|

काठमाडौं : लामो समयदेखि रोकिएको इजरायल रोजगारीमा २९७ जना इजरायल पुगेका छन्। केयर गिभरका लागि १ हजार श्रमिक माग भएकोमा हालसम्म २९७ जना कामदार इजरायल पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

सरकारले पटकपटक गरी ती कामदारलाई इजरायल पठाएको हो। इजरायलको रोजगारदाता कम्पनीसँग १ हजार ८ जना नेपाली कामदारको दोहोरो श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।  

केही समयअघि विभागले रोजगारीका लागि अन्तिम नामावलीमा परी कामदारको स्वास्थ्य परीक्षण पूरा गरेका व्यक्तिको नाम इजरायल पठाएको थियो। तीमध्ये १ हजार ८ जनाको नाम प्राप्त भएको सूचना अधिकारी भुसालले जानकारी दिए।

इजरायलको दीर्घकालीन स्याहार (केयर गिभर)मा जाने अधिकांश कामदारको करार सम्झौता (एसइसी) प्राप्त हुने क्रममा रहेको छ। दोहोरो रोजगारी सम्झौता भएका कामदारको भिसा प्रक्रियाको काम शुरु भएसँगै हाल अभिमुखीकरण तालिम लिइरहेको विभागले जनाएको छ।  

‘नेपालबाट गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ। कामदार पनि रोजगारीको प्रतीक्षामा रहेका छन्’‚ शाखा प्रमुख सुनुवारले भने, ‘नेपालस्थित इजरायली दूतावासले रोजगार सम्झौता भएका थप युवाको भिसा लगाउने काम जति चाँडो गर्छ, त्यति नै छिटो कामदार पठाउन सकिन्छ।’  

अबको एक महिनामा दोहोरो श्रम सम्झौता भएका श्रमिक इजरायल जान सक्नेछन्। विभागका अनुसार प्राप्त करार सम्झौतापत्रमा सम्बन्धित उम्मेदवारबाट पाँच दिनभित्र सम्झौता गराई इजरायलको जनसंख्या तथा अध्यागमन विभाग (पिवा) मा पठाउन तथा भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा पठाइनेछ। 

यसका लागि विभागले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटी, ललितपुरमा आवश्यक कागजात संकलन, हस्ताक्षर र अभिमुखीकरणको काम गरिरहेको छ। हाल रोजगार सम्झौता गरिएका बाहेक थप कामदारको पनि नामावली सम्झौताका लागि आइसकेको विभागले जनाएको छ।  

विभागका अनुसार अन्तिम नामावलीमा परेका १ हजार १७५ मध्ये स्वास्थ्य परीक्षण पास गरेका र अन्य समस्या नभएका सबैलाई पठाइनेछ। हाल सम्झौता भएका आठ सयभन्दा बढी युवालाई दुईदिने अभिमुखीकरण तालिम दिने काम भइरहेको छ।

रोजगार सम्झौता भएका श्रमिकलाई छिटोछरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको विभागले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.