्ने हाम्रो विश्वास हो।

राज्य वा हाम्रा संयन्त्रहरू उच्च वर्गप्रति उदार देखिन्छ। तल्लो वर्गका लागि अनुदार रहँदै आएको छ। तल्लो वर्गका लागि गनेश पौडेलको जित किन महत्त्वपूर्ण छ?

हाम्रो समाज समतामुलक भएन। महानगर कारमा हिँड्ने, ठूला महलमा बस्ने, सुटबुट लगाएर हिँड्नेका मात्र होइन। यहाँको भोटर लिस्ट भएका व्यक्तिको मात्र पनि होइन। यहाँ डेरा गरेर बस्ने, व्यवसाय गरेर बस्नेहरूको पनि हो। जीवन धान्न सामान्य कर्म गर्नेको हो, पैदल यात्रुको पनि हो।

महानगरको सेवा सुविधाहरू सबैका लागि समान हुनुपर्छ। उदाहरणका लागि सडकपेटीमा बदाम बेच्नु किन कानुनतः निषेध गरिएको हो भने यसले सवारी आवागमनमा अवरोध गर्छ। तर‚ गाडी भने पार्किङ गर्न दिइरहेका हुन्छौं। १० रुपैयाँ तिरेर दिनभरि सडक ढाकेर एउटा गाडी बसिरहन पाउँदैन।

राज्य कहीं न कहीं तल्लो वर्गप्रति अनुदार छ। उपल्लो वर्गप्रति उदार छ। यसको मतलब त्यहाँ बदाम बेच्न पाउनुपर्छ भन्ने होइन। जसले गाडी पार्किङ गरिरहेको छ, त्यसले बढी कर तिर्नुपर्छ। कर तिरेको त्यो रकम बदाम बेच्नेहरूको हितमा हुनुपर्छ। ताकि बदाम बेच्नेले नगर प्रहरीको धाकधम्की खानु नपरोस्। तल्लो वर्गको हितका लागि कर वितरण गर्नुपर्छ। उनीहरूको रोजगारीलाई व्यवस्थित गर्न प्रयोग गर्नुपर्छ। सिप वृद्धिमा लगाउनुपर्छ। जसले समतामुलक समाजको निर्माण हुन सक्छ।

नत्र यहाँ १० रुपैयाँ तिरेर गाडी पार्किङ गर्नेले जति ठाउँ ओगट्छ, त्यति नै पैसा तिरेर बदाम बेच्नेले सडकमा बदाम बेच्न किन नपाउने भन्ने प्रश्न स्वभावैले उठ्छ। किनभने कानुन सबैलाई बराबर हो। यहाँ गर्नुपर्ने र महानगरप्रति आम मानिसले अपनत्व महसुस गराउनुपर्ने धेरै काम गर्नुपर्ने छ। अहिले एउटा मात्र उदाहरण पेश गरेँ। यसरी सयौं उदाहरण पेश गर्न सकिन्छ। जसले समतामुलक समाजको निर्माण गर्न सकिन्छ।

तपाईंसँग अन्तर्वार्ता लिनुअघि मैले चार पाँचजना व्यक्तिलाई यसपाली कसलाई भोट दिनुहुन्छ भनेर सोधेको थिएँ। उहाँहरूको जवाफको सार यस्तो थियो : ‘कांग्रेसलाई भोट नहाले बीपीको श्राप लाग्छ। कम्युनिष्टलाई भोट नहाले गंगालाल, मदन भण्डारीको श्राप लाग्छ।’ समाजमा अझै यस्तो भ्रमपूर्ण मानसिकताले ग्रसित छ। यस्ता मानसिकता भएका व्यक्तिहरूको भोटबिना तपाईंले जित्ने सम्भावना कम छ नि? 

बीपी आफैं नास्तिक थिएँ। कम्युनिष्टहरू त नास्तिक हुने भइहाले। तर, नेपालमा राजनीतिक दलले आफ्नो आफ्नो भविष्य सुरक्षित बनाउन राजनीतिक विचारलाई पनि धर्मका रुपमा व्याख्या गर्न थाले। बुबा कांग्रेस भए छोरो पनि कांग्रेस, बा कम्युनिष्ट हुँदा सन्तान पनि कम्युनिष्ट। यसरी राजनीतिक विचारको हस्तान्तरण भयो। यो नै गलत हो। राजनीतिमा त विचार भन्ने कुरा एउटै हुन्छ भन्ने हुँदैन। मान्छेको उमेरअनुसार विचार फेरिँदै जान्छ।

लोकतन्त्रमा मतदाताले आफूलाई राजनीतिक कार्यकर्ताभन्दा माथि उठेर विशुद्ध मतदाताको रुपमा उभ्याउनुपर्छ। अघिल्लो चुनावमा जसलाई भोट दिएर जित्यो उसले समाजका लागि के काम गर्‍यो? उसको कामबाट सन्तुष्ट भएँ वा भइनँ मूल्यांकन गर्नुपर्छ। आफूले चुनेको नेतृत्व असक्षम भयो भन्ने लाग्छ भने चुनाव चिह्न फेर्नुपर्छ। आफ्नो भोट आफ्नो समयका लागि मात्र होइन भावी पुस्ताका लागि पनि ज्यादै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सोच्नुपर्छ।

हरेक मतदाता भोट दिन स्वतन्त्र छन्। तर
‚ भोट त्यो पार्टीलाई नदिनुस् जसलाई तपाईंले यसअघि दिनुभएको थियो। जसले तपाईंको अपेक्षा पूरा गर्न सकेनन्, समाजको हकहितबारे सोच्न सकेनन्। यसरी मत फेर्न सकेको खण्डमा मात्र प्रजातन्त्र वा लोकतन्त्रको अभ्यास हुन्छ। लोकतान्त्रिकको अर्थ एक व्यक्तिले गल्ती गरे भने पुनः उसैलाई भोट दिनु होइन, भोट फेर्नु हो।  मतदाताले आफूलाई बाँधेर बस्ने होइन।

यदि मतदाताले चुनाव फेर्नु भएन भने भोलिको अवस्था पनि त्यही हो‚ जुन अहिले पनि चलिरहेको छ। एउटै काम दोहोर्‍याउने अनि परिवर्तनको अपेक्षा राख्नु मूर्खता हो। मतदातालाई अब मूर्ख हुने छुट छैन।

लामो समय स्थानीय निकायको चुनाव हुन सकेन। जसले बेथितिहरू थपिँदै गए। यस्तो अवस्थामा २० वर्षपछि भएको स्थानीय तहको चुनावमा नागरिकका अपेक्षा पूरा हुन नसक्नु स्वभाविक पनि हो। तपाईंको हकमा पाँच वर्षमा महानगरमा केके परिवर्तन होलान् भन्ने सोच्नुभएको थियो? जुन हुन सकेनन्?

२० वर्षसम्म स्थानीय निकाय रिक्त भयो। त्यसबेला पनि कर्मचारीतन्त्र वा सर्वदलीय भेलाबाट पनि काम भएका हुन्। अहिले पनि पाँच वर्षको अवधिमा केही न केही स्थानीय तहका लागि कानुन निर्माण भए। स्थानीय तहमा नराम्रो मात्र भएको छ भनेर म भन्दिनँ। सुधारका संकेत पनि छन्। स्थानीय सरकारलाई स्वायत्त बनाइएको छ। अधिकार सम्पन्न बनाइएको छ।

तर, ती अधिकार सदुपयोग गर्न चुक्यौं। हामीले विकास भनेको के हो भन्ने कुरा नै बुझ्न सकेनौँ। पोखरालाई महानगरपालिका बनाइयो। महानगरसँग सम्बन्धित विश्वव्यापी प्रावधानहरू हुन्छन्। केलाई महानगर भन्ने? महानगरमा के के सेवासुविधा हुनुपर्छ? पोखराको हकमा हेर्नु हुन्छ भने अझै ७० प्रतिशत भू-भाग गाउँ छ। यसलाई महानगरको रुपमा परिणत गर्ने हो भने त महल, फराकिलो बाटो, पार्क, खानेपानी, स्वास्थ्य सुविधा, आवास, ढल निकासको पूर्वाधार विकास हुनुपर्छ।

विशाल महानगरको कल्पना गर्ने न्यूयोर्क, टोकियो, मुम्बईको लेबलबाट सोच्ने हो भने त पोखरा भासिन्छ। यहाँको सम्पदा र संस्कृति नासिन्छ। पोखरा सानो र संवेदनशील शहर छ। हामीले आफ्नो गुणअनुसारको विकास गर्नुपर्छ। हामीले गर्ने विकासले हामीलाई केही न केही लाभ हुनुपर्छ। सडक निर्माण गर्छौं हिँड्ने साधन छैन। विद्यालय खोल्छौं पढ्ने विद्यार्थी छैनन्। अस्पताल खोल्नुभयो स्वास्थ्य सुविधा छैन। धारा निर्माण हुन्छ। हावा आउँछ।

पूर्वाधारको निर्माण महत्त्वपूर्ण कुरा होइन। पूर्वाधारबाट प्राप्त हुने गुणस्तरीय सेवा महत्त्वपूर्ण हो। हाम्रो मुख्य एजेण्डा भनेको शिक्षा हो। अहिलेसम्म कुनै राजनीतिक दलले शिक्षामा फोकस गरेन। जहाँ गरियो राजनीतिक भर्ती केन्द्रका रुपमा चित्रण गरियो। हाम्रा सार्वजनिक शिक्षालाई यसरी हेला गरिएको छ कि यस्तो अवस्थाले कुनै शहर वा देश माथि उठ्न सक्दैन। शिक्षाबिना कुनै पनि देश माथि उठेको छैन। जबसम्म देशमा शिक्षामा गुणस्तर बन्दैन तबसम्म त्यो देश माथि उठ्दैन। 

सरकारले विद्यालय निर्माण गरेको छ तर शिक्षक दरबन्दी दिएको छैन। निजी स्रोतबाट शिक्षकलाई तलब खुवाउनुपर्ने विडम्बना छ। विद्यालय व्यवस्थापन समिति बन्छ। त्यसको प्रमुखलाई व्यवस्थापनको अर्थ थाहा छैन। विद्यालय भनेको अक्षर चिनाउने पाठशाला मात्र होइन। यसले देशमा चाहिने आवश्यक तथा क्षमतावान जनशक्ति निर्माण गर्ने हो। यसका लगि विद्यालयमा कुनै योजना छैन। यस्तो परिपाटीबाट गुणस्तरीय जनशक्ति निकाल्न सक्दैनौं। जनशक्तिबिना देश विकास हुन्छ? यो पाँच वर्षमा महानगरले सामुदायिक शिक्षालाई गुणस्तर बनाउन सक्थ्यो। जुन पूरा हुन सकेन।

मेयर भएर पाँच वर्ष मात्र काम गर्छु‚ त्यसपछि पुनः उठ्दिन भन्नुभएको छ। यदि चुनावमा जित्नुभयो भने उक्त अवधिमा महानगरवासीले के परिवर्तन पाउनेछन्?

अहिले क्षमतावान युवालाई राजनीतिमा छिर्ने ढोकाहरू बन्द गरिएका छन्। राजनीतिमा लागेपछि ठाउँ ओगटेर बस्ने चलन छ। इमान भएको राजनीतिज्ञको कार्यकाल कम्तिमा दुई चोटी हो। प्रधानमन्त्रीको हकमा पनि दुई कार्यकाल ठिक हुन्छ। पदमा बसिसकेपछि आफूपछिको नेतृत्व निर्माण गर्ने हो। आफूभन्दा उन्नत र भिजनरी नेतृत्वलाई अवसर दिने हो। मैले प्लेटफर्म निर्माण गरें‚ अब तिम्रो पालो भन्न सक्नु इमान्दार राजनीतिज्ञको विशेषता हो।

म कक्षा ६ मा पढ्दा चुनाव उठ्न थालेको व्यक्ति अहिले पनि उठिरहनुभएको छ। तीसौं वर्षसम्म हामीले पत्याइदिनुपर्ने? राजनीतिमा आराम जरुरी छ। मैले जितेको खण्डमा महानगरबासीले के के परिवर्तन पाउँछन् भन्ने विषयमा मैले घोषणापत्र लेखिरहेको छु। केही समयमा नै सार्वजनिक गर्छु।

सामाजिक सञ्जालबाट चुनावी अभियान सञ्चालन गर्छु भन्नुभएको छ। मतदाताको घरदैलोमा पुग्न सक्ने शक्ति किन कमजोर भएको?

खर्चको पारदर्शिताको कारणले सामाजिक सञ्जालबाट भोट माग्छु भनेको हुँ। मेरो संगठन छैन। मेरो गाउँगाउँमा पार्टी छैन। हरेक घरघरमा जान मलाई सवारी साधन चाहिन्छ। समय चाहिन्छ। पैसा चाहिन्छ। 

मैले पनि राजनीतिक दलका जसरी चुनाव प्रचार गरें भने पैसा खर्च हुन्छ। खर्च गरेपछि पहिले त्यो खर्च उठाउन लाग्छु। तामझाम गरेर चुनावी प्रसार गर्नु भनेको भ्रष्ट पथ हो। म भ्रष्टको पथमा हिँड्न सक्दिनँ।

तर, कतै जाँदै जान्न भन्ने होइन। सकेको ठाउँमा पुग्छु। नसकेको ठाउँमा डिजिटल मार्केटिङ गर्छु। आर्थिक मितव्ययी गरेर पनि चुनावी अभियान सञ्चालन हुन सक्छ। यसरी पनि चुनाव जित्न सकिन्छ भन्ने नमुना देखाउन चाहन्छु। जितेको खण्डमा ट्रेण्ड सेट स्थापित हुन्छ। म ट्रेण्ड सेट गर्न चाहन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.